मकवानपुर–२ मा वामपन्थीहरुको किल्ला भत्काउने प्रशान्त को हुन् ?

उक्त क्षेत्र २०४८ सालदेखि वामपन्थीहरुको किल्लाको रुपमा रहँदै आएको थियो । त्यो किल्ला भत्काउन सफल भएका छन् उप्रेती ।

फाल्गुन २४, २०८२

प्रताप विष्ट

Who is Prashant, who demolished the leftist stronghold in Makawanpur-2?

हेटौंडा — प्रतिनिधि सभाको निर्वाचनमा मकवानपुरको–२ नम्बर क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका प्रशान्त उप्रेती विजयी भएका छन् । मकवानपुरका उनी सबैभन्दा कान्छा उम्मेदवार हुन् । मकवानपुरको मनहरी गाउँपालिका–७ का उप्रेतीले ३१ हजार ७२५ मत प्राप्त गरेर विजयी भएका छन् । उनको निकट्तम प्रतिद्वन्द्वी महेश बर्तौलालाई १९ हजार ६२४ मत ल्याएका थिए । १२ हजार १०१  मतको अन्तरले उप्रेती विजयी भएका हुन् । 

२५ वर्षीय उप्रेतीले पहिलो संसदीय यात्रामा नै विजय हात पार्न सफल भए । उक्त क्षेत्र २०४८ सालदेखि वामपन्थीहरुको किल्लाको रुपमा रहँदै आएको थियो । त्यो किल्ला भत्काउन सफल भएका छन् उप्रेती । उक्त क्षेत्रबाट प्रतिनिधि सभाको निर्वाचन होस वा संविधान सभाको निर्वाचन होस वामपन्थीहरुले जीत हासिल गर्दै आएका थिए । 

२०५७ साल जेठ १० गते जन्मेका उप्रेती हाल काठमाडौं विश्वविद्यालय, शिक्षा संकायमा नेतृत्व तथा व्यवस्थापन विषयमा शिक्षा शास्त्रमा स्नातकोत्तर (एमइडी)मा अध्ययनरत छन् । नेपाल एकेडेमी अफ टुरिज्म एण्ड होटल म्यानेजमेन्टबाट ब्याचलर अफ ट्राभल एण्ड टुरिज्म म्यानेजमेन्ट उत्तीर्ण गरेका थिए । यसअघि उनले ग्लोबल कलेज अफ म्यानेजमेन्ट, काठमाडौंबाट व्यवस्थापन विषयमा दश जोड दुई सन् २०१८ मा उत्तीर्ण गरेका थिए । सन् २०१६ मा युनाइटेड सेकेन्डरी इङ्ग्लिस बोर्डिङ स्कुल, मकवानपुरबाट उत्तीर्ण गरेका थिए ।

काठमाडौं महानगरपालिकाका पूर्व मेयर बालेन साहको सचिवालयमा काम गर्दागर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले मकवानपुर–२ बाट उम्मेदवारको टिकट दिएपछि उनी माघ ४ गते मनहरी आइपुगेका थिए । छोरा प्रशान्तले रास्वपाबाट उम्मेदवारीको टिकट लिएर आएपछि बावु रामचन्द्र उप्रेतीले एमाले पार्टी परित्याग गरेका थिए । अहिले छोरा प्रतिनिधि सभा सदस्य निर्वाचित भएपछि खुशी हुँदै उनले,‘निर्वाचनको समयमा मतदातासमक्ष गरेको प्रतिबद्धता पूरा गर्न सधै दत्तचित्त भएर लाग्न सुझाव दिएका छन् । प्रतिनिधि सभा सदस्यमा विजयी भएपछि सक्षिप्त रुपमा प्रतिक्रिया दिँदै उनले भने, ‘आफ्नो क्षेत्रमा रहेको गरिबी र पछौटेपन हटाउन सक्रिय साथ लाग्ने छु ।’

२२ जना उम्मेदवारलाई पछाडी पार्दै उप्रेतीलाई पहिलो संसदीय यात्रामा सफलता मिलेको छ । उक्त निर्वाचनमा मकवानपुर–२ नम्बरमा ९१ हजार २ सय ४१ मत खसेको थियो ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully