चन्दन सिंह : गाउँपालिका अध्यक्षदेखि सांसदसम्म

यसअघि देवताल गाउँपालिकाका अध्यक्षको जिम्मेवारी सम्हालिसकेका सिंहले पहिलो पटक संसदीय यात्रा सुरु गरेका हुन्।

फाल्गुन २४, २०८२

लक्ष्मी साह

Chandan Singh: From rural municipality chairman to MP

बारा — बाराको निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार चन्दन सिंह प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। यसअघि देवताल गाउँपालिकाका अध्यक्षको जिम्मेवारी सम्हालिसकेका सिंहले पहिलो पटक संसदीय यात्रा सुरु गरेका हुन्।

सिंह २१ हजार ३ सय ९४ मतान्तरले विजयी भएका हुन्। उनले कुल ३५ हजार ५ सय ९० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) नेपालका रामकिशोर यादवले १४ हजार १ सय ९६ मत प्राप्त गरेका छन्।

रामकिशोर यादव चौथोपटक संघीय सांसदका लागि उम्मेदवार बनेका थिए। यसअघि उनी तीन पटक पराजित भइसकेका छन्।

सिंह २०७४ सालमा तत्कालीन महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोेसपा) बाट देवताल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए। कक्षा १२ सम्म अध्ययन गरेका उनले जसपा नेपाल र लोेसपाबीच एकीकरण भएपछि रास्वपा प्रवेश गर्दै सोही पार्टीबाट उम्मेदवार बनेर संसदीय यात्रामा प्रवेश गरेका हुन्।

देवताल गाउँपालिका–४ पिप्राढी निवासी ४३ वर्षीय सिंहका श्रीमती र दुई छोरा छन्। निर्वाचनको सुरुदेखि नै अग्रता बनाउँदै उनी अन्ततः विजयी भएका हुन्।

उनका पिता विश्वनाथ सिंह पंचायतकालमा तत्कालीन जिल्ला विकास समिति (जिविस) का सभापति थिए।

लक्ष्मी साह कान्तिपुरका बारा संवाददाता हुन् ।

Link copied successfully