नेमकिपाको गढ भत्काउने रुकेश को हुन् ?

दुई वर्षअगाडि क्षेत्रीय सचिव हुँदै उनी दुई महिनामै क्षेत्रीय सभापति भए । त्यसको ६ महिनापछि उनलाई रास्वपाले भक्तपुर जिल्ला कार्यसमितिमा सचिवको जिम्मेवारी दियो ।

फाल्गुन २४, २०८२

सुन्दर शिल्पकार

Who is Rukesh, who destroyed the stronghold of NEP?

भक्तपुर — भक्तपुर-१ मा नेपाल मजदुर किसान पार्टीको किल्ला भत्काएर राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रुकेश रन्जितले जित हासिल गरे । उनले ३३ हजार ४ सय ३६ मत प्राप्त गरी विजयी हुँदा निकतटम प्रतिद्वन्द्वी नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले २८ हजार १ सय ४७ मत प्राप्त गरे ।

२०३६ साउन ४ मा भक्तपुरको नासमनामा जन्मिएका रुकेश पेसाले इलेक्ट्रोनिक्स व्यवसायी हुन । २०५४ सालमा भक्तपुर बहुमुखी क्याम्पसवाट नेकपा एमाले निकट अनेरास्ववियुबाट विद्यार्थी राजनीति सुरु गरेका उनी त्यस समयमा स्ववियुको उपसभापति निर्वाचनमा उम्मेदवार थिए । तर जित हात पार्न सकेनन् ।

२०५४ साल अगाडिबाट नै एमालेका क्रियाशील सदस्य रुकेशले पढाइसँगै व्यवसायलाई पनि बढाए । सामाजिक अभियानमा पनि जोडिए । उनी आजभन्दा १४ वर्ष अगाडि भक्तपुर इलेक्ट्रोनिक व्यवसायी संघमा आबद्ध थिए । ८ वर्ष अगाडिबाट उनी लायन क्लब र ब्लड डोनर एसोसिएसनमा लागेर सामाजिक अभियानमा जोडिएका हुन् ।

उनले भारतको विनायक मिसन युनिभर्सिटीबाट एमबीए अध्ययन पूरा गरी हाल काठमाडौंको मीनभवनस्थित नेपाल कमर्स क्याम्पसबाट एमबीएस अध्ययन गरिरहेका छन् ।

१२ वर्षअगाडिबाट भक्तपुर उद्योग वाणिज्य संघ प्रवेश गरेका उनले ५ कार्यकाल विभिन्न पदमा रहेका सेवा गरेका छन् । संघमा २ कार्यकाल कार्यसमिति सदस्य र मेला उपसमितिमा १ कार्यकाल तथा सामाजिक सेवा समितिमा २ कार्यकाल पूरा गरेका उनी गत पुसमा सम्पन्न भक्तपुर उद्योग वाणिज्य संघको जिल्ला अधिवेशनबाट उनी महासचिव पदको जिम्मेवारीमा छन् ।

२०८० सालको अन्त्यतिर रास्वपा प्रवेश गरेका रुकेश भक्तपुर नगर अधिवेशन सम्पन्न गरी पार्टी विस्तारमा लागेका थिए । रास्वपा भक्तपुर नगर सचिववाट सुरु भएको राजनीतिक यात्रा यतिकै रोकिएन । उनी २ वर्ष अगाडि क्षेत्रीय सचिव हुँदै दुई महिनामै क्षेत्रीय सभापति भए । त्यसको ६ महिनापछि नै उनलाई भक्तपुर जिल्ला कार्यसमितिको सचिवको जिम्मेवारी दिइएको थियो ।

रास्वपाले उनलाई भक्तपुुर-१ बाट उम्मेदवार बनाउने निर्णय गर्‍यो । फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनले नेमकिपाको गढ रहेको भक्तपुर-१ मा जित हासिल गरे । नेमकिपाका सचिव तथा निर्वतमान प्रतिनिधिसभा सदस्य प्रेम सुवाललाई उनले ५ हजार २ सय ८९ मतान्तरले जितेका हुन् ।

सुन्दर

Link copied successfully