एकपटक ललितपुर र तीनपटक गृहजिल्ला रोल्पाबाट पुन प्रतिनिधि सभामा जित निकाल्न सफल भए ।
काठमाडौँ — सशस्त्र युद्धको आधार किल्ला मानिने रोल्पाबाट नेकपाका नेता पूर्वअर्थमन्त्री वर्षमान पुन चौथोपटक संसदमा प्रवेश गरेका छन् । एकपटक ललितपुर र तीनपटक गृहजिल्ला रोल्पाबाट उनी प्रतिनिधि सभामा जित निकाल्न सफल भए ।
२०७४, २०७९ र २०८२ को संसदीय निर्वाचनमा उनलाई रोल्पाबाट निरन्तर निर्वाचित हुने मौका मिल्यो । २०७० मा भने उनी ललितपुर १ बाट निर्वाचित भएका थिए । रोल्पाबाट सुरु भएको तत्कालीन सशस्त्र युद्धको क्रममा मुख्य भूमिका निर्वाह गरेका पुन विभिन्न समयमा मन्त्री भए । युद्धको उद्गमथलो रोल्पामा रहेर पार्टीको विकासमा समेत अध्यक्ष दाहललाई साथ दिएका उनी पार्टीको महत्त्वपूर्ण भूमिकामा पनि पुगे । पार्टी उपमहासचिव समेत भएका थिए ।
पुनको संसदीय यात्रा
शान्ति प्रक्रियापछि २०६४ बाट उनको संसदीय यात्रा सुरु भएको हो । उनी पहिलो पटक २०६७ मा शान्ति तथा पुनर्निर्माणमन्त्री बने भने २०६८ मा अर्थमन्त्री भए । २०७४ मा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पनि बने । माओवादीले २०५२ फागुन १ देखि जनयुद्ध सुरु गर्ने तयारी गर्दै गर्दा पनि उनी राजनीतिमा सक्रिय थिए । विद्यार्थी राजनीतिबाट सुरु उनको यात्रा तत्कालीन माओवादीको रोल्पा जिल्ला सेक्रेटरी समेत भए । २६ वर्षको उमेरमा उनी माओवादीको रोल्पा जिल्ला सेक्रेटरी भएका थिए । २०५५ मा सम्पन्न नेकपा माओवादीको चौथो विस्तारित बैठकबाट उनलाई केन्द्रीय सदस्य बनाइयो । जिल्ला र आधार ईलाकामा सक्रिय उनको भूमिका त्यसपछि केन्द्रीय तहसम्म पुग्यो । केन्द्रीय समितिमा पुग्दा उनी सबैभन्दा कान्छा सदस्य थिए ।
भाग्यमानी नेता
२०२८ जेठ १८ गते रोल्पाको जंकोट गाउँमा उनको जन्म भएको हो । पुनका पिता इर्खराम पुन पनि राजनीतिक व्यक्तित्व हुन् । बुबा इर्खराम र तिर्थमाली पुनको दोस्रो सन्तानका रूपमा जन्मेका वर्षमानकी राजनीतिक जीवनमा सहयात्री बनेकी श्रीमती ओनसरी घर्ती पनि सांसद र सभामुख बनिन् । तत्कालीन माओवादी युद्धमा सहभागी र राजनीतिक उच्च पदमा पुग्ने उनीहरूको जोडी चर्चामा पनि रह्यो।
कक्षा ७ सम्म कोटगाउँको निम्न माध्यमिक विद्यालयमा र त्यसपछि माथिल्लो कक्षा पढ्न उनी सदरमुकाम पुगे । उनी १३ वर्षको उमेरमा (२०४१) सालमा सदरमुकाम लिवाङको बालकल्याण माविमा भर्ना भए । त्यसपछि नै उनलाई राजनीति गर्न चाह भयो । त्यसबेलाका साथीहरू थिए, नेत्रविक्रम चन्द ‘विप्लव’, कुलप्रसाद केसी लगायत । तर उनीहरूमा राजनीतिक विचार भिन्न थियो ।
अर्कातिर कम्युनिस्ट राजनीतिमा लागेका शिक्षक एवं गुरु पूर्वसभामुख कृष्णबहादुर महराबाट कम्युनिस्ट राजनीतिमा लाग्ने थप प्रेरणा मिल्यो । पछि उनै गुरुसँगै युद्धमा लाग्ने अवसर मिल्यो ।
उनी महरालाई शिक्षा र राजनीतिका गुरु मान्छन् । उनको स्मरण छ, ‘महरा सर मेरो शैक्षिक र राजनीतिक गुरु हुनुभयो ।' पुनलाई जसरी रोल्पामा महराले कैयौं नेता तथा कार्यकर्तालाई शैक्षिक एवं राजनीतिक ज्ञान दिए । युद्ध गर्न पनि सिकाए ।
२०४४ सालमा एलएलसी पासपछि उनी थप शिक्षा लिन दाङ पुगे । २०४५ सालमा दाङको घोराही स्थित महेन्द्र बहुमुखी क्याम्पसमा आइएल पढ्न भर्ना भएका उनले त्यहाँ सामाजिक र राजनीतिक कार्यक्रम र गतिविधिप्रति चासो राख्न थाले । भन्छन्, 'समाजमा उत्पीडन, दमन, शोषण र असमानताको अन्त्य हुनुपर्छ भन्ने मेरो सोच थियो । आज पनि त्यसैका लागि लागेको छु ।' उनको त्यही सोचले यही सोचले कानुन पढ्ने चासो जाग्यो। उनी त्यस अघि नै लिवाङमा हुँदा अखिल छैठौंमा आवद्ध भइसकेका थिए । त्यसकारण दाङमा क्याम्पस पढ्दा विद्यार्थी आन्दोलनमा पनि सक्रिय हुनु अनौठो कुरा थिएन ।
उनले २०४८ सालमा दाङमा प्रथम श्रेणीमा आइएल पास गरे । पूर्णकालीन राजनीति गर्दै गरेका बेला २०४९ मा उनी काठमाडौंको नेपाल ल क्याम्पसमा बीएल पढ्न भर्ना भए । त्यसपछि भने उनी निरन्तर पढाइमा लागेनन् । युद्धमा होमिए । नियमित कक्षा नलिएरै बिएलको परीक्षा दिए पनि सफलता हात परेन ।
२०५२ सालमा जनयुद्ध थालनीको समयमा होलेरी चौकी आक्रमणमा सहभागी हुने जोडीमा पुन र पत्नी ओनसरीको चर्चा छ । पुन त्यसबेला राजनीतिक कमिसार थिए । साथै केन्द्रीय सदस्य कुलप्रसाद केसी सोनाम र उनकी पत्नी तारा घर्ती मगर उक्त आक्रमणमा थिए ।
रोल्पाबाटै तेस्रोपटक प्रतिनिधि सभा सदस्य
प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेकपाका उम्मेदवार एवं पूर्व अर्थमन्त्री वर्षमान पुन फराकिलो मतान्तरसहित रोल्पाबाट तेस्रोपटक विजयी भएका छन् । २०८२ को निर्वाचनमा उनले १५ हजार ४ सय ५२ मतान्तरले प्रमुख प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार डा. सुदन कुमार वलीलाई पछि पारेका हुन् । पुनले २७ हजार ४६० मत पाए भने डा वलीले १२ हजार ८ मत ल्याएका हुन् । सबै खसेको मत ६८ हजार ७७६ मध्ये ३ हजार १४४ मत बदर भएको हो । तेस्रो स्थानमा रास्वपाका उम्मेदवार बालराम थापा र चौथोमा एमालेका गोकुल घर्ती छन् । थापाले १० हजार ८ सय ९४ र घर्तीले ९ हजार ९३३ मत पाएका छन्। रोल्पामा १० उम्मेदवार चुनावी मैदानमा थिए ।
प्रतिनिधि सभा निर्वाचन, २०७९ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का तर्फबाट उम्मेदवार रहेका वर्षमान पुन रोल्पा प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ बाट ४१ हजार ७ सय १४ मत प्राप्त गरेर प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार पूर्ण बुढा मगरले १६ हजार ४ सय ८५ मत प्राप्त गरेका थिए ।
