उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीले १६ हजार ३ सय ६६ मत प्राप्त गरे । चौरसियाले चौधरीलाई १३ हजार ३ सय १३ मतान्तरले पराजित गरेका हुन् ।
पर्सा — पर्सा निर्वाचन क्षेत्र नं. ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रामाकान्त प्रसाद चौरसिया प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । ५७ वर्षीय चौरसियाले २९ हजार ६ सय ७९ मत प्राप्त गर्दै संसद् यात्रा सुरु गरेका हुन् ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीले १६ हजार ३ सय ६६ मत प्राप्त गरे । चौरसियाले चौधरीलाई १३ हजार ३ सय १३ मतान्तरले पराजित गरेका हुन् ।
वीरगन्ज निवासी चौरसिया निर्माण व्यवसायी पृष्ठभूमिबाट राजनीतिमा आएका नयाँ अनुहार हुन् । उनका बुवा गयाप्रसाद चौरसिया हुन् । उनले एसएलसीसम्म अध्ययन गरेका छन् । लामो समयदेखि निर्माण व्यवसायमा सक्रिय रहँदै आएका चौरसिया यसपटक पहिलोपटक चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।
निर्वाचनमा विजयी भएपछि उनले आफ्नो जितलाई जनताको परिवर्तन चाहनासँग जोडेर व्याख्या गरेका छन् । ‘३५ वर्षदेखि एउटै अनुहारले विभिन्न प्रलोभन देखाएर जनतालाई झुक्याइरहेका थिए, जनता आजित भइसकेका थिए । यसपटक जनताले परिवर्तन रोजेका हुन्,’ चौरसियाले भने ।
उनका छिमेकी तथा मित्र मोहन चौरसियाका अनुसार रामाकान्त चौरसिया विकासप्रेमी र समाजसेवी स्वभावका व्यक्ति हुन् । ‘उहाँलाई सक्रिय राजनीतिक अनुभव थिएन, तर समाजसेवामा उहाँको परिवार लामो समयदेखि लागिरहेको छ,’ उनले भने, ‘धर्मशाला, मठ–मन्दिर, स्वास्थ्य चौकी भवनलगायत संरचना निर्माणमा उहाको परिवारले विगतदेखि ठूलो योगदान दिएको छ ।’
समाजसँग नजिकबाट जोडिएका व्यक्तिका रूपमा चौरसियाले अब सांसदका रूपमा पनि जनताको अपेक्षा पूरा गर्ने विश्वास स्थानीयले व्यक्त गरेका छन् । निर्माण व्यवसायबाट सार्वजनिक जीवनमा पहिचान बनाएका चौरसियाको संसद् यात्रा अब पर्सा–३ का मतदाताले रोजेको ‘परिवर्तनको संकेत’ का रूपमा हेरिएको छ ।
