पार्टीको विरासत जोगाउन सफल भए रमेश कुमार मल्ल

तत्कालीन समयमा प्रधानमन्त्री पुष्पकमल दाहालको स्वकीय सचिव भएपछि उनी चर्चामा आएका थिए भने राजनीतिमा थप सक्रिय भएका थिए ।

फाल्गुन २४, २०८२

विप्लव महर्जन

Ramesh Kumar Malla succeeded in preserving the party's legacy

सल्यान — प्रतिनिधि सभामा एक निर्वाचन क्षेत्र रहेको सल्यानमा नेकपाका उम्मेदवार रमेशकुमार मल्ल निर्वाचित भएका छन् । रास्वपाका ललितकुमार चन्दलाई पराजित गर्दै उनले जिल्लामा नेकपाको जित निकालेका हुन् । 

चन्दलाई २ हजार बढी मतले पछि पार्दै मल्लले जित हासिल गरेका हुन् । मुख्य निर्वाचन कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार नेकपा उमेदवार रमेश कुमार मल्लले २३ हजार १ सय ८९ मत ल्याएका थिए भने रास्वपा उमेदवार ललित कुमार चन्दले २० हजार ९ सय ४ मत ल्याएका थिए । 

निर्वाचनमा विजयी भएपछि मल्लले सबैको खुल्दुली त मेटाए नै पछिल्लो समयमा विभिन्न किसिमको चुनौतीलाई पार गर्दै पार्टीकोसमेत विरासत जोगाउन सफल भए । २०५० मा १८ वर्षको उमेरदेखि अखिल क्रान्तिकारीको सदस्य पदबाट राजनीति सुरुवात गरेका उनको सांसद बनेर जिल्लाबासीको लागि केही गर्ने चाहना ३० वर्षपछि पूरा भएको नेकपाका नेताहरु बताउँछन् । पहिला नेकपा माओवादी पार्टीको केन्द्रीय सदस्य रहेका उनी पार्टी एकतापछि पछि गठन भएको नेकपाका पनि केन्द्रीय सदस्य थिए ।

पार्टी एकता पछि नै उनले नेकपाबाट निर्वाचनमा पहिलो पटक भाग लिने अवसर पाएका थिए । 

२०३५ माघ २८ गते बाबु तिलु मल्ल र आमा विमी कुमारी मल्लको कोखबाट कुमाख गाउँपालिका–५ बाल्लेमा जन्मिएका मल्लले वर्षको उमेरदेखि २०५० मा अखिल क्रान्तिकारीको सदस्य लिएर राजनीतिमा लागेका थिए । २०५४ मा नेकपा माओवादीको पूर्णकालीन सदस्य, २०५७ मा जिल्लाको अखिल क्रान्तिकारी अध्यक्ष, २०५८ मा पश्चिम विस्तार अभियानमा सेती महाकाली सरुवा, तत्कालीन जनयुद्धमा चार वर्ष सेती महाकालीका विभिन्न जिल्लामा पार्टी र संगठनको जिम्मेवारी सफलता पूर्वक निर्वाह, २०६२/०६३ को जनआन्दोलनमा दाङमा युवा विद्यार्थीको नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । 

यस्तै २०७२ मा अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्ष, २०७२ मा पार्टीको केन्द्रीय सदस्य, २०८२ मा नेकपाको केन्द्रीय सदस्य रहेका थिए । २०७२ मा अखिल क्रान्तिकारीको केन्द्रीय अध्यक्ष बन्न सफल भएका थिए । २०७२ मा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा दोस्रो र तेस्रो कार्यकालमा स्वकीय सचिव भएका थिए । 

तत्कालीन समयमा प्रधानमन्त्री पुष्पकमल दाहालको स्वकीय सचिव भएपछि उनी चर्चामा आएका थिए भने राजनीतिमा थप सक्रिय भएका थिए । स्वकीय सचिव भएपछि जिल्लाको लागि केही गर्नुपर्छ भन्ने हुटहुटी बढ्दै जाँदा उनी संसदिय यात्राको सुरुवात गर्न पहिलो पटक प्रतिनिधि सभाको निर्वाचनमा होमिएको बताउँछन् । 

देश घन्टीमय भएको बेला विभिन्न चुनौती थपिए पनि निर्वाचनमा होमिएको पहिलो पटकमै उनले जित हासिल गरे । प्राथमिक तथा माध्यमिक तहको पढाई गाउँकै विद्यालयमा सकेर उच्च शिक्षाको लागि जिल्ला बाहिर गएका उनले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । 

भौगोलिक विकटताका कारण विकास निर्माणदेखि लिएर हरेक कुरामा पछि परेको सल्यानको समृद्ध विकासका लागि आफू राजनीतिमा होमिएको उनले बताए । विजयी भएका उनले जनताको सामु परेका बाचा र प्रतिबद्धत्ता पूरा गर्न केही कसर बाँकी नराख्ने जानकारी गराए । उनले भने, ‘देश घन्टीमय भएपछि अहिले ठूलो चुनौती थपिएको छ । चुनौतीका बाबजुद पनि म आफ्नो बाचा पूरा गर्न कुनै कसर बाँकी राख्ने छैन ।’

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully