राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक केन्द्रीय सदस्यसमेत रहेका ४० वर्षीय गणेश कार्की पार्टीभित्र वैचारिक बहस गर्ने नेताका रूपमा परिचित छन् । उनले पार्टी सभापति रवि लामिछानेसहित नेतृत्व तहलाई पटक–पटक प्रश्न गर्दै आएका छन् । नेतृत्वलाई जवाफदेही बनाउनुपर्ने धारणा राख्दै उनले पार्टीभित्र फरक मत राख्ने नेताको छवि बनाएका छन् ।
विराटनगर — पार्टीभित्र खुलेर प्रश्न गर्ने नेताका रूपमा चिनिएका गणेश कार्की मोरङ–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । कांग्रेसका सुनिल शर्मालाई पराजित गर्दै संसदीय यात्रा तय गरेका हुन् । उनले २६ हजार ९ सय २४ मत पाए । प्रतिस्पर्धी शर्माले २४ हजार ३ सय ५४ मत पाए । श्रम संस्कृति पार्टीका अमिर मगर १६ हजार ५ सय ९ मतसहित तेस्रो स्थानमा रहँदा नेकपा एमालेका इरनकुमार राई ७ हजार ७ सय ५२ मतसहित चौथो स्थानमा सीमित भए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक केन्द्रीय सदस्यसमेत रहेका ४० वर्षीय कार्की पार्टीभित्र वैचारिक बहस गर्ने नेताका रूपमा परिचित छन् । उनले पार्टी सभापति रवि लामिछानेसहित नेतृत्व तहलाई पटक–पटक प्रश्न गर्दै आएका छन् । नेतृत्वलाई जवाफदेही बनाउनुपर्ने धारणा राख्दै उनले पार्टीभित्र फरक मत राख्ने नेताको छवि बनाएका छन् । यही कारण उनी रास्वपा भित्र ‘विद्रोही’ स्वभावका नेताका रूपमा पनि चिनिन्छन् ।
मोरङको पथरीशनिश्चरेका बासिन्दा कार्की पछिल्लो समय काठमाडौंमा बसोबास गर्दै आएका छन् । फिल्म लेखकसमेत रहेका उनले राजनीतिक बहस र वैचारिक लेखनमार्फत पनि आफ्नो अलग पहिचान बनाएका छन् । निर्वाचनअघि रिलिज भएको सिनेमा ‘झरिपछिको इन्द्रेणी’का लेखक उनी नै हुन् ।
गत स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा बालेन्द्र (बालेन) शाह मेयरका उम्मेदवार हुँदा कार्की प्रचारप्रसार अभियानमा सक्रिय देखिएका थिए । चुनावी अभियानको रणनीति र व्यवस्थापनमा उनले नेतृत्वदायी भूमिका खेलेको बताइन्छ । तर, शाह निर्वाचित भएपछि उनी कुनै लाभको पदमा भने बसेनन् ।
रास्वपाकी नेतृ सुमना श्रेष्ठ शिक्षामन्त्री हुँदा कार्कीले नीति निर्माण प्रक्रियामा सहयोगी भूमिका निर्वाह गरेका थिए । सुमनाले पार्टी छाड्ने समयमा पनि कार्कीले पार्टी भित्रै बसेर नेतृत्वसँग प्रश्न उठाउँदै आफ्नो धारणा सार्वजनिक गरेका थिए ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी रास्वपाको समानुपातिक सूचीमा रहेका थिए । तर, यसपटक भने गृह जिल्ला फर्किएर प्रत्यक्षतर्फ चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । त्यसै प्रतिस्पर्धाबाट विजयी हुँदै कार्कीले अब पहिलो संसदीय यात्रा सुरु गर्ने निश्चित भएको छ ।
