गणेश धिमाल : अधिवक्ता हुँदै सांसदसम्म

सांसद निर्वाचित धिमालले यस क्षेत्रमा २०४८ देखि जित्दै आएका एमाले र कांग्रेसको विरासत तोडेका हुन् ।

फाल्गुन २४, २०८२

लक्ष्मी साह

Ganesh Dhimal: From advocate to MP

बारा — बारा–१ बाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित रास्वपाका गणेश धिमाल अधिवक्ता हुँदै कानुन निर्माणको सर्वोच्च निकाय संघीय संसदमा पुगेका छन् । उनले भारी मतान्तरका साथ विजयी हुँदै पहिलो पटक संसदीय यात्रा सुरु गरेका हुन् । 

धिमाल २५ हजार ७ सय ७५ मतान्तरले विजयी भए । उनले ३९ हजार ९ सय ९८ मत पाए । उनका निकटतम कांग्रेस केन्दीय सदस्य शम्भुबहादुर बुढाथोकीले १४ हजार २ सय २३ मत पाए । यस क्षेत्रबाट २०७९ मा निर्वाचित एमाले केन्द्रीय सदस्य अच्युत मैनाली ११ हजार ६ सय ४५ मत ल्याई तेस्रो भए । 

सांसद निर्वाचित धिमालले यस क्षेत्रमा २०४८ देखि जित्दै आएका एमाले र कांग्रेसको विरासत तोडेका हुन् । २०७९ मा मैनालीले कांग्रेसका तत्कालीन सहमहामन्त्री उमाकान्त चौधरीलाई दोब्बर मतले पराजित गर्दै विजयी भएका थिए । 

यसपटक मतगणना सुरु भएदेखि नै अग्रता लिएका धिमालले अन्तिमसम्म क्षेत्रको दसगजादेखि चुरेसम्मको बस्तीमा अग्रता बनाइरहे । सुरुमा कांग्रेस कार्यकर्ता भएर क्षेत्रीय कमिटीसम्म पुगेर काम गरेका थिए ।

यसै क्षेत्रको कोल्हवी बजार उनको जन्मस्थल हो । उनी कानुन व्यवसायी पनि हुन् । अधिवक्ता भएर काठमाडौंलाई कर्मथलो बनाई वकालत गर्दै आएका थिए । उनी २०७९ मा समेत यही क्षेत्रबाट रास्वपाका उम्मेदवार थिए । तर त्यतिबेला उनले झिनो मत पाएका थिए । स्नातकोत्तर धिमालका बाबुआमा, एक छोरा, एक छोरी र श्रीमती छन् ।

लक्ष्मी साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Link copied successfully