सिनियर नेतालाई पछि पार्दै टिकट हात पारेका कार्की अब संसद्‌‍मा

सोलुखुम्बुबाट कांग्रेसका प्रकाशसिंह कार्की १३ हजार १ सय ६६ मतसहित विजयी बने ।

फाल्गुन २४, २०८२

भानुभक्त निरौला

Karki, who won the ticket after beating senior leaders, is now in Parliament.

सोलुखुम्बु — फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा सोलुखुम्बुबाट कांग्रेसका प्रकाशसिंह कार्की निर्वाचित बनेका छन् । १३ हजार १ सय ६६ मत ल्याएर उनी विजयी बने । उनका निकटतम प्रतिस्पर्धी नेकपाका असिम राईले ९ हजार ४ सय १४ मत ल्याए ।

२०२० सालमा नेचासल्यान गाउँपालिका-१ मा जन्मिएका कार्कीले उच्च माध्यमिक तहसम्म अध्ययन गरेका छन् । राजनीति र समाजसेवालाई सँगसँगै अघि बढाएका उनी २०३५ सालमा नेविसंघको सदस्य बनेर राजनीतिमा आएका हुन् । २०४७ सालमा भएको कांग्रेसको चाक्सीबारी सम्मेलनमा सोलुबाट प्रतिनिधि बनेका उनले कांग्रेसको सोलुखुम्बु-काठमाडौं सम्पर्क समितिको महसचिव, पार्टी जिल्ला सदस्य र महाधिवेशन प्रतिनिधि भएर काम गरेका छन् । 

राजनीतिसँगै सामाजिक क्षेत्रमा पनि उनको नाम सँगै आउँछ । उनी पर्यटन व्यवसायमा आबद्ध हुनुका साथै नेपाल फ्रेट फर्वार्ड एसोसिएसनका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ कार्यकारिणी समिति सदस्यसमेत भएका थिए । 

२०७४ सालमा प्रदेशसभा सदस्यको उम्मेदवार बनेका उनी वाम गठबन्धनका उम्मेदवारसँग पराजित भए । २०८२ सालमा पार्टीका सिनियर नेताहरुलाई पछि पार्दै टिकट हात पारेका उनी प्रतिनिधिसभा सदस्य भएर रेकर्ड कायम गरेका छन् । पार्टीमा उनी सभापति गगन थापा निकट मानिन्छन् । 

जिल्लाबाट टिकटको लागि चौथो नम्बरमा सिफारिस भएका उनलाई पार्टीको विशेष अधिवेशनबाट निर्वाचित केन्द्रीय नेतृत्वले टिकट दिएको हो । यसपटक बलबहादुर केसीलाई पहिलो, आङगेलु शेर्पालाई दोस्रो र विनोद बस्नेतलाई तेस्रो नम्बरमा सिफारिस गरिएको थियो । बलबहादुर केसीले चुनाव नलड्ने घोषणा गरेपछि उनले अन्य उम्मेदवारलाई पछि पार्दै कार्कीले टिकट हात पारेका थिए । 

भानुभक्त

Link copied successfully