कांग्रेस सभापति गगन थापालाई रास्वपाका अमरेश सिंह र एमालेका अमनिश यादवको मुख्य चुनौती
मलंगवा — कांग्रेस सभापति गगन थापाको उम्मेदवारीसँगै सर्लाही–४ चर्चामा छ । उनलाई जिताउन पूरै पार्टीपंक्ति प्रयासरत छ । सभापति थापा आफैंले पनि विगतमा पार्टी छाडेर अन्य दलमा लागेकाहरूलाई ‘घर फर्किन’ आह्वान गरिसकेका छन् । त्यसको सबैभन्दा धेरै प्रभाव उनी चुनाव लडेको सर्लाही–४ मै देखिन्छ ।
२०६४ मा कांग्रेस छाडेर तराई मधेश लोकतान्त्रिक पार्टी गठन गर्दा महन्थ ठाकुरसँग सर्लाहीसँगै मधेशमा ठूलो संख्यामा कांग्रेसका नेता तथा कार्यकर्ता गएका थिए । ठाकुरले २०४८ देखि २०७० सम्म ५ वटा चुनाव यही निर्वाचन क्षेत्रबाट उठेका थिए । २०४८, २०५१ र २०५६ को संसदीय निर्वाचन कांग्रेसबाट तथा २०६४ र २०७० को संविधानसभा निर्वाचन उनी तमलोपाबाट उम्मेदवार थिए ।
ठाकुरले छुट्टै पार्टी तमलोपा बनाउनु अगाडि यस क्षेत्रमा कांग्रेस, राप्रपा, नेपाल सद्भावना पार्टी, संयुक्त जनमोर्चाबीच प्रतिस्पर्धा हुँदै आएको थियो । २०६४ को चुनावबाट प्रतिस्पर्धी शक्तिहरू फेरिए । त्यसपछि दलका हिसाबले कांग्रेस र ठाकुर नेतृत्वको तमलोपा तथा शिवपूजन यादवबीच प्रतिस्पर्धा सुरु भयो । यादवले हरेक चुनावमा फरक–फरक पार्टीबाट आफू वा आफ्ना परिवारका सदस्यलाई चुनावी प्रतिस्पर्धामा उतार्दै आएका छन् ।
२०६४ मा मधेशी जनअधिकार फोरम, नेपालबाट उम्मेदवार बनेका यादवले ठाकुरलाई हराउँदै चुनाव जितेका थिए । यादवले १५ हजार ६ सय ८८ मत ल्याउँदा ठाकुरको मत १५ हजार ४ सय १६ थियो । २ सय ७२ मत अन्तरले ठाकुरले पराजय भोगेका थिए । कांग्रेसमा रहँदा लगातार तीन चुनाव जितेका ठाकुर पराजित भएका थिए । कांग्रेसका उम्मेदवार अमरेशकुमार सिंहले तेस्रो स्थान ल्याएका थिए । त्यतिबेला उनले प्राप्त गरेको मत ११ हजार ९ सय ७१ थियो । २०७० मा दोस्रो संविधानसभा निर्वाचनमा पनि यिनै तीन जनाबीच प्रतिस्पर्धा थियो । सिंहले जित हात पारे । यादव दोस्रो र ठाकुर तेस्रो स्थानमा रहे ।
२०७४ को चुनावमा ठाकुरले सर्लाही छाडे । उनी महोत्तरीबाट चुनाव जितेर संसद्मा पुगे । सर्लाही–४ मा ठाकुरको स्थानमा राकेशले उम्मेदवारी दिए । उनी ठाकुर नेतृत्वको राजपाबाट उम्मेदवार थिए । त्यसबेला पनि सिंह, मिश्र र यादवबीच नै प्रतिस्पर्धा थियो । तर, अन्तिम समयमा कूटनीतिक राहदानी दुरुपयोगको आरोप प्रमाणित भएकाले यादवको उम्मेदवारी सर्वोच्च अदालतको आदेशबाट खारेज भयो । प्रतिस्पर्धा दुईपक्षीय भइदियो । सिंहले २९ हजार ६ सय ७५ मत ल्याउँदा मिश्रले २८ हजार १ सय ३६ मत ल्याए । तेस्रो स्थान ल्याएका नेपाली जनता दलका तेजनारायण यादवले ४ सय ६८ मत ल्याए ।
२०७९ मा फेरि त्रिपक्षीय प्रतिस्पर्धा नै भयो, सिंह, यादव र कांग्रेसबीच । सिंहले कांग्रेसको टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिए । राहदानी मुद्दामै दोषी प्रमाणित भएका कारण यादव उम्मेदवार हुन पाएनन् । उनी आबद्ध रहेको माओवादीले कांग्रेससँग गठबन्धन गरेको थियो । ठाकुर नेतृत्वको लोसपा पनि त्यही गठबन्धनमा थियो । यादवले गठबन्धनलाई बेवास्ता गर्दै आफ्नी छोरी मधुमालाकुमारी यादवलाई स्वतन्त्र उठाए । कांग्रेसबाट नागेन्द्रकुमार राय उम्मेदवार थिए । ठाकुर नेतृत्वबाट उम्मेदवारी थिएन । मत तीनतिर बाँडियो ।
गठबन्धनअनुसार कांग्रेस उम्मेदवारले लोसपाको मत पाउनुपर्ने थियो । तर, पार्टीको उम्मेदवार नभएपछि लोसपाको मत सिंह, यादव र राय सबैले पाए । जातिगत हिसाबमा यस क्षेत्रमा सबैभन्दा बढी मतदाता यादव समुदायको छ । पार्टीगत मतबाहेकका उक्त समुदायको मत कांग्रेस उम्मेदवार नागेन्द्रकुमार र मधुमालामा बाँडियो । यादव इतरका मतको ठूलो हिस्सा सिंहले पाए । त्यसले उनलाई जित्नलाई सजिलो बनाइदियो । कांग्रेस उम्मेदवार राय उक्त क्षेत्रका लागि नयाँ थिए । गठबन्धन भनिए पनि कसिलो थिएन । त्यसमाथि प्रतिस्पर्धामा अर्का स्वजातीय उम्मेदवार थिए ।
त्यस प्रतिकूलताका बाबजुद कांग्रेसका रायले राम्रो मत ल्याएका थिए । उनी १ हजार ७ सय ६४ मत अन्तरले पराजित भए । ‘त्यतिबेला र अहिलेको परिस्थितिमा धेरै भिन्नता आएको छ । सिंगो पार्टी एकजुट छ । त्यसमाथि महन्थ ठाकुरजीसँग जोडिएका उनको लिगेसी बोकेका सबैजसो नेता, कार्यकर्ता हामीसँग जोडिइसक्नुभएको छ,’ कांग्रेस कार्यकर्ता अजितकुमार सिंहले भने, ‘कांग्रेस थप बलियो भएको छ ।’ उनले पनि सभापति थापाले राम्रो मतान्तरले जित्ने दाबी गरे ।
कांग्रेसमा जसपा, एमाले, माओवादी र जनमत पार्टीका नेता तथा कार्यकर्ता पनि आएको सिंहले बताए । जसपाका नेताहरू केदारनन्दन चौधरी, मनीष मिश्रा, केदार सिंह, अभय सिंह, सुशील मिश्रलगायत दर्जनौं प्रभावशाली मानिएका व्यक्तिहरू कांग्रेसमा आएको उनको भनाइ छ । त्यस्तै, अघिल्लो पटक स्वतन्त्रबाट उम्मेदवार हुँदा पनि अमरेश सिंहलाई साथ दिएका कमलेश्वर सिन्हादेखि रविनन्दन चौधरीसम्मले उनको साथ छोडेका छन् ।
कांग्रेस नेता उपेन्द्र कुशवाहा पार्टी सभापतिको सर्लाही आगमनसँगै समर्थन जनाउने, पार्टीमा फर्किने र जोडिनेहरूको संख्या बढेको बताउँछन् । ‘मतदाताको आकर्षण कांग्रेसप्रति बढेको छ । अझ प्रधानमन्त्रीकै प्रस्तावित व्यक्ति क्षेत्रबाट उम्मेदवार भएपछि मतदाताहरू उत्साहित पनि छन्,’ उनले कान्तिपुरसँग भने, ‘पार्टी एकढिक्का भएर चुनावमा होमिएको छ । अन्य पार्टीका साथी पनि प्रत्येक दिन हामीसँग जोडिँदै हुनुहुन्छ ।’
विगतको चुनावजस्तै यस पटक पनि यहाँ त्रिपक्षीय प्रतिस्पर्धा नै देखिएको छ । पूर्वसंविधानसभा सदस्य शिवपूजनले यस पटक आफ्ना छोरा अमनिशकुमार यादवलाई एमालेको टिकटबाट उम्मेदवार बनाएका छन् । २०६४ यताको सबै चुनावमा उनी आफैं उठ्दा वा परिवारबाट उठ्दा फरक–फरक चिह्नबाटै उम्मेदवार भएका छन् । जसपाबाट रामेश्वर राय यादव र नेकपाबाट रजनीश राय उम्मेदवार छन् ।
सर्लाही–४ मा सबैभन्दा बढी २७ हजार हाराहारी यादव समुदायका मतदाता छन् । तीनै उम्मेदवारको मुख्य ‘भोट बैंक’ त्यसैलाई मानिएको छ । मत तीनै जनामा राम्रो संख्यामा बाँडिएमा अहिले प्रतिस्पर्धामा मानिएका एमाले उम्मेदवार अमनिश पछाडि पर्न सक्ने अनुमान पनि छ । त्यस्तै, दलित भोटमा उनको पकड पनि खुकुलो भएको देखिन्छ । त्यो भोट रास्वपातिर ‘सिफ्ट’ भइसकेको रास्वपाका उम्मेदवार अमरेशकुमार सिंह दाबी गर्छन् । यस क्षेत्रमा रास्वपाको संगठन छैन । अन्य पार्टीका प्रभावशाली व्यक्ति जोडिएको पनि देखिँदैन । तर, सिंह भने जनताको मनमा परिवर्तनले जरो गाडेको बताउँछन् ।
‘मधेशको छोरा बालेन प्रधानमन्त्री हुँदै छन् । मधेशी जनताले यसलाई हेरेका छन्,’ उनले भने, ‘तपाईं जता पुग्नुस् घन्टी र बालेनको पक्षमा मतदाता खुलेका छन् ।’ उनले आफ्नो जितको मुख्य आधार नै जनताले चाहेको परिवर्तन तथा रास्वपाप्रति देखिएको जनलहरलाई बताउँछन् । कांग्रेसमा जति मानिस प्रवेश गरेका छन्, त्यसले आफूलाई फाइदा नै पुगेको उनले दाबी गरे । ‘मत नभएका नेता उता गएका हुन्,’ उनले भने, ‘आममतदाता घन्टीकै पक्षमा छन् ।’
सधैं फरक–फरक पार्टीलाई समातेर स्थानीय राजनीतिमा जमेका पूर्वसभासद यादव आफ्नो छोरा अमनिशले जित्ने दाबी गरेका छन् । ‘म र मेरो परिवार गाउँमा बस्छौं । यहाँका नागरिकलाई आइपर्ने हरेक सुख–दुःखमा हामी साथमा रहन्छौं,’ उनी भन्छन्, ‘जनताले त्यो बुझेका छन् । गरिब, दलित, शक्तिबाट प्रताडित सबैको मत मेरो छोराले पाउँदै छ ।’ आफू जता गए पनि १२ देखि १४ हजार मत आउने उनको दाबी छ । त्यसमाथि एमालेको सांगठनिक मत थपिने, जेन–जी आन्दोलनको भावनाअनुसार जेन–जीलाई उम्मेदवार बनाएकाले युवाको मत थपिने उनी बताउँछन् । यस पटक होलीको भोलिपल्टै मतदान रहेकाले देश–विदेशमा रहेका युवा ठूलो संख्यामा घर फर्किने भन्दै युवाको मत जेन–जी उम्मेदवारले पाउने उनको दाबी छ ।
सिंह र यादवको राजनीतिक टकरावका कारण पछिल्लो १८ वर्षदेखि यो क्षेत्रले बदनामी कमाउन पुगेको भन्दै एक थरी मौन जनमत थापाको पक्षमा पनि छ । त्यस्ता मतदाताहरू खुलेका छैनन् । तर, महन्थ ठाकुरले जितुन्जेल कायम रहेको क्षेत्रको प्रतिष्ठा खस्केकामा उनीहरू चिन्तित देखिन्छन् । सर्लाही–४ बलराका पूर्वशिक्षक जितेन्द्र सिंह यहाँ दलको सिद्धान्त वा कुनै दलविशेषको लहरले मात्रै कसैलाई चुनाव नजिताउने बताउँछन् । सदरमुकाम मलंगवा वा पूर्व–पश्चिम राजमार्गबाट टाढा भएकाले विगतदेखि नै यो क्षेत्र पछाडि परेको उनले बताए ।
क्षेत्रका जनताले विकाससँगै रोजगारी, किसानले उत्पादनको बजारसम्मको सहज पहुँच उचित मूल्य, सिँचाइ सुविधा, बीउबिजन, मलको उपलब्धता खोजिरहेको उनले उल्लेख गरे । सुक्खामा सिँचाइ अभाव तथा वर्षामा बाढीले कतिपय गाउँका किसान सधैंभरि मारमा छन् । त्यसबाट छुटकारा दिलाउन सक्ने नेतृत्वको खोजीमा स्थनीय रहेको उनले बताए । त्यसबाहेक उम्मेदवारसँगको सामीप्य, जातीयता, व्यक्तिगत सुरक्षा, व्यक्तिगत आवश्यकतामा साथ–सहयोग दिन सक्ने धेरै पक्ष विचार गरेर मतदाताले आफ्नो मत दिने गरेको उनले सुनाए । सरकारी सेवामा यहाँका मानिसहरू प्रशस्तै छन्, निजी क्षेत्रमा पनि जागिरेको संख्या धेरै छ । पढेलेखेका प्रशस्तै बेरोजगार युवा छन् । त्यस्तै, वैदेशिक रोजगारीमा गएकाको संख्या पनि उल्लेख्य छ ।
‘सबैको रोजाइ आआफ्नै हुन्छ । कोही बालेन र घन्टीको लहरलाई जोड दिइरहेका छन् । धेरैले गगन थापा जितेर गए यस क्षेत्रको विकासको मामिलामा कायापलट हुने मान्यता राख्छन् । थापाकै कारण जागिरेले केन्द्रमा पहुँच स्थापित हुन सक्ने र बेरोजगारले काम पाउने आशा पनि राखेका छन्,’ सिंह भन्छन्, ‘अर्कोतिर, स्थानीय अप्ठ्यारा, झैझगडामा सधैं उपलब्ध भइरहने उम्मेदवार रोज्नेको संख्या पनि ठूलो छ । त्यही भएर चुनावमा धेरै फ्याक्टरले काम गर्नेछ ।’ मधेशी–पहाडी वा बाहिरिया भन्ने नाराले यो चुनावलाई नछोएको उनको बुझाइ छ ।
