बालेन वेग

गणतन्त्र नेपालका ४ निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गर्न नसकेकामा रास्वपा दुईतिहाइउन्मुख छ

फाल्गुन २४, २०८२

पर्वत पोर्तेल, गौरव पोखरेल

Balen speed

काठमाडौँ — २३ र २४ भदौको जेन–जी विद्रोहपछि बालेन्द्र शाहलाई प्रधानमन्त्री बन्ने अवसर आएको थियो । तर, चुनावी सरकारमा प्रधानमन्त्री बन्न उनी अघि सरेनन् । बरु पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा ‘अनुमोदन’ गरे ।

बालेन्द्र त्यसबेला देशको नेतृत्व गर्न अघि नसर्नुको खास कारण जे भए पनि निकटस्थहरूले छोटो समयका लागि नभई पाँचै वर्षलाई देशको नेतृत्व गर्ने गरी उनी आउने स्पष्टीकरण दिएका थिए । झापा– ५ बाट पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फराकिलो अन्तरले पराजित गरेपछि चाहिँ उनी प्रधानमन्त्री बन्ने लगभग निश्चित देखिएको छ ।

प्रतिनिधिसभा निर्वाचन २०८२ को मतपरिणामपछि शनिबार झन्डै ५० हजार मतान्तरमा ओलीलाई पराजित गरेका बालेन्द्रले ६८ हजार ३ सय ४८ मत ल्याएका छन् । ओलीको १८ हजार ७ सय ३४ मत मात्र आएको छ । विगतमा यही निर्वाचन क्षेत्रमा चुनाव लडेर ओलीले सर्वाधिक मत ल्याउने उम्मेदवारको रेकर्ड बनाउँदै आएका थिए । तर, यसपालि बालेन्द्र चुनौती दिन झापा पुगेपछि ओली रक्षात्मक बनेका थिए । निरन्तर चुनावी अभियान अघि बढाएका थिए । ओलीले निरन्तर आफ्नो बचाउका अभिव्यक्ति दिँदै भेटघाट र घरदैलो गर्दै चुनावी अभियान अघि बढाएका थिए । बालेन्द्रले भने चुपचाप रहेर अभियान चलाए ।

कुनै अन्तर्वार्तासमेत नदिएका बालेन्द्रले चुनावीसभामा पनि छोटो भाषण गरे, ३ मिनेटभन्दा लामो भाषण गरेनन् । प्रतिनिधिसभा सदस्य निर्वाचित भएको प्रमाणपत्र बुझेपछि पनि बालेन्द्र मौन रहे । रास्वपाले अबिर जात्रा र विजयोत्सव नमनाउन उर्दी जारी गरेको छ । बालेन्द्र प्रमाणपत्र लिएर ‘सनरुफ’ गाडीबाट बाहिर निस्किँदा भीडले स्वागत गर्‍यो । बालेन्द्रले चुपचाप बाहिर निस्किएर एउटा ब्यानर देखाए, जसमा लेखिएको थियो, ‘तपाईंहरूलाई बधाई छ, तपाईंहरूको जित भएको छ ।’

Balen speed

झापामा बालेन्द्रको फराकिलो अन्तरसहितको जितले जेन–जी आन्दोलनलाई मतदाताले अनुमोदन गरेको रूपमा आफूहरूले बुझेको नेपाल जेन–जी फ्रन्टका सदस्य युजनराज भण्डारी बताउँछन् ।

‘जेन–जी आन्दोलनलाई नस्विकार्ने, उल्टै आतंककारी भन्ने शक्तिलाई मतदाताले प्रक्रियागत हिसाबमा मतपत्रमार्फत परास्त गरेका छन्,’ उनले कान्तिपुरसँग भने, ‘देशभरिको नतिजा र तत्कालीन प्रधानमन्त्री ओलीविरुद्ध बालेन्द्रको फराकिलो जितले जेन–जी आन्दोलनको आवश्यकता पुष्टि गरेको छ ।’ जेन–जी आन्दोलनको अवमूल्यन गर्न खोज्ने शक्ति परास्त भएको भन्दै उनले थपे, ‘मतदाताले स्पष्ट सन्देश दिएका छन्, अब बन्ने सरकारले जेन–जी आन्दोलनले उठाएको एजेन्डालाई पनि अपनत्व लिनुपर्छ, आमनागरिकमा आशा जगाउने काम गर्नुपर्छ ।’

यो चुनावले लोकतन्त्र र संविधानलाई पनि जीवन्त बनाएको भन्दै उनले कुनै एक दलले बहुमत ल्याउन सक्दैन भन्ने भाष्य पनि गलत साबित भएको बताए । भण्डारीले भने, ‘निर्वाचन प्रक्रियाभन्दा पनि समस्या राजनीतिक संस्कारमा रहेछ भन्ने देखियो ।’

पराजित भएपछि ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत २०७९ मा तबला उपहार दिएको फोटो राख्दै बालेन्द्रलाई शुभकामना दिएका छन् । २०७९ मा मेयर निर्वाचित भएपछि भेट्न बालकोट पुगेका बालेन्द्रलाई उनले आफ्नो घरमा भएको तलबा उपहार दिएका थिए ।

त्यसबेलाकै फोटो सार्वजनिक गर्दै ओलीले बालेन्द्रलाई ‘बाबु’ सम्बोधनसहित ‘पाँचवर्षे कार्यकाल निर्विघ्न सफल रहोस्’ भन्दै शुभकामना दिएका छन् । त्यही फोटोलाई संकेत गर्दै कतिपय सामाजिक सञ्जालमा ओलीले दिएको तबला बालेनले उनकै निर्वाचन क्षेत्रमा बजाइदिएको लेखेका छन् ।

एक महिनाअघि कान्तिपुरलाई दमकमा अन्तर्वार्ता दिँदै ओलीले बालेन्द्रलाई रास्वपा सभापति रवि लामिछानेले हराउन पठाएको दाबी गरेका थिए । तर, बालेन्द्रको टिमले मनोनयन दर्ताअघि नै झापा–५ मा आन्तरिक ‘रिसर्च’ गरेर चुनाव जित्न सकिने आकलनसहित ओलीविरुद्ध उत्रिने निर्णय गरेको थियो ।

ओलीले बालेन्द्रले आफूविरुद्ध लड्न ‘जोखिम’ नलिने ठानेका थिए । तर, अन्तिममा बालेन्द्र झापा–५ मै गए, चुनाव अवधिभर एमाले अध्यक्ष ओली त्यहीं केन्द्रित हुनुपर्‍यो । देशभरको नतिजाअनुसार रास्वपा दुई तिहाइतर्फ उन्मुख भइरहेको छ ।

ओलीले झापा–५ बाट २०४८, २०५१, २०५६, २०७०, २०७४ र २०७९ मा गरी ६ पटक संसद्मा प्रतिनिधित्व गरे । २०६४ मा भने माओवादी उम्मेदवार विश्वदीप लिङ्देनले उनलाई करिब १ हजार २ सय मतान्तरले हराएका थिए । त्यसबेला ओली हार्दा विकास निर्माणका काम अघि बढेनन् भन्ने दमकवासीले बुझेको भन्दै एमाले नेताहरूले झापा–५ वासीले उनलाई नै जिताउने दाबी गरेका थिए । ओलीले मौन अवधिको पूर्वसन्ध्यामा समेत दमकमा कुरा गर्दै आफूले जित्नेमा कुनै शंका नगर्न भनेका थिए ।

तर शनिबार बेलुकीसम्ममा झापा–५ मात्र होइन, सिंगो झापा जिल्लामा रास्वपाले ‘क्लिन–स्विप’ गर्‍यो । झापा–२ मा पूर्वसभामुख देवराज घिमिरे स्वयं पराजित भए । २१ फागुनमा पत्रकारसँग कुरा गर्दै ‘एमालेले भरसक बहुमत ल्याउँछ, बहुमत नआए पनि प्रमुख पार्टी त बन्छ’ भनेका ओलीको पार्टीले ५ ठाउँमा मात्र जितेको छ भने ७ ठाउँमा अग्रता कायम गरिरहेको छ ।
यसरी ओलीलाई हराएका बालेन काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्ने बेला मात्र एकाएक राजनीतिमा आएका होइनन् । उनमा संविधानसभाको निर्वाचनदेखि नै राजनीतिक चेतना आएको देखिन्छ ।

Balen speed

पहिलो संविधानसभा विघटन भएपछि संविधान निर्माणमा दबाब दिन चलेको अभियानमा उनी सरिक हुन्थे । त्यस्तो आन्दोलनमा राज्यले अवरोध गर्दा खुलेर विरोध गर्थे, त्यही विषयमा गीत पनि लेख्थे । एक पटक सत्तारूढ एमालेको युवा संघले चर्को हर्नसहित मोटरसाइकल र्‍याली निकालेका बेला उनीहरूलाई केही नगरेको र शान्तिपूर्ण आवाज उठाउने युवालाई लाठीचार्ज गरेको घटनाप्रति असन्तुष्टि जनाउँदै उनले गीत लेखेका थिए–

‘बिहान र साँझ, हिँड्न हाम्लाई गाह्रो भो ।
आफ्नो अधिकार खोज्नु पनि आज आरोप भो ।’
‘म नेपाल हाँसेको हेर्न चाहन्छु’ भन्दै प्रदर्शनमा उत्रिएका युवालाई ७ माघ २०७१ मा
प्रहरीले लाठीचार्ज गरेको थियो । त्यो बेला
बालेनले फेसबुकमा आक्रोश पोखेका थिए,
‘नेता, डन र व्यापारीबाहेक अरूचाहिँ मान्छे होइनन् ? यी तीनबाहेक अरूलाई पुलिसले कहिलेबाट इज्जत गर्ने ?’

संविधान निर्माणताका विभिन्न एजेन्डा राखेर नेपाल बन्द गर्ने क्रम चलिरहेका बेला उज्ज्वल थापाहरूले ‘नेपाल खुला छ, नेपाल बन्दै छ’ अभियान चलाएका थिए । त्यतिबेलासमेत उनी सडकमा उभिन्थे ।

२९ पुस २०७१ मा अभियानमा सरिक भएपछि उनले ‘अब नेपाल बन्द गर्न खोज्नेको स्थिति नाजुक पार्ने पालो हाम्रो, नेपाल खुला छ, खुला रहनेछ’ भनेका थिए । संविधान निर्माणका लागि दबाब दिन ‘संविधानका लागि हामी’ अभियान चलेका बेला समेत उनी सक्रिय सहभागिता जनाउँथे । र्‍यापमार्फत पनि विरोध जनाउँथे । उनका अधिकांश गीतमा राजनीतिक चेतना पाइन्छ ।

पहिले युवा युस्ताको चासो राजनीतिप्रति कमै देखिन्थ्यो । काठमाडौंमा बालेन्द्र मेयर निर्वाचित भएपछि र जेन–जी आन्दोलनपछि राजनीतिप्रति युवा पुस्ताको चासो हवात्तै बढेको छ । विवेकशील पार्टीका पूर्वनेता मिलन पाण्डे भन्छन्, ‘बालेन्द्र शाहको राजनीतिमा उदय र जेन–जी आन्दोलनले सबैलाई जगाउने काम गरेको छ ।’

बालेन्द्रले आफू पार्टीबाट प्रधानमन्त्रीको उम्मेदवार बन्ने गरी रास्वपामा प्रवेश गर्ने सहमति गरेका थिए । एक पटकको संवाद सकारात्मक दिशामा नगएपछि उनले देश विकास पार्टीमार्फत छुट्टै राजनीति अघि बढाउने तयारी गरेका थिए ।

तर, पछि रास्वपा सभापति रवि लामिछानेले फेरि उनीसँग संवाद गरे । एक जनाले पार्टी र अर्कोले सरकारको नेतृत्व गर्ने गरी सहमति गरे । त्यही सहमतिपछि मतदाताको उत्साह रास्वपामा देखियो ।

रास्वपाको बहुमत स्पष्ट भएपछि बालेन्द्र प्रधानमन्त्री बन्ने लगभग निश्चित भएको छ । तर, बालेन्द्रको सत्ता यात्रा त्यति सहज भने छैन । ‘समाजमा चरम निराशा रहेका बेला उनले जनतामा आशा जगाउने किसिमका काम गर्नुपर्नेछ, त्योभन्दा पहिले विगतमा बहुमत ल्याउने पार्टीमा देखिएको जस्तो आन्तरिक कलह नहुने वातावरण बनाउनुपर्नेछ,’ युवा राजनीतिक विश्लेषक नवीन तिवारी भन्छन्, ‘अहिलेसम्म बालेन्द्रको उदय प्रश्न गरेर, स्टाटस मात्र लेख्दै विद्रोही स्वभाव बनाएर भएको थियो भने अब उनी स्वयंले जवाफ दिनुपर्नेछ, जुन भूमिका उनले कसरी निभाउँछन् भन्ने हेर्न लायक हुनेछ ।’

Balen speed

काठमाडौंको मेयर निर्वाचित हुँदा उनी सडक व्यवसायीप्रति निर्मम देखिएका थिए । त्यसैले उनले देशभरिका विपन्न वर्गमाथि कस्तो नीति लिन्छन् भन्ने पनि प्रश्न रहने उनी बताउँछन् । ‘सबैभन्दा महत्त्वपूर्ण विषय सन्तुलित परराष्ट्र सम्बन्ध कायम गर्नु पनि हो, मध्यपूर्वमा जुन किसिमको तनाव भइरहेको छ, त्यहींबाट उनको परीक्षा सुरु हुन सक्छ,’ पूर्वराजदूतसमेत रहेका राजनीतिक विश्लेषक डा. लोकराज बराल भन्छन्, ‘बाँकी विगतमा आन्दोलनमा उठेका र आफैंले उठाएका एजेन्डालाई कार्यान्वयन गर्नुपर्नेछ ।’ रास्वपाले ७ फागुनमा वाचापत्र सार्वजनिक गर्दै रोजगारी सिर्जना, करको बोझ हटाउने, १० वर्षमा मध्यम आय भएको मुलुक बनाउने, प्रतिव्यक्ति आय तीन हजार डलर बनाउने, १०० दिनभित्र सहकारीका बचतकर्ताको रकम फिर्ताको सुरुवात गर्ने जस्ता प्रतिबद्धता समेटेको छ ।

‘पार्टीले सहकारीका विषयमा पनि वाचा गरेको छ, कार्यान्वयन कसरी हुन्छ त्यो चुनौतीको विषय हो,’ विश्लेषक तिवारी भन्छन् । नेता पाण्डेको भनाइमा बालेन्द्रको सबैभन्दा ठूलो चुनौती पार्टीको आन्तरिक सन्तुलन मिलाउने र राम्रो टिम बनाउनुहुनेछ । ‘गति र दिशा दुवै मिलाएर जानुपर्ने चुनौती उनीसामु छ,’ पाण्डे भन्छन् ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

Link copied successfully