सिरहा नगरपालिका-१७ पटेर्वाका बासिन्दा ४१ वर्षीय शम्भु २०४१ पुष १५ मा जन्मिएका हुन् । उनी चिकित्सक हुन् । चीनस्थित झोङझोउ विश्वविद्यालयबाट उनले एमबीबीएस अध्ययन गरेका छन् ।
सिरहा — सिरहा–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. शम्भु यादव प्रतिनिधि सभा सदस्यका रुपमा निर्वाचित भएका छन् । कम्युनिस्ट र कांग्रेसको गढ भत्काउँदै उनी ३२ हजार २ सय ४९ मत प्राप्त गरी विजयी भएका हुन् ।
यादव निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लिलानाथ श्रेष्ठले १० हजार १ सय ५६ मत प्राप्त गरे । यस्तै, नेपाली कम्युनिस्ट पार्टीका विश्वनाथ साहले ९ हजार ९ सय ४२ मत प्राप्त गर्दा नेपाली कांग्रेसका शुभाषचन्द्र यादवले ९ हजार ८ सय ७९ मत पाए ।
सिरहा नगरपालिका-१७ पटेर्वाका बासिन्दा ४१ वर्षीय शम्भु २०४१ पुष १५ मा जन्मिएका हुन् । उनी चिकित्सक हुन् । चीनस्थित झोङझोउ विश्वविद्यालयबाट उनले एमबीबीएस अध्ययन गरेका छन् । पढाई सकेपछि २०६७ मा नेपाल फर्किएका उनले केही वर्ष काठमाडौंमै विभिन्न अस्पतालमा काम गरे ।
तर, भूकम्पपछि आफ्नै घर झरेका उनी त्यसपछि भने काठमाडौं गएनन् । जिल्लामै बसेर विभिन्न अस्पतालमा काम गरे । भूकम्पका बेला जिल्लाका विभिन्न गाउँ घुमेपछि यहाँका नागरिकमा स्वास्थ्य सचेतना अभाव र यहाँको स्वास्थ्य सेवा दयनीय देखेर आफूलाई काठमाडौं जान मन नलागेको उनी सुनाउँछन् ।
जिल्लामै बसेर जीवीका चलाउन यहाँका निजी अस्पतालहरुमा कामसँगै जिल्लाका विभिन्न स्थानमा उनले स्वास्थ्य शिविर चलाए । नागरिकको स्वास्थोपचारसँगै स्वास्थ्य सचेतना वृद्धि गर्न सक्रिय रहे । तरकारीमा प्रयोग हुने विषादीले मानव स्वास्थ्यमा पार्ने असरबारे किसानलाई सचेत गराउन काम गरे ।
तर, यसरी अनौपचारिक अभियान वा प्रयत्नले मात्रै स्वास्थ्य सचेतना नबढ्ने र स्वास्थ्य क्षेत्रमा सुधार नहुने भन्ने निष्कर्षसहित उनी २०७९ सालमा रास्वपासँग आबद्ध हुँदै राजनीतिमा पाइला राखे । औपचारिक राजनीतिमा प्रवेश गरेको तीन वर्षमै उनले सांसद भएर काम गर्ने सौभाग्य पाएका छन् ।
सांसदका रुपमा निर्वाचित भएपछि यस क्षेत्रको विकास निर्माणका कामसँगै स्वास्थ्य क्षेत्रमा परिवर्तन आफ्नो मूल उद्देश्य हुने उनले बताए । ‘सांसद बनेपछि यस क्षेत्रका सबै कुरामा मैले ध्यान दिनुपर्नेछ, चुनावमा जति बाचा गरेका छौं, ती सबै पूरा गर्नुपर्नेछ,’ शम्भुले कान्तिपुरसित भने, ‘तर, स्वास्थ्य क्षेत्रमा सुधार मेरो मुख्य सपना हो ।’
