‘बन्दी बालबालिकाकी आमा’ को दोस्रो संसदीय यात्रा  

झापा–२ बाट निर्वाचित इन्दिरा राना मगरले अघिल्लो संसद्का सभामुख देवराज घिमिरेलाई ४८ हजार ७ सय ४२ मतान्तरले पराजित गरिन् । इन्दिराले ६० हजार १ सय १० मत ल्याइन् ।

फाल्गुन २४, २०८२

पर्वत पोर्तेल

'Mother of imprisoned children's' second parliamentary visit

विराटनगर — विघटित प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगर २०७९ को निर्वाचनमा समानुपातिक सांसदको रूपमा संसद् छिरेकी थिइन् । यस पटक प्रत्यक्ष निर्वाचनबाट हस्तीहरूलाई हराउँदै दोस्रो पटक संसद्को यात्रा तय गरेकी छन् । 

झापा–२ बाट निर्वाचित रानाले अघिल्लो संसद्का सभामुख देवराज घिमिरेलाई ४८ हजार ७ सय ४२ मतान्तरले पराजित गरिन् । इन्दिराले ६० हजार १ सय १० मत ल्याइन् । तेस्रो भए श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारी । उनले ७ हजार २ सय ९१ मत पाए । ५ हजार ६ सय १६ मतका साथ कांग्रेसकी सरिता प्रसाईँ चौथो भइन् । अघिल्लो निर्वाचनमा दोस्रो भएका राप्रपाका भद्रप्रसाद नेपाल (स्वागत)ले यस पटक पाँचौ स्थानमा चित्त बुझाउनु पर्‍यो, ३ हजार ९ सय ६६ मतसहित । अघिल्लो पटक उनले २६ हजार ४ सय ५५ मत पाएका थिए ।  

अघिल्लो प्रतिनिधिसभामा सभामुख–उपसभामुख भएर सहकार्य गरेका देवराज–इन्दिरा यस पटक प्रतिस्पर्धी बनेर मैदानमा ओर्लिएका थिए । यी दुईको भिडन्तका कारण झापा २ पनि चर्चामै थियो । 

झापाको अर्जुनधारा नगरपालिका सालबारीमा वि.सं. २०२७ मा प्रताप रानामगर र मनमाया रानामगरकी कान्छी छोरीको रूपमा जन्मिएकी इन्दिरा रानामगरले स्थानीय महारानीगञ्ज प्राथमिक विद्यालयमा कक्षा ४ मा १२ वर्षको उमेरमा औपचारिक शिक्षा सुरु गरेकी थिइन् । समाजशास्त्रमा स्नातकोत्तर गरेपछि उनले मानवीय सेवाको क्षेत्र रोजेकी थिइन् । 

प्रसिद्ध साहित्यकार पारिजातसँगको भेटले उनको जीवन दिशा बदलिदिएको विभिन्न अन्तर्वार्ताहरुमा उनले बताउँदै आएकी छन् । काठमाडौं पढ्न जाने क्रममा पारिजातले उनलाई संरक्षण मात्रै गरिनन्,  मानवअधिकारवादी संस्थामा स्वयंसेवक बन्न प्रेरित गरिन् । जेल भ्रमणका क्रममा कैदीबन्दीका बालबालिकाको अवस्था देखेर इन्दिरालाई गहिरो प्रभाव पर्‍यो । 

त्यसैले उनले राजनीतिमा प्रवेश गर्नुअघि ‘बन्दी सहायता नेपाल’ नामक गैरसरकारी संस्था स्थापना गरिन् र अध्यक्ष बनेर जेल सजाय भोगिरहेका कैदीबन्दीका कलिला सन्तानलाई शिक्षा, अधिकार र सुरक्षित बाल्यकाल प्रदान गर्ने अभियान चलाइन् । २२ वर्षअघि दुई कोठा भाडामा लिएर काठमाडौंमा असहाय बालबालिकाको संरक्षण सुरु गरेकी उनले झापा, पाल्पा, काठमाडौंलगायत स्थानमा बाल संरक्षण गृह सञ्चालन गरी दुई प्राथमिक विद्यालयसमेत स्थापना गरेकी छन् । 

कोभिड महामारीका बेला इन्दिराले आम्दानी अभावका कारण भोका परेका सयौं मानिसलाई खाना निःशुल्क खाना ख्वाउने अभियान चलाएर थप चर्चा बटुलिन् । 

उनको मानवसेवा प्रयासले अन्तर्राष्ट्रिय मान्यता पनि पायो ।  उनले सन् २००५ मा ‘अशोका फेलो’, २००९ मा ‘एसिया जनसेवा अवार्ड’, २०१४ मा ‘वर्ल्ड चिल्ड्रेन अनररी अवार्ड’ तथा २०१७ मा बीबीसी १०० महिला सूचीमा समेटिएर विश्वका प्रेरणादायी महिलामध्ये एकको रूपमा सम्मानित भइन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गठन भएपछि अध्यक्ष रवि लामिछानेको आग्रहमा उनले राजनीतिमा प्रवेश गरिन् । छोटो समयमै प्रतिनिधिसभाले उनलाई उपसभामुख जिम्मेवारी समेत दिएको थियो । उपसभामुखको रूपमा काम गर्दा उनी विवादमा परिन् । एउटा अन्तर्राष्ट्रिय कार्यक्रममा अनधिकृत व्यक्तिहरूलाई भिसाका लागि अमेरिकी राजदूतावासलाई पत्राचार गरेको आरोप उनीमाथि लागेको थियो । छिटो निर्णय गर्ने स्वभावकी भएकाले कतिपयले पद अनुकूल मर्यादा कायम गर्न नसक्ने व्यक्तिको रूपमा टिप्पणी गर्दै आएका छन् । तीन दशकभन्दा बढी समयदेखि सामाजिक सेवा क्षेत्रमा सक्रिय उनीले सयौं बालबालिकाको उद्धार गर्दै समाज रूपान्तरणमा उल्लेखनीय योगदान दिएकी छन् । 

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully