कानुन व्यवसायी हुँदै गर्दा रास्वपाबाटै राजनीतिक यात्रा सुरु गरेका चौलागाईं काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नं ५ मा जन्मिएका हुन् ।
काभ्रे — काभ्रे क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित मधुकुमार चौलागाईं केही समय अघिसम्म कानुन व्यवसायमा सक्रिय थिए । अहिले उनी देशको कानुन निर्माण गर्ने ठाउँमा पुगेका छन् ।
कानुन व्यवसायी हुँदै गर्दा रास्वपाबाटै राजनीतिक यात्रा सुरु गरेका चौलागाईं काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नं ५ मा जन्मिएका हुन् । कानुन विषयमा स्नातक गरेका उनी लामो समयदेखि अधिवक्ताका रूपमा कार्यरत छन् । २०७९ मा रास्वपा गठन भएपछि सुरुदेखि नै पार्टी संगठन निर्माणमा सक्रिय रहेका उनी रास्वपा काभ्रेको क्षेत्र नं १ को क्षेत्रीय सभापतिको जिम्मेवारी सम्हालिरहेका छन् ।
निर्वाचित भएपछि उनले यस क्षेत्रको विकट मानिने डाँडापारी (महाभारत र खानीखोला गाउँपालिका) मा पूर्वाधार विकासलाई पहिलो प्रथामिकतामा राखेको उनले बताए । यस क्षेत्रको विकासका लागि जडीबुटी, कफी, कृषि र पर्यटनलाई प्राथमिकतामा राख्ने उनले प्रतिबद्धता व्यक्त गरे । उनका अनुसार खानीखोला, महाभारत र रोशी क्षेत्रमा जडीबुटी खेती, कफी उत्पादन, ट्राउट माछा पालन र तेलन बालीको विकास गर्ने योजना छ । साथै स्थानीय उत्पादनको प्रशोधन र बजारीकरण गरी रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको उनले बताए । पूर्वाधारतर्फ रोसी–६ बाट खानेखोला र महाभारत जोड्ने पुल निर्माणलाई प्राथमिकतामा राखिने तथा नमोबुद्ध, धुलिखेल, पनौती र तेमाल क्षेत्रलाई धार्मिक तथा ऐतिहासिक पर्यटनसँग जोडेर विकास गर्ने योजना रहेको उनले बताएका छन् ।
‘परिवारको नजरमा मधु’
मधुका कान्छो छोरा विपीन चौलागाईले संघर्षशील, आत्मनिर्भर र सामाजिक उत्तरदायित्व बोकेको व्यक्तिका रूपमा चित्रण गर्छन् । बिपिनका अनुसार, बुबा मधुकुमार चौलागाईँले आफ्नो जीवन यात्रा शून्यबाट सुरु गरेर मेहनत र संघर्षको माध्यमबाट अधिवक्ता (वकिल) को रूपमा स्थापित गरेका हुन् । ‘ग्राउण्ड लेभलबाट काम गर्दै, आफ्नै मेहनतले करियर निर्माण गरेर अधिवक्ता बन्नुभएको हो,’ उनले भने । उनका अनुसार, लामो समयदेखि कानुनको क्षेत्रमा काम गर्दै आउनुभएकाले बुबा देशको लागि राम्रो कानुन तथा निती निर्माण गर्नुहुन्छ भन्नेमा विश्वस्त रहेका छौं ।’
चौलागाईको कार्यशैली सामाजिक उत्तरदायित्वसँग जोडिएको पनि उनले बताए । मधुकुमार चौलागाई लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रहँदै आएका छन् । ‘मेरो लागि उहाँ सबैभन्दा ठूलो प्रेरणा हुनुहुन्छ,’ कान्छो छोरा विपीनले भने, ‘अब उहाँ काभ्रेबासी मात्र होइन, सम्पूर्ण नेपालीका लागि प्रेरणादायी व्यक्तित्व बन्नुहुन्छ भन्ने विश्वास छ ।’ पारिवारिक सम्बन्धका विषयमा बोल्दै बिपिनले बुबाले आफ्नो परिवारमा आपसी एकता र आत्मीयता बलियो राख्दै आएको बताए ।
भारी मतान्तरले विजयी
चौलागाईं प्रतिस्पर्धी नेपाली कांग्रेसका गुणराज मुक्तानलाई १० हजार ४ सय ५२ मतले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । चौलागाईंले २९ हजार ६ सय १८ मत प्राप्त गर्दा मुक्तानले १९ हजार १ सय ६६ मत प्राप्त गरे । तेस्रो स्थानमा रहेका नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार दिनानाथ गौतमले १४ हजार १ सय ८४ मत प्राप्त गर्दा नेकपा एमालेका अमि तामाङले १३ हजार ८ सय १४ मत प्राप्त गरी चौथो स्थानमा रहे ।
विगतका निर्वाचनमा गठबन्धनको भरमा निर्वाचनमा विजयी हुँदै भएको भए पनि यस पटक भने बिना गठबन्धन १८ जना उम्मेदवारहरु एक्लाएक्लै निर्वाचनमा होमिएका थिए । २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा यो क्षेत्रमा नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रबीच गठबन्धन भएको थियो । सो गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका गंगाबहादुर तामाङले नेपाली कांग्रेसका उम्मेदवार तीर्थबहादुर लामालाई ५ हजार २६ मतको अन्तरले पराजित गरेका थिए । तामाङले ४४ हजार ६ सय ३१ मत पाएका थिए भने लामाले ३९ हजार ६ सय ५ मत पाए ।
२०७९ को निर्वाचनमा यो क्षेत्रमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच गठवन्धन भयो । गठवन्धनको तर्फबाट उम्मेदवार बनेका सूर्यमान दोङले नेकपा एमालेका उम्मेदवार रेशमवहादुर लामालाई ३ हजार ९ सय ६४ मतको अन्तरले पराजित गरेका थिए । दोङले ३४ हजार ५ सय १२ मत ल्याउदा लामाले ३० हजार ५ सय ४८ मत पाए । यो क्षेत्रमा २०७९ को निर्वाचनमा तेस्रो स्थानमा रहेका रास्वपाका बसुनारायण श्रेष्ठले ८ हजार ६ सय ९७ मत पाए ।
