प्रतिनिधिसभा निर्वाचन–२०७९ मा पूर्वमाओवादीले ४ र साविक एकीकृत समाजवादीले ३ निर्वाचन क्षेत्रमा विजयी हासिल गरेका थिए । योपल्ट पूर्वमाओवादी पृष्ठभूमिका ३ जना र साविक एकीकृत समाजवादीका एक जना विजयी भएका छन् । कर्णालीमा १२ निर्वाचन क्षेत्र छन् ।
सुर्खेत — सशस्त्र द्वन्द्वको आधार क्षेत्र कर्णालीमा नेपाली कम्युनिस्ट पार्टी जोगिएको छ । यसअघि पनि जित्दै आएको डोल्पा, रुकुम पश्चिम, सल्यान र कालीकोटमा उसले आफ्नो विरासत जोगाएको छ भने जाजरकोट, दैलेख–१ र हुम्लामा आफ्नो गढ गुमाएको छ ।
प्रतिनिधिसभा निर्वाचन–२०७९ मा पूर्वमाओवादीले ४ र साविक एकीकृत समाजवादीले ३ निर्वाचन क्षेत्रमा विजयी हासिल गरेका थिए । योपल्ट पूर्वमाओवादी पृष्ठभूमिका ३ जना र साविक एकीकृत समाजवादीका एक जना विजयी भएका छन् । कर्णालीमा १२ निर्वाचन क्षेत्र छन् ।
डोल्पामा धनबहादुर बुढा ६ हजार ८ सय २ मतसहित चौथोपल्ट विजयी भएका छन् । उनी साविक एकीकृत समाजवादी पृष्ठभूमिका हुन् भने तीनपटक प्रतिनिधिसभा सदस्य र दुईपटक मन्त्री भइसकेका छन् । गत प्रतिनिधिसभा निर्वाचनमा ११ हजार २ सय ९२ मतसहित विजयी भएका थिए भने २०७४ सालमा ११ हजार ७ सय ६१ मतसहित सांसद बनेका थिए । उनले पहिलोपल्ट संविधानसभा सदस्य निर्वाचन–२०७० मा संसदीय निर्वाचन जिते भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री र सहरी विकासमन्त्री बनेका थिए ।
त्यस्तै रुकुम पश्चिममा गोपाल शर्माले २१ हजार ६ सय ९ मतसहित विजयी भएर आधार क्षेत्रको विरासत जोगाएका छन् । तर यसअघि यही क्षेत्रबाट २०६४ सालदेखि लगातार निर्वाचन जित्दै आएका जनार्दन शर्मा १४ हजार ३ सय ४६ मतसहित तेस्रो स्थानमा खुम्चिएका छन् । उनी पार्टी एकीकरण प्रक्रियामा असहमति जनाउँदै नेकपाबाट बाहिरिएर प्रगतिशील लोकतान्त्रिक पार्टी गठन गरेका थिए ।
चारपल्ट पूर्वमाओवादीबाट चुनाव जितेका उनी शान्ति तथा पुनर्निर्माण, ऊर्जा, गृह र अर्थमन्त्रीसमेत बने । तर पार्टीबाट बाहिरिएपछि उनी आफ्नै पूर्वसहकर्मीबाट पराजित भए । जनार्दन गृहमन्त्री हुँदा गोपाल उनका स्वकीय सचिव थिए । गोपालको यो दोस्रो संसदीय यात्रा हो । उनी २०७४ सालमा कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए भने आर्थिक मामिला तथा योजनामन्त्रीसमेत बने ।
सल्यानमा पनि नेकपाको शाख जोगिएको छ । २३ हजार १ सय ८९ मतसहित नेकपाका रमेशकुमार मल्ल विजयी भएका छन् । सल्यानबाट दोस्रो संविधानसभा निर्वाचन–२०७० मा क्षेत्र नं. १ बाट पूर्वमाओवादीका टेकबहादुर बस्नेत र क्षेत्र नं. २ बाट नेकपाकै प्रकाश ज्वाला एमालेबाट विजयी भएका थिए । त्यस्तै पहिलो संविधानसभा निर्वाचन–२०६४ मा पनि उनीहरुले नै जीत हासिल गरेका थिए ।
कालीकोटमा नेकपाकै नेता महेन्द्रबहादुर शाही चौथोपल्ट विजयी भएका छन् । उनी कर्णाली प्रदेशका पहिलो मुख्यमन्त्री हुन् भने संघीय सरकारमा ऊर्जामन्त्री भएका थिए । २०७९ सालको निर्वाचनमा २३ हजार ७ सय २७ मतसहित विजयी भएका थिए भने २०७४ सालको प्रदेशसभा निर्वाचन कालीकोट १ (ख) मा १२ हजार १ सय ५३ मतसहित जितेका थिए । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा विजयी हासिल गरी उनले संसदीय यात्रा थालेका थिए । उनले यसपल्ट आफ्नै पूर्व सहकर्मी खडकबहादुर विश्वकर्मालाई हराएका थिए ।
२०६४ सालको निर्वाचनमा साविक मध्यपश्चिमका १० जिल्लामा पूर्व माओवादी पहिलो शक्ति थियो । उक्त निर्वाचनमा पूर्व माओवादीबाट ११ प्रत्यक्ष र ८ समानुपतिक गरी १९ जना सांसद बने । २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा भने चार प्रत्यक्ष र ३ समानुपातिक गरी पूर्व माओवादी सांसदको संख्या ७ मा झर्यो ।
२०७४ सालको निर्वाचनमा एमालेसँग सहकार्य गर्दा माओवादीले ५ प्रतिनिधिसभा क्षेत्रमा मात्र जीत हात पार्न सकेको थियो भने २०७९ मा एक सिट गुमाएर चारमा सीमित बनेको थियो । २०७९ मा एकीकृत समाजवादीबाट ३ जना प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । राजनीतिक विश्लेषक लक्ष्मण केसी यो निर्वाचनमा माओवादी कमजोर हुँदै गइरहेको देखिएको बताए ।
