राष्ट्रिय स्तरमा एमालेको प्रदर्शन अपेक्षाभन्दा कमजोर देखिएको सन्दर्भमा धनकुटाबाट राईको जितलाई विशेष रूपमा हेरिएको छ।
धनकुटा — धनकुटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट एमालेका केन्द्रीय सदस्य राजेन्द्रकुमार राई तेस्रो पटक प्रतिनिधिसभामा सदस्यमा निर्वाचित भएका छन्। कांग्रेस धनकुटाका सभापति दिनेश राईलाई पराजित गर्दै उनले तेस्रो संसदीय यात्रामा छन् । अन्तिम मतपरिणामअनुसार राईले १८ हजार १३२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी दिनेश राईले १४ हजार २७५ मत पाएका छन्। राष्ट्रिय स्तरमा एमालेको प्रदर्शन अपेक्षाभन्दा कमजोर देखिएको सन्दर्भमा धनकुटाबाट राईको जितलाई विशेष रूपमा हेरिएको छ।
राजेन्द्रकुमार राई धनकुटाको राजनीतिमा लामो समयदेखि सक्रिय र स्थापित नेताका रूपमा चिनिन्छन्। २०२२ सालमा तत्कालीन मुगा गाविसमा जन्मिएका उनले विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए।
२०३६ सालमा काठमाडौंमा सम्पन्न अनेरास्ववियूको पाँचौँ राष्ट्रिय सम्मेलनमा कक्षा ८ मा अध्ययनरत हुँदा सबैभन्दा कान्छा प्रतिनिधिका रूपमा सहभागी भएका राई त्यसपछि निरन्तर संगठित राजनीतिमा सक्रिय रहे। २०४७ सालमा अनेरास्ववियू धनकुटाको अध्यक्ष बनेका उनले २०४९ मा जिविस सदस्य र २०५४ मा जिविस उपसभापति भएर स्थानीय तहको नेतृत्व सम्हाले। एमालेको जिल्ला राजनीतिमा पनि उनी प्रभावशाली नेताका रूपमा स्थापित भए। २०६४ पछि करिब १३ वर्ष जिल्ला अध्यक्ष भएर काम गरेका राई एमाले र माओवादी केन्द्रबीच २०७५ सालमा भएको एकतापछि पनि धनकुटामा पार्टी नेतृत्वमै रहे।
उनको संसदीय यात्रा भने सहज रूपमा सुरु भएको थिएन। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा धनकुटा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका राई तत्कालीन राप्रपा नेता सुनिलबहादुर थापासँग ४५४ मतले पराजित भएका थिए। तर २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनको बलमा उनले थापालाई १० हजारभन्दा बढी मतान्तरले हराउँदै पहिलो पटक संसदमा प्रवेश गरे। २०७९ सालमा पुनः थापासँगै प्रतिस्पर्धा हुँदा पनि उनले झिनो मतान्तरले जित दोहोर्याए। यसपटक भने प्रतिस्पर्धा नेपाली कांग्रेस धनकुटाका सभापति दिनेश राईसँग भएको थियो र उनले तेस्रो पटक पनि आफ्नो स्थान सुरक्षित गर्न सफल भएका छन्।
२०७४ को निर्वाचनमा धनकुटाका सातै स्थानीय तह एमालेले जितेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले धनकुटा सदरमुकाम त्रिवेणीमा आयोजित सभामा राजेन्द्रकुमार राईलाई ‘म्यान अफ द इलेक्सन’ भन्दै सार्वजनिक रूपमा प्रशंसा गरेका थिए। यसले धनकुटामा उनको राजनीतिक प्रभाव कति बलियो थियो भन्ने संकेत दिएको थियो। त्यसपछि राष्ट्रिय राजनीतिमा पनि उनले भूमिका पाएका छन्। २०७९ सालमा उनी गरिबी निवारण मन्त्री बने भने २०८० फागुनमा खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। एमालेको दशौँ महाधिवेशनबाट पहिलोपटक केन्द्रीय सदस्य बनेका राई ११ औँ महाधिवेशनबाट पनि सोही पदमा तेहेरिएका छन्।
तर तेस्रो पटक निर्वाचित हुँदा पनि मतदाताबीच अपेक्षा र गुनासो दुवै देखिन्छन्। धनकुटामा सडक पूर्वाधार, खानेपानी, सिँचाइ, स्वास्थ्य सेवा र रोजगारीका समस्या अझै पनि मुख्य रूपमा कायम छन्। दुई कार्यकाल सांसद भएर मन्त्रीको जिम्मेवारी समेत सम्हालेका राईबाट स्थानीय विकासमा उल्लेखनीय उपलब्धि देखिनुपर्ने अपेक्षा मतदाताको थियो। तर अपेक्षाअनुसार ठोस परिवर्तन हुन नसकेको गुनासो स्थानीय तहमा सुनिन थालेको छ।
यसपटकको निर्वाचन परिणामले भने अर्को संकेत पनि दिएको छ। राष्ट्रिय स्तरमा एमालेको प्रदर्शन कमजोर भएको सन्दर्भमा पनि धनकुटाबाट राई निर्वाचित हुनु उनको व्यक्तिगत राजनीतिक प्रभाव, संगठनात्मक पकड र स्थानीय नेटवर्कको परिणामका रूपमा हेरिएको छ। लामो समय जिल्ला राजनीतिमा सक्रिय रहँदा उनले बनाएको संगठन र कार्यकर्ता आधारले पनि उनको जितलाई सहज बनाएको विश्लेषण गरिन्छ।
तेस्रो पटक संसदमा पुगेका राईका लागि अबको कार्यकाल सम्भवतः सबैभन्दा महत्त्वपूर्ण हुनेछ। लगातार तीन पटक निर्वाचित हुनु आफैंमा ठूलो राजनीतिक उपलब्धि हो, तर त्यससँगै मतदाताको अपेक्षा पनि उत्तिकै बढेको छ। धनकुटाका नागरिकले अब विकासका ठोस परिणाम चाहिरहेका छन्। सडक, कृषि, पर्यटन, रोजगारी र आधारभूत सेवाको पहुँच विस्तार जस्ता विषयमा उनले कस्तो भूमिका खेल्छन् भन्ने कुराले मात्र उनको आगामी राजनीतिक भविष्य तय गर्नेछ।
