यस पटकको निर्वाचनमा भने आफ्नै सहोदर दाइ कर्णबहादुर बुढासँग प्रतिस्पर्धा गर्दै उनले चौथो जित निकालेका हुन्। एउटै घरका दुई दाजुभाइ फरक–फरक पार्टीबाट उम्मेदवार बनेर प्रतिस्पर्धा गर्नु यसपटकको डोल्पाको निर्वाचन रोचक बनेको थियो।
डोल्पा — यस पटकको निर्वाचनमा भने आफ्नै सहोदर दाइ कर्णबहादुर बुढासँग प्रतिस्पर्धा गर्दै उनले चौथो जित निकालेका हुन्। एउटै घरका दुई दाजुभाइ फरक–फरक पार्टीबाट उम्मेदवार बनेर प्रतिस्पर्धा गर्नु यसपटकको डोल्पाको निर्वाचन रोचक बनेको थियो ।
हिमाली जिल्ला डोल्पाबाट यसपटक प्रतिनिधिसभा सदस्यमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार धनबहादुर बुढा निर्वाचित भए । प्रतिनिधिसभा सदस्यका लागि भएको यसपटकको निर्वाचनमा पनि उनले ६ हजार ८ सय २ मत प्राप्त गर्दै नेकपा एमालेका उम्मेदवार लंकबहादुर रोकायलाई १ हजार ४ सय ६ मतान्तरले पराजित गरेका हुन्।
रोकायले ५ हजार ३ सय ९६ मत प्राप्त गरेका छन्। कांग्रेसका उम्मेदवार तथा उनका सहोदर दाइ कर्णबहादुर बुढाले २ हजार ९ सय ४७ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन्। अन्य उम्मेदवारहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीका देवसिंह ऐडीले १८१ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका हरिप्रसाद डाँगीले ९२ मत, स्वतन्त्र उम्मेदवार ओमेन्द्रबहादुर केसीले ४६ मत, प्रगतिशील लोकतान्त्रिक पार्टीका विकास बुढाले २१ मत, उज्यालो नेपाल पार्टीका दिलबहादुर बिष्टले ११ मत र मितेरी पार्टी नेपालकी जुनु भण्डारीले २ मत प्राप्त गरेका छन्।
यस जितसँगै बुढा डोल्पाबाट लगातार चौथोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। यसअघि उनी २०७०, २०७४ र २०७९ सालको निर्वाचनमा पनि विजयी भएका थिए।
यस पटकको निर्वाचनमा भने आफ्नै सहोदर दाइ कर्णबहादुर बुढासँग प्रतिस्पर्धा गर्दै उनले चौथो जित निकालेका हुन्। एउटै घरका दुई दाजुभाइ फरक–फरक पार्टीबाट उम्मेदवार बनेर प्रतिस्पर्धा गर्नु यसपटकको डोल्पाको निर्वाचन रोचक बनेको थियो।
२०३१ साल फागुन ७ गते डोल्पाको काइके गाउँपालिका–२ शहरतारामा जन्मिएका बुढा २०५५ सालदेखि राजनीतिमा सक्रिय छन्। आईएड उत्तीर्ण बुढा निर्माण व्यवसायसँग पनि जोडिएका छन्। उनले प्रारम्भिक रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीति सुरु गरेका थिए। पछि २०७० सालमा नेकपा (एमाले) मा प्रवेश गरी सक्रिय राजनीतिमा लागे। सोही वर्ष भएको दोस्रो संविधानसभा सदस्य निर्वाचनमा डोल्पाबाट एमालेका उम्मेदवारका रूपमा निर्वाचित हुँदै राष्ट्रिय राजनीतिमा प्रवेश गरेका थिए।
संविधान जारी भएपछि २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि उनी डोल्पाबाट नेकपा एमालेबाट विजयी भए। २०७५ जेठमा एमाले र माओवादी केन्द्रबीच एकता भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि उनी सोही पार्टीमा आबद्ध भए। पछि एमाले विभाजन भएपछि उनी नेकपा एकीकृत समाजवादीमा आबद्ध भए।
पछिल्लो समय नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्रलगायतका दलहरू मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीबाट उनी २०८२ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवार बनेका थिए।
राजनीतिक यात्राका क्रममा उनले २०६० र २०६२ मा दुई कार्यकाल जिल्ला विकास समिति डोल्पाको सभापतिका रूपमा काम गरेका छन्। त्यसपछि राष्ट्रिय राजनीतिमा प्रवेश गरेका उनी २०७४ फागुनदेखि २०७६ मंसिर ४ गतेसम्म संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीसमेत बनेका थिए।
यससँगै २०८० साल फागुन २३ गते नेपाल सरकारको शहरी विकास मन्त्री नियुक्त भएका हुन्। त्यो समयमा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा मन्त्रिपरिषद् पुनर्गठन हुँदा उनलाई मन्त्री बनाइएको थियो। उनी नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को तर्फबाट सरकारमा सहभागी भएका थिए।
