राजकिशोर महतो : शिक्षकबाट राजनीतिमा फड्को

शिक्षा, स्वास्थ्य, कृषि र रोजगारलाई प्रमुख एजेन्डा बनाएर निर्वाचनमा होमिएका महतोले विजयी भएपछि आफूले मतदातासँग गरेको बाचाअनुसार नै कामलाई प्राथमिकता दिने बताए ।

फाल्गुन २४, २०८२

अजित तिवारी

Rajkishore Mahato: Leap from teacher to politics

जनकपुर — शिक्षक हुँदै राजनीतिमा फड्को मारेका धनुषा बटेश्वर गाउँपालिका–३ का रास्वपाका उम्मेदवार राजकिशोर महतो(५१ वर्ष) धनुषा निर्वाचन क्षेत्र नं. ४ बाट फराकिलो मतले विजयी भएका छन् । 

महतो ४८ हजार २ सय ७० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका महेन्द्र यादवले १५ हजार ८ सय ९ मत ल्याएर पराजित भए । वेभ फर्मा केमिकल्स प्रालिका प्रबन्ध निर्देशक रहेका विजयी उम्मेदवार महतो शिक्षणबाट आफ्नो जागिरे यात्रा थालेका थिए । 

गणित र विज्ञान विषय पढाउने महतो ४ वर्षमै शिक्षक पेशाबाट अलग भए । उनले सोलुखुम्बुको गोलीमा रहेको बुद्ध माविमा २ वर्ष अध्यापन गरेका थिए । त्यसपछि उनी एमआर(मेडिकल सेल्सम्यान) भएर लामो समय काम गरे । कोभिड–१९ मा फ्रन्टलाइनर भएर काम गरेका महतो कविर फाउन्डेशन नेपालका अध्यक्षसमेत छन् । 

०७९ को आमनिर्वाचनमा धनुषा क्षेत्र नं. ४ को २ बाट प्रदेशसभामा महतो जसपा नेपालबाट उम्मेदवार बनेका थिए । उनी त्यो निर्वाचनमा करिब ८ हजार मत ल्याएर पराजित भएका थिए । 

व्यवस्थापनमा स्नातक गरेका महतो ०७२ को भूकम्पमा चाइल्ड केयर फाउन्डेशन नेपालमार्फत राहत वितरणमा सहभागी थिए ।‍ शिक्षा, स्वास्थ्य, कृषि र रोजगारलाई प्रमुख एजेन्डा बनाएर निर्वाचनमा होमिएका महतोले विजयी भएपछि आफूले मतदातासँग गरेको बाचाअनुसार नै कामलाई प्राथमिकता दिने बताए । महतोका जेठा छोरा अभिषेक सिंहले समाजसेवा, समस्या परेका बेला अघि सर्ने र सहयोग गर्ने बानीकै कारण मतदाताको अपार माया पाएको बताए । 

प्रतिनिधिसभा निर्वाचन २०८२यी हुन् १६५ सांसद

अजित पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully