धरान फोटो खिच्ने सहर मात्र होइन, संस्कृति र नेतृत्वको सहर हो : आङदम्बे

सोमबार धरानमा आयोजित कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेसका सह-महामन्त्री भीष्मराज आङदम्बेले पछिल्लो समय धरानमा ‘सेलिब्रेटी शैली’को हल्काफुल्का राजनीति हावी भएको बताए ।

फाल्गुन १८, २०८२

एलिना राई

धरान — कांग्रेसका सह-महामन्त्री भीष्मराज आङदम्बेले धरानलाई केवल फोटो खिच्ने र सेलिब्रेटी देखाउने सहर मात्र नभई इतिहास र संस्कृति जोगाएर बसेको साझा सहरको रूपमा बचाउनुपर्ने बताएका छन् ।

सोमबार धरानमा आयोजित कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै उनले पछिल्लो समय धरानमा ‘सेलिब्रेटी शैली’को हल्काफुल्का राजनीति हावी भएकोमा टिप्पणी गर्दै भने, ‘धरान फोटो खिच्ने स्थान मात्र होइन, इतिहास र संस्कृति जोगाएर बसेको शहर हो । सस्तो लोकप्रियता र मनोरञ्जनात्मक शैलीको राजनीतिले यहाँको जिम्मेवार नेतृत्वलाई कमजोर बनाउँछ ।’

उनले धरानलाई बहुजातीय र बहुसांस्कृतिक त्रिवेणीको रूपमा वर्णन पनि  गरे । उनले भने, ‘धरान कुनै जाति, धर्म वा समूहको पेवा होइन, साझा फूलबारी हो । यसलाई जोगाउनु सबैको साझा दायित्व हो ।’ फेसबुक, टिकटक वा फोटो सेसनको राजनीतिले होइन, धरातलीय यथार्थमा उभिएर भूमिका निर्वाह गर्नुपर्ने उनले बताए । विकास र संस्कृतिबीचको सन्तुलन आवश्यक रहेको पनि उनले बताए ।

२१ फागुनको निर्वाचनलाई केवल पार्टी वा व्यक्तिको चुनाव नभई राष्ट्रिय स्वाधीनता र सांस्कृतिक पहिचान जोगाउने वा पराधीन बन्ने निर्णायक परीक्षा भएको उनले बताए । आङदम्बेले पार्टीभित्र युवा पुस्ताले भ्रष्टाचार, नातावाद र राजनीतिक विकृतिविरुद्ध उठाएको विद्रोहलाई आत्मसात् गर्दै नयाँ नेतृत्व निर्माण गरेको बताए । उनका अनुसार कांग्रेस अब केवल पुरानो स्मृतिको पार्टी नभई अनुभव र नवीन सोचको संगम बनेको छ । विशेष महाधिवेशनबाट पार्टीमा हराएको आत्मविश्वास फिर्ता भएको उनले दाबी गरे ।

एलिना राई एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully