इलाम २ : तीन वर्षमा तेस्रो चुनाव, २२ महिनाभित्रै सुहाङको दोस्रो जित

सुहाङ अब एमालेमा नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै संसद् प्रवेश गर्ने छन् ।

फाल्गुन २४, २०८२

पर्वत पोर्तेल, लक्ष्मी गौतम

Ilam 2: Third election in three years, Suhang's second victory within 22 months

पाँचथर/विराटनगर — गत आमनिर्वाचन २०७९ मा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले जितेको क्षेत्र हो, इलाम- २ । नेपाली कांग्रेसका डम्वरबहादुर खड्कालाई झिनो मतान्तरले हराउँदै नेम्वाङ पाँचौं पटक सांसद भएका थिए । तर, सांसद बनेको ९ महिना पनि नबित्दै  २६ भदौ २०८० मा उनको निधन भयो ।  

नेम्वाङको निधनपछि रिक्त रहेको यस क्षेत्रमा १४ वैशाख २०८१ मा उपनिर्वाचन भयो । उक्त निर्वाचनमा बाबुको विरासत जोगाउन चुनावी मैदानमा ओर्लिएका छोरा सुहाङ भारी मतले विजयी भए । उनले २०७९ मा आफ्ना बुबाले झिनो मतान्तरले हराएका कांग्रेसका खड्कालाई ५ हजार ८ सय ३० मतान्तरले हराए । सुहाङले २७ हजार ७ सय ७२ मत पाएका थिए । 

उपनिर्वाचन भएको २२ महिनापछि सुहाङ पुनः प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले २२ हजार ४ सय २६ मत पाए । निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भेषराज आचार्य १४ हजार ६ सय ५० मतमा समेटिए । श्रम संस्कृति पार्टीका सुदीप राईले १४ हजार ४ सय मत पाउँदा  राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राई ७ हजार ८ सय १४ र नेपाली कम्युनिस्ट पार्टीका ओमबहादुर गुरुङ १ हजार १ सय ७२ मतमा खुम्चिए ।  

कोशी प्रदेशबाट जित हासिल गर्ने उनी दोस्रो नेता हुन् । यसअघि ताप्लेजुङबाट क्षितिज थेवे विजयी भएका थिए । सुहाङ अब एमालेमा नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै संसद् प्रवेश गर्ने छन् ।  

२०४६ फागुन ६ गते जन्मिएका सुहाङले प्रारम्भिक शिक्षा काठमाडौंको ग्यालेक्सी पव्लिक स्कुलबाट सुरु गरेका थिए । काठमाडौंकै जगत मन्दिर स्कुलबाट एसएलसी सकेपछि ज्ञानोदय बालवाटिका स्कुलबाट १२ पास गरे । 

उच्च अध्ययनका क्रममा उनी करिब अढाइ वर्ष अष्ट्रेलियासमेत बसे । तर, कानुन विषय पढ्ने लक्ष्यसहित पुनः नेपाल फर्किएपछि काठमाडौं स्कुल अफ लबाट एलएलबी सके । बाबुकै पदचाप पछ्याउँदै वकालती गर्न थाले । बुबाको निधनअघिदेखि नै सुहाङ कानुनी क्षेत्रमा सक्रिय थिए । उनले ‘कान्तिपुर ल असोसिएट्स एण्ड रिसर्च सेन्टर’ स्थापना गरी वाणिज्य तथा संवैधानिक मामिलामा कानुनी अभ्यास गर्दै आएका थिए । साथै उनी एमालेको कानुन विभागका केन्द्रीय सदस्यसमेत थिए ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully