प्रहरीका 'सिंघम' थापा संसदीय यात्रामा

प्रहरी सेवामा हुँदा उनी काठमाडौं, ललितपुर, बाँके, रूपन्देही र कपिलवस्तुलगायतका जिल्लाको कमाण्ड सम्हाल्दा राम्राे काम गरेकाे भन्दै अब्बल अधिकारीका रूपमा नाम कमाएका थिए ।

फाल्गुन २४, २०८२

मनोज पौडेल

Police's 'Singham' Thapa on parliamentary tour

कपिलवस्तु — जिल्ला प्रहरी प्रमुख उपरीक्षक सन्तोष आचार्यले कपिलवस्तु–२ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य बिक्रमसिंह थापालाई बधाई दिँदै भने, ‘पहिले अब्बल प्रहरी अधिकृत हुनुहुन्थ्यो । अब माननीय हुनु भयो । असल र राम्रो काम गरेर जनतासँगै राष्ट्रप्रति समर्पित नमुना काम गर्नु ।’ यसरी जिल्ला प्रहरी प्रमुखले बधाई दिएका व्यक्ति हुन् पूर्ववरिष्ठ अफिसर प्रहरी एवं संगठनमा नाम कमाएका पूर्वएसएसपी बिक्रमसिंह थापा । 

अपराध अनुसन्धान, गुण्डागर्दी नियन्त्रण र तराईमा आतंक मच्चाउने भूमिगत समूहलाई निस्तेज पार्ने प्रहरी अधिकृतका रुपमा स्थापित पूर्वएसएसपी बिक्रमसिंह थापा संसदीय यात्रामा प्रवेश गरेका छन् । 

उनले दुईजना भेट्रान पूर्वमन्त्री र पूर्व राष्ट्रिय सभा सदस्यलाई पराजित गर्दै पहिलोपटक संसद प्रवेश गर्दैछन् । पाँचौं जितको खोजीमा रहेको पूर्वमन्त्री बृजेशकुमार गुप्त र तेस्रो जितको खोजीमा रहेका पूर्वमन्त्री सुरेन्द्रराज आचार्यलाई पराजित गरेर उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । कपिलवस्तु–२ मा दलका १६ र ११ स्वतन्त्र उम्मेदवारलाई पराजित गरि उनी सांसद बनेका हुन् । 

जीवनका उर्जाशील समय प्रहरी सेवामा बिताएका थापा सेवा निवृत्त भएपछि २०७४ देखि राजनीतिमा लागेका हुन् । २०७९ मा उनी कांग्रेसबाट लुम्बिनी प्रदेशसभा सदस्यमा कपिलवस्तु–२ (क)मा ५२२ मतले पराजित भएका थिए । २०८२ मा कांग्रेसबाट कपिलवस्तु–२ मा प्रतिनिधिसभा सदस्यमा ४ जनाकोनाम  सिफारिस भएका थापाको नाम पनि थियो । तर, कांग्रेसबाट टिकट नपाएपछि थापाले रास्वपा प्रवेश गरी चुनावी मैदान उत्रिएर विजयीको माला पहिररिएका हुन् ।

गुल्मीमा जन्मिएका उनी डेढ दशकदेखि कपिलवस्तुलाई कर्मथलो बनाएका काम गरिरहेका थिए । गुल्मीको महेन्द्र माविबाट २०३७ सालमा एसएससी उत्तीर्ण थापा उदय प्रताप कलेज बनारस भारतबाट बिएससी उर्त्तिण छन् । स्कुलदेखि नै अन्याय, अत्याचार, विभेद्, भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाउने विद्रोही स्वभावका थापा पढ्नमा जति अब्बल थिए, अनुशासन, सुशासन र समन्यायकाका लागि त्यति नै दृढ थिए । त्यहीभएर ६३ वर्षे उमेरमा संसद्को यात्रा तय गरिदिएको छ । ‘म राजनीतिलाई सेवाका रुपमा लिन्छु,’ उनले भने, ‘पहिले सामाजिक जीवनको अभिन्न अंग शान्ति सुरक्षा, अमनचयन कायम गराउने कामबाट जनतासँग जोडिएको थिए । अब राजनीतिबाट जनतासँग जोडिन चाहन्छु ।’

प्रहरी सेवामा हुँदा उनी काठमाडौं, ललितपुर, बाँके, रुपन्देही र कपिलवस्तुलगायतका जिल्लाको कमाण्ड सम्हाल्दा राम्राे काम गरेकाे भन्दै अब्बल अधिकारीका रुपमा नाम कमाएका थिए ।  पूर्वप्रहरी महानिरीक्षक सर्बेन्द्र खनाल र रमेश खरेललगायतसँगै २०४६ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका उनी २०७३ मा एसएसपीबाट सेवा निवृत्त भएका थिए ।

२७ वर्ष प्रहरीमा काम गरेका उनले बहुचर्चित युनिटी ठगी काण्ड, तराईमा भूमिगत शैलीमा आंतक मच्चाउने भगत सिंहलाई पक्राउ, ०७२ मा तेल ढुवानी गर्ने ट्यांकरबाट हुने पेट्रोलियम पदार्थको चोरी काण्डको पर्दाफास गरेर चर्चा कमाएका थिए । त्यही भएर उनलाई कतिपय ठाउँमा सिंघम र राउडी राठोर जस्ता उपनाम दिएर चर्चा गरिन्थ्यो । उनका दुई छोरामध्ये एउटा एमडी गर्दै छन् भने अर्को ईञ्जिनियर छन् । श्रीमतीसहित ४ जनाको परिवार रहेका उनको माओवादी सशस्त्र द्वन्द्वका बेला २०५८ मा नुवाकोटमा एम्बुसमा परेर कानको श्रवणशक्ती कमजोर बनेको छ । 

भीड नियन्त्रणको मनोविज्ञानका राम्ररी बुझेका थापाले आन्तरिक सुरक्षा व्यवस्था, अपराध अनुसन्धान, गुण्डागर्दी नियन्त्रण र विषम परिस्थिति आकलन गरेर योजना बनाई काम गर्न अब्बल मानिन्छन् । त्यही भएर उनलाई प्रहरी प्रधान कार्यालयले २०६० मा प्रहरीको सर्वोर्त्कृष्ट सम्मान पूर्णशान्ति पुरस्कार प्रदान गरेको थियो ।

भ्रष्टाचार नियन्त्रण, सुशासन र जनताको आधाभूत आवश्यकताका कुरालाई प्राथमिकतामा राखेर काम गर्ने उनले बताएका छन् । चुनावका अनुभवी नेता र पूर्वमन्त्री तथा पूर्वराष्ट्रिय सभा सदस्यहरूसँग प्रतिस्पर्धा गर्नु कठिन भए पनि उनले जनताको भारी मत प्राप्त गरी संसद्को यात्रा तय गरेका छन् । निर्वाचनमा होमिएको दोस्रो प्रयासमा थापाले संसद प्रवेश गर्ने अवसर पाएका छन् । प्रहरी सेवाको अनुभवलाई उनले यसपटक संसदीय अभ्यासमा प्रयोग गर्दैछन् ।

थापाले ६ हजार १०८ मतान्तरले जितेका हुन् । उनले २७ हजार ६३५ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्रराज आचार्यले २१ हजार ५२७ मत प्राप्त गरेका थिए । आचार्य एकपटक राज्यमन्त्री र क्याबिनेट मन्त्री भएका थिए । त्यस्तै उनले २० हजार ४८२ मत ल्याएका नेकपाका उम्मेदवार बृजेशकुमार गुप्तलाई पनि पराजित गरे । गुप्त पनि एकपटक राज्यमन्त्री र संघीय मन्त्री भइसकेका अनुभवी नेता हुन् ।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully