तापक्रमसँगै यहाँ चुनावी सरगर्मी मात्रै बढिरहेको छैन, मतदाताहरू तीखा प्रश्नहरूसहित उम्मेदवारहरूसँग भेटिरहेका छन् । उम्मेदवारहरू मतदाताका कडा प्रश्नहरूको सामना गर्दै हिँडिरहेका छन् ।
What you should know
बहरथवा, सर्लाही — बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले महेन्द्र राजमार्ग र आसपसासका चोकमा रोड शो गरिरहँदा सर्लाही ४ का विभिन्न दलका ३८ उम्मेदवारहरु घरदैलोमा व्यस्त थिए । शाहले सर्लाही, बारा, पर्सामा पर्ने राजमार्गको चोक र भित्री सहरमा घण्टी बजाउँदै, सर्वसाधारणलाई अभिभादनको हात हल्लाउँदै यात्रा गरे । उनको यो दौडधुपले यहाँको चुनावी माहोल तताउन बल पुर्याएको छ । राजमार्गभन्दा दक्षिणपश्चिमतिर सर्लाही–४ मा हेभिवेट उम्मेदवारको प्रतिस्पर्धा त्योभन्दा रोचक देखिन्छ ।
सर्लाही–४ मा पुगेपछि कांग्रेस, एमाले, नेपाल कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत, जनता समाजवादी नेपालका उम्मेदवारको चुनाव प्रचारप्रसार पृथक देखिन्छ । यो क्षेत्रमा सामान्य घरदैलो मात्र छैन, चुनाव प्रचार सामग्रीले चोक र टोल रङ्गिएका छन् ।
यहाँ चुनावी सरगर्मी मात्रै बढिरहेको छैन, मतदाताका तीखा प्रश्नहरुसहित उम्मेदवारहरुसँग भेटिरहेका छन् । उम्मेदवारहरु मतदाताका कडा प्रश्नहरुको सामना गर्दा हिडिरहेका छन् ।
यो क्षेत्रका मतदाताहरु नयाँ र पुरानो उम्मेदवार को हुन भनेर खासखुस गरिरहेको सुनिन्छ ।
यो क्षेत्रमा कांग्रेस सभापति गगन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं पूर्व सांसद अमरेशकुमार सिंह, एमालेका अमनि यादव, नेकपाका रजनीश राय, जसपा नेपाल उम्मेदवार रामेश्वर राय यादलगायत ३८ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
‘अबकी बार गगन सरकार र अबकी बार बालेन सरकार’ को नारा सर्लाही ४ मा मात्रै नभएर आसपासका निर्वाचन क्षेत्रमा पनि सुनिन्छ ।
बिहीबार कांग्रेस सभापति एवं सर्लाही–४ का उम्मेदवार गगन थापा चर्किदै गएको चुनावी मौसमको सामना गर्दै बहरथवा नगरपालिकाका वडाहरुमा मत मागिरहेको अवस्थामा भेटिए । बरहथवा–१ मा थापाको प्रतिबद्धता ध्यानपूर्वक सुनिरहेका थिए, २० वर्षे लक्ष्मण सहनी ।
‘हामी युवाका लागि के कुरा गर्दा रहेछन् ? यसमै मेरो चासो छ,’ कलेज पढ्दै गरेका उनले भने, ‘भ्याएसम्म सबैका कुरा सन्छु । अनि मन परेको व्यक्तिलाई भोट हाल्छु ।’
बरहथवा चोकमै भेटिए बिलाश महतो । उनले मल, बिउ, सिँचाइ र बाग्मती नदी कटानका समस्यासँग आफू जुधिरहेको बताए । ‘गाउँको बोली काठमाडौं पुर्याउने र विकास गाउँ ल्याउने उम्मेदवारको खोजिमा छन् । देशले परिवर्तन खोजेको छ । गाउँले विकास खोजेको छ । त्यही गर्नेलाई भोट हाल्ने छु,’ उनले भने ।
बरहथवा-१५ पिपराभित्तामा खाजा पसल गरिरहेकी रीतादेवी मानन्धर गरिखाने तालिम आवश्यक भएको ठान्छिन् । मुलुकमा नयाँ र पुराना दल र तिनका उम्मेदवारको बहस चलिरहेका बेला उम्मेदवारनै प्रमुख भएको बताइन् ।
‘नयाँ हुँदैमा सबै विकास भइहाल्ने, पुराना हुँदैमा केही नगर्ने भन्ने होइन । उम्मेदवार राम्रो चाहियो,’ उनले थपिन् । पिरराभित्ता चोकमा विभिन्न दलका मतदाता भेटिए । एउटै चौतारोमा बसेर चुनावको लेखाजोखा गरिरहेका उनीहरुले बहरथपा क्षेत्रमा मुख्यगरी किसान र बाग्मती नदीको कटानको मुख्य समस्या भएको सुनाइन् । भौतिक पूर्वाधारको विकास क्रमशः भइरहेको भए पनि मतदाताको अपेक्षा धेरै भएको बताइन् ।
‘हाम्रो गाउँमा विकास नभएको हो र ? क्रमशः भएकै छ,’ सरकारी सेवाबाट अवकाश लिएका श्यामशरण चौधरीले भने, ‘तर चुनावी प्रतिस्पर्धामा गरेका वाचा पूरा भएकै छैनन् । त्यसको हिसाबकिताब मतदाताले मागिरहेका छन् ।’
कांग्रेस उम्मेदवार थापाले सर्लाही–४ मा नयाँ उम्मेदवारको रुपमा उत्साहित रुपमा घरदैलो अभियानमा लागिरहेको बताए । ‘मेरो लागि यो भूगोल पनि नयाँ हो । मतदाताको लागि पनि मन नयाँ हो । त्यसैले एउटा आकर्षण पनि छ । एउटा उत्साह पनि पनि छ कतिपय कौतुहलता पनि छ,’ उनले भने ।
‘त्यसैले केही केही एकदमै सजिलो पनि छ केही अप्ठ्यारोहरु पनि छन्’ उनले थपे, ‘तर म पहिलो पटक निर्वाचन लडेको जस्तै एकदम उत्साहित भएर अभियानमा सहभागी भैरहेको छु ।’ मतदाताले आफूसँग अलि फरक ढंगले जिज्ञासा राखिरहेको बताए ।
‘एउटा त राष्ट्रिय राजनीतिको बारेमा जसको चासो र र जसले यसको बारेमा जानकारी राख्नुहुन्छ । उहाँहरुको म सँगको अपेक्षा अलिकति भिन्न छ । राष्ट्रिय राजनीतिको अहिलेको स्थितिमा एउटा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सकोस् भन्ने अपेक्षा पाउछु मँ । तर, राष्ट्रिय राजनीति विषयभन्दा पनि यहाँ पनि स्थानीय विषयहरु नै प्राथमिकताका विषयहरु छन्,’ थापाले आफ्नो अनुभव सुनाए ।
यो क्षेत्र पूर्वाधार विकासमा पनि एकदमै धेरै पछाडि परेको र शिक्षा स्वास्थ्य लगायतका विषयहरुमा पनि असाध्यै पछाडि उनले सुनाए । ‘नदीले दुख दिएको ठाउँ हो । उखु, आलु किसानका समस्याहरु छन् । यिनै कुराहरुमा उहाँहरुको मैले यी विषयहरुलाई सम्बोधन दिए हुन्थ्यो भन्ने एउटा अपेक्षा छ । मप्रति पनि एउटा भरोसा पाउँछु ।’
मतदाताका प्रश्नहरु आउनु स्वभाविक भएको उल्लेख गदै विगतमा कति भयो ? भएन ? त्यो समीक्षा गर्नेबेला यही भएको उनको भनाइ छ । ‘नयाँ भनेको पार्टी होइन, उम्मेदवार राम्रो भन्ने रुपमा मतदाताले बुझेको पाएँ । मैले देशैभरि २३ र २४ गते पछि दलहरु आफूलाई पहिला बदलेर आउन् र पुराना गलत अभ्यासहरु सबै कुरा छोडेर आउन् । सुशासनका सन्दर्भ नयाँ प्रतिबद्धताका साथ आउनु भन्ने नै हो ।’
बरहथवा- १ खयरसालमा चुनावी दौडधुपमा भेटिएका थापाले आफूलाई नेतृत्व बदलेर मात्र आएको होइन, नागरिकको अपेक्षा अनुसार काम गर्नेगरी ठूलो एउटा फड्को मारेर आएको बताउँदै आएका छन् । ‘त्यसैले हामीलाई हिजोको नजरले हेर्नु हुँदैन तपाईंले हामीलाई त्यो भन्दा फरक नजरले हेर्नुपर्छ भन्ने कुरा नागरिकहरुको बीचमा राखिरहेको छु ।’
उनले पार्टी फेर्दै हिँडेर नयाँ नभइने तर्क समेत गरे । ‘मसँग प्रतिस्पर्धामा रहनुभएका उम्मेदवारहरु प्राय सबैले पार्टी बदलिसक्नु भएको छ । त्यो पार्टी बदलेको कुरालाई नयाँ भन्ने कि साँच्चिकै नयाँ भिजन, नयाँ नेतृत्वसहित आएकालाई नयाँ भन्ने ? तर मतदाताले पार्टी फेर्दैमा नयाँ नमान्ने रहेछन् । त्यसैले स्वाभाविक रुपमा त्यसको लाभ मलाई रहने छ । म नयाँ पुरानो भन्दा पनि मैले गर्ने के गर्न खोजेको छु भन्ने कुरामा बहस गराउन चाहिरहेको छु ।’
चुनाव जितेर गएपछि जनतामाँझ नआउने प्रणालीलाई व्यवस्थित गरी सिधा सम्पर्क प्रणाली विकास गर्न लागेको उनको भनाइ छ । शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार विकासका लागि आफूले एउटा टिमले यसमा काम गरिरहेको जानकारी दिए ।
‘मधेशमा ठूलो पूर्वाधारहरु के हुन सक्छ ? मधेशको जस्तो खास गरिकन यसको खेति किसानी जोडिएको विषयहरुको मूख्य सम्बोधन कसरी गर्ने होला ? अर्को टिमले स्वास्थ्य, अर्कोले शिक्षालाई केन्द्रित भएर काम गरिरहेको छ,’ उनले भने, ‘मेरो क्षेत्रमा नाङ्गो आँखाले हेर्दा शिक्षामा काम गर्नुपर्छ भन्न सकिन्छ । रिपोर्टले मलाई के बतायो भने यहाँको विद्यालयलाई सुधार गर्ने भनेको यहाँको पूर्वाधार बनाउनुपर्ने होइन रहेछ । यहाँको विद्यालय सुधार गर्ने भनेको विद्यार्थीको सिकाई सुधार गर्नु हो । ’
उनले घरघरमा स्वास्थ्य सेवा पुर्याउने मोडलमा काम गर्नुपर्ने बताए । ‘घर–घरमा स्वास्थ्य सेवा नपुग्ने बेलासम्म महिलाहरुका लागि स्वास्थ्य सेवा सुधार हुन गाह्रो छ,’ उनले भने, ‘मेरो निर्वाचन क्षेत्रको खास विषयहरु के हो भन्ने कुराको बारेमा राम्रो जानकारी पनि भएको छ ।’
बदलिएको कांग्रेसको भिजनलाई निर्वाचनअघि मतदातासमक्ष पुर्याउन उनले तयारी गरेका कन् । ‘निर्वाचनसम्म हामीले पार्टीको पार्टी पंक्तिमा आएको त्यो उत्साहलाई, सकारात्मकतालाई मतदातासम्म पुर्याउनुपर्नेछ,’ उनले थपे, ‘यो भन्दा अगाडिको निर्वाचनमा नेको पार्टी पंक्ति नै निराश थियो । पार्टी पंक्ति नै शिथिल थियो । आफैं नकारात्मक थियो । अहिले ठ्याक्कै उल्टो छ । तर समयको दबाब छ, छोटो समयभित्र हाम्रो आफ्ना पार्टी पंक्तिले आफ्नो विषयलाई तल पुर्याउनुपर्ने छ ।’
रास्वपा उम्मेदवार अमरेशकुमार सिंहले आफूप्रति ठूलो गुनासो नभएको दाबी गरे । ‘जनताको घरदैलोमा जाँदा अधिकांशले मलाई एउटै प्रश्न गर्छन्, त्यो हो तपाईंले कहिले पनि फोन रिसिभ गर्नु हुन्न । अन्य जनताको म प्रति कुनै गुनासो र प्रश्न नै छैन,’ उनको दाबी छ, ‘किनभने जनताको समस्या मैले लामो समयसम्म सदनमा राख्दै आए । सदनमा कपडा उतारेर जनताको लागि आवाज उठाउने मै हुँ ।’
०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा यही क्षेत्रबाट विजयी भएका सिंहले शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटोका बारेमा आफूले मात्र आवाज उठाएको बताए । ‘क्षेत्रनम्बर ४ मा मत माग्न जाँदा तपाईप्रति हाम्रो केही गुनासो छैन भन्छन्,’ सिंहले भने ।
एमाले उम्मेदवार अमनिश जनताको घरमा पुग्दा विगतमा मत दिएर जिताएकाहरुले केही गरेनन् भन्ने व्यापाक गुनासो पाएको बताए । ‘जहाँ मत माग्न पुग्छु शिक्षा, स्वास्थ्य, सडकको अवस्थाबारे सोध्छन् । क्षेत्रमा राम्रो अस्पताल राम्रो कलेज हुनुपर्यो भन्छन्,’ उनले भने, ‘पटक/पटक जितेका अमरेशकुमार सिंहले धोखा दिए । जनतासँग गरेको वाचा पूरा गरेनन्, अब तपाईंहरु पनि न झुक्याउनु होला भन्छन् मतदाताहरु । पुरानाले खै केही गरेनन् भनेर प्रश्न गर्छन् । अधिकांश मतदाताले जितेर गएपछि एक पटक पनि फर्केर नआउने गुनासो गरेका छन् । ’
सिंहले गत निर्वाचनमा २० हजार १७ मत ल्याउँदै विजयी भएका थिए । उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस माओवादी गठबन्धनका उम्मेदवार नागेन्द्र कुमारलाई १ हजार ७६५ मतान्तरले पराजित गरेका थिए । पराजित नागेन्द्र कुमारले १८ हजार २५२ मत ल्याएका थिए । नेता शिवपुजन यादवकी छोरी स्वतन्त्रबाट उठेकी मधुमालाकुमारी यादवले १४ हजार ६२२ मत प्राप्त गरिन् ।
सर्लाही–४ मा बलरा नगरपालिकाका ११, गोडैता नगरपालिकाका १२, विष्णु गाउँपालिकाका ४, बसबरिया गाउँपालिकाका ३, रामनगर गाउँपालिकाका ७, धनकौल गाउँपालिकाका ७ र बरहथवा नगरपालिकाका ७ वडा पर्छन् । विष्णु गाउँपालिका अध्यक्षमा कांग्रेसका जवाहरलाल यादव छन् । गोडैता नगरपालिका प्रमुखमा लोसपाबाट देवेन्द्रकुमार यादव विजयी भएका थिए, अहिले उनी जसपा नेपालमा छन् । बलरा नगरप्रमुख रामशंकरप्रसाद कुशवाहा तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित हुन् ।
रामनगर गाउँपालिकाका अध्यक्ष राजाबाबु यादव पूर्वसांसद शिवपूजनका कान्छा छोरा हुन् । धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साहले कांग्रेसबाट जितेका हुन् । बसबरिया गाउपालिका अध्यक्ष रामसिंहासन राय जसपामा आबद्ध छन् । बरहथवा नगरपालिका प्रमुख कल्पनाकुमारी कटुवाल एमालेबाट निर्वाचित हुन् ।
जिल्लाको दक्षिणपश्चिममा पर्ने सर्लाही–४ मा मधेशी मूलका मतदाताको बाहुल्य छ । १ लाख २१ हजार १२ मतदाता रहेको यस क्षेत्रमा जातीय समीकरणले ठूलो प्रभाव पार्छ । यहा यादव र दलित समुदायको जनसंख्या धेरै छ । सिंह (राजपुत), ब्राहृमण, कोइरी (कुशवाहा) र मुस्लिम समुदायको पनि राम्रो उपस्थिति छ ।
