अधिवक्ता भएर काठमाडौंलाई कर्मस्थल बनाई वकालत गर्दै आएका उनी २०७९ मा समेत यही क्षेत्रबाट रास्वपाका उम्मेदवार थिए ।
बारा — बाराको निर्वाचन क्षेत्र नम्बर १ का विजेता रास्वपाका गणेश धिमाल अधिवक्ता हुँदै कानुन निर्माणको सर्वोच्च निकाय संघीय संसद् प्रतिनिधि सभामा पुगेका छन् । उनले भारी मतान्तरका साथ विजयी भइ संसदीय यात्रा पहिलो पठक सुरू गर्दैछन् ।
धिमालले २५ हजार ७ सय ७५ मतको मतान्तरले विजयी भएका हुन् । उनले ३९ हजार ९ सय ९८ मत ल्याए । उनका निकटतम कांग्रेसका केन्दीय सदस्य शम्भुबहादुर बुढाथोकीले १४ हजार २ सय २३ मत ल्याए । यस क्षेत्रबाट २०७९ मा निर्वाचित एमाले केन्द्रीय सदस्य अच्युत मैनालीले ११ हजार ६ सय ४५ मत ल्याई तेस्रो स्थानमा भए । निर्वाचित धिमालले यस क्षेत्रमा २०४८ देखि जित्दै आएका एमाले र कांग्रेसका नेताहरुको रजगजलाई पछारेका हुन् ।
२०७९ मा मैनालीले कांग्रेसका तत्कालीन सहमहामन्त्री उमाकान्त चौधरीलाई दोब्बर मतले पराजित गर्दै विजयी भएका थिए । सुरूदेखि नै अग्रता लिएका उनले अन्तिमसम्म क्षेत्रको दसगजादेखि चुरेसम्मको बस्तीका मतले अग्रता लिइरहे ।
सुरूमा कांग्रेस कार्यकर्ता भएर क्षेत्रीय कमिटीसम्म पुगेर काम गरेका उनको यसै क्षेत्रको कोल्हवी नगरपालिका १ कोल्हवी बजार जन्मस्थल हो । उनी कानुन व्यवसायी पनि हुन् । अधिवक्ता भएर काठमाडौंलाई कर्म स्थल बनाई वकालत गर्दै आएका छन् । उनी २०७९ मा समेत यही क्षेत्रबाट रास्वपाका उम्मेदवार थिए । तर उनले झिनो मत ल्याएका थिए । स्नातकोत्तर गरेका उनले उनका बाबुआमा, १ छोरा, १ छोरी र श्रीमती छन् । ४३ वर्षीय निर्वाचित धिमाल दोस्रो पटकको प्रतिस्पर्धाले कानुन व्यवसायी हुँदै संसद्सम्म पुगेका हुन् ।
