लामो समय नेपाली कांग्रेसको राजनीति गरेका खनालले २०८२ को निर्वाचनमा अन्तिम समयमा रास्ट्रिय स्वतन्त्र पार्टीबाट टिकट ल्याएर चुनावमा होमिएका थिए । विद्यार्थी राजनीतिबाट सुरु भएको लामो राजनीतिक यात्रामार्फत स्थापित नेताका रूपमा चिनिन्छन् उनी ।
परासी — पश्चिम नवलपरासी क्षेत्र नम्बर–१ बाट विजयी विक्रम खनाल समाजसेवासँगै विद्यार्थी राजनीतिमा सक्रिय व्यक्ति हुन् । लामो समय नेपाली कांग्रेसको राजनीति गरेका खनालले २०८२ को निर्वाचनमा अन्तिम समयमा रास्ट्रिय स्वतन्त्र पार्टीबाट टिकट ल्याएर चुनावमा होमिएका थिए । विद्यार्थी राजनीतिबाट सुरु भएको लामो राजनीतिक यात्रामार्फत स्थापित नेताका रूपमा चिनिन्छन् उनी ।
५५ वर्षका खनालले स्नातक तहसम्मको शिक्षा हासिल गरेका छन् ।१४ वर्षको उमेरमै विद्यार्थी राजनीतिमा प्रवेश गर्दै आफ्नो राजनीतिक यात्रा सुरु गरेका थिए । उनले नेपाल विद्यार्थी संघ (नेविसंघ) मार्फत सक्रिय राजनीति थालेका हुन् । २०५० मा नेविसंघ नवलपरासीका जिल्ला सभापति बनेका थिए ।
त्यसपछि खनाल नेपाली कांग्रेसको संगठन निर्माण र पार्टी गतिविधिमा निरन्तर सक्रिय रहँदै आएका थिए । २०७० सालमा संविधान सभा सदस्यको निर्वाचन जितेका खनाल २०७४ को प्रदेश सभा निर्वाचनमा उपविजेता बनेका थिए ।
पार्टी संगठनमा सक्रिय भूमिकाका कारण खनाल नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट लुम्बिनी प्रदेश महामन्त्री पदमा निर्वाचित भएका हुन् ।
जिल्लाको क्षेत्र नम्बर १ मा प्रतिनिधि सभाको निर्वाचन लड्ने इच्छा भए पनि कांग्रेस नेता विनोद चौधरीले टिकट ल्याएपछि असन्तुष्ट बनेका खनाल अन्तिम समयमा आएर रास्वपाबाट चुनाव लडेका थिए ।
खनालले नेपाली कांग्रेसका उम्मेदवार विनोदकुमार चौधरीलाई ३५ हजार ७३९ मतान्तरले पछि पार्दै विजयी भएका हुन् । विजयी खनालले ४५ हजार २४१ मत पाउँदा चौधरीले ९ हजार ५०२ मत प्राप्त गरेका थिए । एमालेका रामप्रसाद पाण्डेले ७ हजार ९ सय ५६ र जनता समाजवादी पार्टी नेपाल(जसपा)का हृदयेश त्रिपाठीले ७ हजार ८३२ मत प्राप्त गरे ।
