बब्लु गुप्ता : सामाजिक अभियन्ताको परिचयले मन्त्री, रास्वपा लहरमा सांसद

मन्त्री हुँदा उनले खासगरी आफ्नो पहलमा लामो समयदेखि अलपत्र अवस्थामा रहेको लहानस्थित रामकुमार सारडा–उमाप्रसाद मुरारका स्मारक अस्पतालको जग्गा नामसारी प्रक्रिया अघि बढाए । सिरहा–धनुषा जोड्ने कमला पुल पुनर्निर्माण र तत्काल नदी डाइभर्सन निर्माणका लागि पनि पहल गरे ।

फाल्गुन २४, २०८२

विनय आजाद

Bablu Gupta: Social activist's identity makes him a minister, MP in the Rashtriya Swayamsevak Sangh (RSS) wave

सिरहा — जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकारमा युवा तथा खेलकुदमन्त्री बनेका बब्लु गुप्ता सिरहा क्षेत्र नम्बर १ बाट सांसदका रुपमा निर्वाचित भएका छन् । मन्त्री पदबाट राजीनामा दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव लडेका गुप्ता ४१ हजार ३ सय ३३ मत प्राप्त गरी सांसद चुनिएका हुन् ।

गुप्ताका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामसुन्दर चौधरी ९ हजार ७ सय ८४ मतसहित दोस्रो भए । यस्तै, यसै क्षेत्रका निवर्तमान सांसद नेकपा एमालेका रामशंकर यादव ७ हजार ८ सय ६६ मत पाए ।

यहाँ नेपाली कम्युनिस्ट पार्टीका रामचन्द्र यादवले २ हजार ८ सय ५३ मत पाउँदा जसपा नेपालका सत्यनारायण यादवले २ हजार २ सय ८५ मत पाएका छन् ।

२०५४ साउन ७ मा जन्मिएका २८ वर्षीय बब्लु लहान नगरपालिका-२३ गाढाका स्थायी बासिन्दा हुन् । अविवाहित उनी हाल जनस्वास्थ्यमा स्नातक अध्ययनरत छन् । उच्च शिक्षा अध्ययन गर्न काठमाडौं गएका उनी पढाइसँगै सामाजिक कार्यमा पनि जोडिए । जसले उनलाई समाजिक अभियन्ताको परिचय दिलायो ।

जेन–जी आन्दोलनमा सक्रिय भूमिकाका कारण उनी जेन–जी समूहबाटै युवा तथा खेलकुद मन्त्री बनेका थिए । मन्त्री हुँदा उनले खासगरी आफ्नो पहलमा लामो समयदेखि अलपत्र अवस्थामा रहेको लहानस्थित रामकुमार सारडा–उमाप्रसाद मुरारका स्मारक अस्पतालको जग्गा नामसारी प्रक्रिया अघि बढाए । सिरहा–धनुषा जोड्ने कमला पुल पुनर्निर्माण र तत्काल नदी डाइभर्सन निर्माणका लागि पनि पहल गरे ।

सामाजिक अभियन्ताको परिचय र जेनजी आन्दोलनमा सक्रिय भूमिकाका कारण मन्त्री बन्ने सौभाग्य पाएका बब्लु अहिले देशभर चलेको रास्वपाको लहरमा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । आफूले समाजमा गरेका योगदान अनि मन्त्री भएर गरेको राम्रो कामको परिणाम स्वरुप जनताले जित दिलाएको उनले बताए ।

‘एउटा सामाजिक अभियन्ताका रुपमा र मन्त्रीका रुपमा मैले समाजमा जसरी योगदान गरेको थिएँ, मेरो जितको कारण यही नै हो, परिवर्तनको लहरले झन् सहज जीत भएको छ,’ उनले कान्तिपुरसित भने, ‘अब त अझै जिम्मेवारी बढेको छ, म कुनै कसर बाँकी नरहने गरी जनताले दिएको अभिभारा पूरा गर्नेछु, देशमा सुशासन र आफ्नो क्षेत्रको विकासका लागि दत्तचित्त भएर लाग्नेछु ।’

बब्लुका पिता बिसुन बानियाँ नेपाली कांग्रेसको सिरहा जिल्ला उपसभापति भइसकेका व्यक्ति हुन् । तर, आफू जनप्रतिनिधि हुन नपाए पनि छोराको जितले धेरै खुसी लागेको उनले सुनाए । ‘मैले कांग्रेसमा धेरै संघर्ष गरेँ, तर त्यहाँ सधैंभरि एकै जनाले अवसर पाइराख्ने परम्परा रह्यो,’ उनले भने, ‘अब यो परम्परा भत्केको छ, मेरो छोरो पहिल्यैदेखि समाजसेवा गर्दै आएका छन्, अब अझ राम्रो र प्रभावकारी ढंगले गर्न पाउनेछन् भन्ने लागेको छ ।’

यी हुन् १६५ सांसदप्रतिनिधिसभा निर्वाचन २०८२

विनय आजाद कान्तिपुरका सिराहा संवाददाता हुन् ।

Link copied successfully