विद्यार्थी राजनीति गर्दै राजनीतिमा उदाएका जनकराजको दोस्रो संसदीय यात्रा

स्नातकोत्तर तह उत्तीर्ण गिरी ०५६ सालको संसदीय निर्वाचनमा बाजुराबाट कांग्रेस उम्मेदवार बनेर विजयी हुँदै पहिलो पटक संसदीय यात्रा सुरु गरेका थिए ।

फाल्गुन २४, २०८२

अर्जुन शाह

Janakraj, who rose to prominence through student politics, makes his second parliamentary journey

काठमाडौँ — बिहीबार सम्पन्न निर्वाचनमा बाजुराबाट नेपाली कांग्रेसका जनकराज गिरी विजयी भएका छन् । उनले नेकपा एमालेका लालबहादुर थापालाई पराजित गरेका हुन् । गिरीले १७ हजार १ सय ७३ मत प्राप्त गरेका छन् भने थापाले १६ हजार ६ सय ३३ मत पाए ।

बाजुराको साविक वाई गाविस तथा हालको स्वामीकार्तिक खापर गाउँपालिकामा ०२२ पुस १५ मा जन्मिएका गिरी ०४२ मा कांग्रेस राजनीतिमा सक्रिय भएका थिए । त्यही बेला कांग्रेसले आह्वान गरेको सत्याग्रहमा कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत रहेकै बेला नेविसंघको नेतृत्व गर्दै सहभागी भएका थिए ।

पार्टी राजनीतिमा सक्रिय भएपछि उनी ०४८ मा भएको ८औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधि भएका थिए । ०५३ मा ९औं महाधिवेशनमा महासमिति सदस्य भए । स्नातकोत्तर तह उत्तीर्ण गिरी ०५६ सालको संसदीय निर्वाचनमा बाजुराबाट कांग्रेस उम्मेदवार बनेर विजयी हुँदै पहिलो पटक संसदीय यात्रा सुरु गरेका थिए ।

सांसद भएपछि उनी ०५७ मा गिरिजाप्रसाद कोइराला मन्त्रिपरिषद्मा भूमिसुधार सहायक मन्त्री नियुक्त भए । ०६२/६३ पछिको अवधिमा पार्टी राजनीतिमा ओझेल परेका थिए । हालै सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट उनी केन्द्रीय सदस्य चयन भएका हुन् ।

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully