हेलिकोप्टरबाट ३ दिन लगाएर पुर्‍याइयो उपल्लो डोल्पामा निर्वाचन सामग्री र कर्मचारी 

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डोल्पामा ६ उम्मेदवार चुनावी मैदानमा छन् ।

फाल्गुन १८, २०८२

रामचन्द्र न्यौपाने

Election materials and staff were delivered to Upper Dolpa by helicopter in 3 days

डोल्पा — उपल्लो डोल्पाको डोल्पोबुद्व र छार्काताङ्सोङ् गाउँपालिकाकाका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री र कर्मचारी पुगेका छन् । हेलिकोप्टरमार्फत ३ दिन लगाएर दुई पालिकाका १२ वटै मतदान केन्द्रमा निर्वाचन सामग्री र कर्मचारी पठाएको प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी दिइन् ।

उनका अनुसार शे-फोक्सुण्डो गाउँपालिकाका ८ वटा मतदान केन्द्रमा पनि निर्वाचन सामग्री र कर्मचारी पठाइसकिएको र बाँकी रहेका सोही पालिकामा पर्ने कराङ्, साल्दाङ् र धुङ्दारमा मंगलबार बिहान हेलिकोप्टरबाट पठाउने छ ।

उपल्लो डोल्पामा आज बिहानैदेखि हेलिकोप्टर उडान गर्दा पनि दिउँसोदेखि तीव्र बेगमा हावा लाग्न थालेपछि सबै उडान हुन नसकेको प्रजिअ हमालको भनाइ छ । तल्लो डोल्पामा पर्ने ४७ वटा मतदान केन्द्रमा निर्वाचन सामाग्री र कर्मचारी पुगिसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

डोल्पामा स्थायी र अस्थायी गरेर कुल ७० वटा मतदान केन्द्र छन् भने तीन सय ८३ जना कर्मचारी खटाइएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र एक मात्र रहेको डोल्पामा कुल २४ हजार १ सय १५ मतदाता रहेका छन् । जसमा महिला १२ हजार १ सय ८७ र पुरुष ११ हजार ९ सय २८ रहेका छन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँ ६ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

रामचन्द्र न्यौपाने रामचन्द्र न्याैपाने कान्तिपुरका डाेल्पा संवाददाता हुन् ।

Link copied successfully