ढकाल २२ वर्ष नेपाल प्रहरीमा कार्यरत रहे । सईको जिम्मेवारीबाट अवकाश पाएपछि आफ्नो अनुभवलाई सामाजिक कार्यमा लगानी गर्न सुरु गरेका थिए । प्रहरी सेवामा रहेकै समयमा उनी रेडियो कार्यक्रम निर्माण, समाज, राजनीति र सांस्कृतिक विषयमा लेखनमा संलग्न रहे ।
काठमाडौँ — विराटनगर– झापा–४ बाट विजयी बन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार शम्भुप्रसाद ढकालले संसद भवनतर्फ पहिलो कदम चालेका छन् । लामो समय नेपाल प्रहरीमा सेवा गरेपछि सामाजिक, साहित्यिक र राजनीतिक क्षेत्रमा सक्रिय रहेका ढकालले यसपटक नेपाल कांग्रेस र एमालेका पुराना हस्तीहरुलाई पछि पार्दै निर्णायक जित हासिल गरेका छन् ।
प्रतिद्वन्द्वी एमालेका लालप्रसाद सावा लिम्बु यसपटक भारी मत अन्तरले पराजित भए । ढकालले ४३ हजार ६ सय ३१ मत पाउँदा सावा ११ हजार ९ सय ८६ मतमा समेटिए । कांग्रेसका देउमान थेवेले ९ हजार ४ सय ३४ मत पाए । ७ हजार १ सय ६१ मतसहित श्रम संस्कृति पार्टीकी अमृतादेवी राई चौथो भइन् ।
ढकालले २०७९ को प्रतिनिधिसभा निर्वाचनमा झापा–४ बाट १४,०७९ मतसहित तेस्रो स्थान हासिल गरेका थिए । त्यसबेला विजयी एमालेका लालप्रसाद सावा लिम्बुले २९ हजार ३ सय १५ र दोस्रो भएका कांग्रेसका थेवेले २२ हजार ४ सय ४८ मत पाएका थिए । पहिलो पराजयले उनलाई राजनीतिक रणनीति, जनसहयोग र अभियान सञ्चालनमा थप सशक्त बनाएको थियो । यसपटकको स्पष्ट र निर्णायक जितले उनको धैर्यता, अनुभव र जनतासँगको प्रत्यक्ष सम्पर्कलाई प्रमाणित गरेको छ ।
ढकाल २२ वर्ष नेपाल प्रहरीमा कार्यरत रहे । सईको जिम्मेवारीबाट अवकाश पाएपछि आफ्नो अनुभवलाई सामाजिक कार्यमा लगानी गर्न सुरु गरेका थिए । प्रहरी सेवामा रहेकै समयमा उनी रेडियो कार्यक्रम निर्माण, समाज, राजनीति र सांस्कृतिक विषयमा लेखनमा संलग्न रहे । साहित्यिक क्षेत्रमा उनी शम्भु सुस्केराका रुपमा चिनिन्छन् । उनका दुईवटा कथा संग्रह प्रकाशित छन् ।
‘प्रहरी जवान लोकसेवा तयारी पुस्तक’ का लेखक समेत हुन् । यी उपलब्धिहरूले उनलाई राजनीतिक नेता मात्र नभई साहित्यिक र सामाजिक क्षेत्रका सम्मानित व्यक्तित्वका रूपमा स्थापित गरिसकेको छ । सुस्केरा रास्वपा झापाका जिल्ला सचिवसमेत हुन् । पार्टीभित्रका सक्रिय योगदान र नेतृत्व क्षमताका कारण उनले दोस्रो पटक टिकट पाएका हुन् ।
राजनीतिक जीवनमा ढकाल जनसहभागिता, पारदर्शिता र सुशासनका पक्षधर हुन् । उनी समाजको सर्वांगीण विकास, सुशासन र युवाको सशक्तिकरणमा दृढ प्रतिबद्ध रहेका बताउँछन् । २०७९ देखि राजनीतिको स्वाद चाखेका ढकालले पहिलो पराजयपछि रणनीति, जनसहयोग र अभियान व्यवस्थापनमा अनुभव हासिल गरे । त्यही अनुभवले उनलाई यसपटक निर्णायक जित दिलायो । जसले उनलाई संसदीय यात्रामा फड्को मार्न सघायो ।
