कार्कीले ४० हजार ९ सय २४ मत पाउँदा पुराना शक्तिहरु एमालेका दिलिप अग्रवाल १५ हजार ६ सय २४ मत सहित दोस्रो र कांग्रेसका डा. मीनेन्द्र रिजाल १२ हजार ७ सय ३४ मत पाएर तेस्रो भए ।
विराटनगर — मोरङ क्षेत्र नम्बर २ लामो समयदेखि कांग्रेसको बलियो आधार क्षेत्र हो । पूर्व प्रधानमन्त्री तथा दिवंगत कांग्रेस नेता गिरिजाप्रसाद कोइरालाको पालादेखि नै मोरङ–२ कांग्रेसको बलियो क्षेत्र हो । तर यसपटक सोही क्षेत्रमा कांग्रेसलाई लज्जास्पद हार चखाएर रास्वपाका कृष्णकुमार कार्कीले बाजी मारे ।
कार्कीले ४० हजार ९ सय २४ मत पाउँदा पुराना शक्तिहरु एमालेका दिलिप अग्रवाल १५ हजार ६ सय २४ मत सहित दोस्रो र कांग्रेसका डा. मीनेन्द्र रिजाल १२ हजार ७ सय ३४ मत पाएर तेस्रो भए । यो क्षेत्र लामो समयसम्म कांग्रेसको बलियो किल्ला मानिन्थ्यो । २०७९ को निर्वाचनमा एमालेका ऋषिकेश पोखरेलले कांग्रेसको त्यो परम्परागत आधार भत्काएका थिए । यसपटक भने कार्कीले पुराना दललाई पराजित गर्दै त्यही राजनीतिक धरातलमा आफ्नो उपस्थिति बलियो बनाएका हुन् ।
विवाद र चर्चासँगै उम्मेदवार बनेका कार्की सामाजिक सञ्जालमा सक्रिय र आक्रामक शैलीका कारण चिनिन्छन् । उनी ‘जेन–जी आन्दोलन’सँग जोडिएको पृष्ठभूमिबाट चुनावी राजनीतिमा प्रवेश गरेका पात्र हुन् । मोरङको रतुवामाई नगरपालिका–९ घर भएका कार्की करिब १२ वर्ष जापान बसेर नेपाल फर्किएका हुन् । विदेश बसाइँ बिट मारेपछि काठमाडौंमा होटल व्यवसाय सुरु गरेका उनी ‘जेन–जी आन्दोलन’का क्रममा सार्वजनिक रूपमा देखिएपछि चर्चामा आएका थिए ।
भदौ २४ गते काठमाडौंमा भएको हिंसात्मक आन्दोलनमा उनी सहभागी रहेको आरोप लाग्दै आएको छ । आन्दोलनका क्रममा सरकारी सम्पत्ति तोडफोड र आगजनी गरिएको तस्बिरहरू कार्कीले फेसबुकमा पोस्ट गरेका थिए । नयाँ बानेश्वरस्थित संसद् भवन क्षेत्रमा खिचिएको एउटा तस्बिर पोस्ट गर्दै उनले लेखेका थिए,‘हामी संसद् भवन प्रवेश गरिम्, संसद् भवनको भित्र अगाडि हामीले पुरानो कुर्सी जम्मा गरेर आगो बालिम र खुसीयाली मनाइम् ।’
त्यस्तै बालाजुदेखि सिंहदरबारसम्म पुगेर नेताहरूका घरमा गरिएको आगजनीमा आफूहरू पुगेको दाबी समेत सामाजिक सञ्जालमार्फत गरेका थिए । तर, उम्मेदवार बनेपछि भने कार्कीले संसद् भवनभित्र प्रवेश गरेर आगजनी गरेको आरोप अस्वीकार गर्दै आएका थिए । आन्दोलनकारी छविका कारण समर्थकहरूले उनलाई ‘व्यवस्थाविरुद्ध बोल्ने पात्र’ का रूपमा प्रस्तुत गर्छन् । तर, आलोचकहरूले भने हिंसात्मक गतिविधिसँग जोडिएको पृष्ठभूमि भएको व्यक्तिका रूपमा चित्रित गर्दै आएका छन् । यही पृष्ठभूमिबाट उदाएका कार्की अन्ततः मोरङ–२ बाट संसद् भवन उक्लिएका छन् । आन्दोलनको सडकबाट चिनिएका उनी चुनावी राजनीतिसम्मको नयाँ यात्रा तय गर्दै नेपाली राजनीतिमा उदाएका छन् ।
