सुदूरपश्चिमको ‘गेट–वे’ कैलाली–२ मा औद्योगिक क्षेत्र स्थापना मुख्य एजेण्डा

१ हजार ९३ विगाह क्षेत्रफल ओगटेको डुडेझारीलाई सुदूरपश्चिम क्षेत्रका उद्योगी व्यवसायीले औद्योगिक क्षेत्र घोषणाको माग गर्दै आएका छन् ।

माघ २९, २०८२

अर्जुन शाह

What you should know

धनगढी — पूर्वपश्चिम राजमार्ग अन्तर्गत सुदूरपश्चिमको प्रवेशद्वारका रुपमा रहेको कैलाली क्षेत्र नम्बर २ का उम्मेदवारहरुसँग यहाँका मतदाता औद्योगिक क्षेत्र स्थापनाको मुख्य माग गरिरहेका छन् ।

वर्षौदेखि कैलालीमा प्रस्तावित डुडेझारी औद्योगिक क्षेत्र यसै निर्वाचन क्षेत्र अन्तर्गत लम्कीचुहा नगरपालिका–३ मा पर्दछ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत लम्की र चिसापानीको बीच क्षेत्रमा पर्ने उक्त प्रस्तावित औद्योगिक क्षेत्र ०७५ देखि नै संघ सरकारले थन्काएर राखेको छ । 

०७५ साउनमा वन तथा वातावरण मन्त्रालयले ईआईए गर्न सहमति प्रदान गरिएको, ०७५ मंसिरमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले डिपिआरको मस्यौदासमेत स्वीकृत गरिसकेको डुडेझारी औद्योगिक क्षेत्र हालसम्म अलपत्र छ ।

१ हजार ९३ विगाह क्षेत्रफल ओगटेको डुडेझारीलाई सुदूरपश्चिम क्षेत्रका उद्योगी व्यवसायीले औद्योगिक क्षेत्र घोषणाको माग गर्दै आएका छन् । त्यहाँ ठूला, मझौला र साना गरी ३ सय १७ उद्योग स्थापना हुनसक्ने प्रारम्भिक अध्ययनले देखाएको उद्योग व्यवसायीहरु बताउँछन् । यो निर्वाचन क्षेत्रका मतदाता अहिले पनि उक्त प्रस्तावित औद्योगिक क्षेत्र कार्यान्वयनको माग गरिरहेका हुन् । 

यस क्षेत्रबाट निर्वाचित तत्कालीन सांसद झपटबहादुर रावल तत्कालीन मन्त्रिपरिषद्मा स्वीकृतिका लागि फाइल पेश भए पनि कार्यालयले थन्काएर राखेको बताउँछन् । उनी भन्छन् ‘नयाँ उद्योग स्थापनाका लागि जग्गा नपाएर उद्योगीहरु हैरान छन् । सरकारले निजी क्षेत्रलाई आफै वातावरण बनाउनुको सट्टा सम्भावनाको ढोका पनि बन्द गरेर राखेको छ ।’

लम्की क्षेत्रका नागरिक अगुवा नरबहादुर रावल निर्वाचन क्षेत्र नम्बर २ को मुख्य सवाल औद्योगिक क्षेत्र स्थापना भएको बताउँछन् । ‘कृषि क्षेत्रको विकासमा आधुनिकीकरण, शिक्षामा गुणस्तर सुधार, स्वास्थ्य सेवा पनि यस क्षेत्रका बासिन्दाले अपेक्षा गरिरहेका सवाल हुन्,’ उनले भने ।

लम्की चुहा उद्योग वाणिज्य संघका महासचिव पुष्पराज ढकाल प्रस्तावित औद्योगिक क्षेत्र डुडेझारी स्थापना मुख्य सवाल भएको बताउँछन् । उनको विचारमा डुडेझारी नबनाउने भने वैकल्पिक उद्योग ग्राम चाहियो । ‘भएका उद्योग विस्थापित हुने अवस्था छ । संरक्षण छैन,’ ढकालले भने, ‘सरकारी शिक्षामा गुणस्तर सुधार, स्वरोजगार, पूर्वाधार विकास, चिसापानी कुइने सडक विकास यस क्षेत्रका प्राथमिक माग हुन् ।’

कैलाली–२ मा पुराना पार्टीहरु एमाले, कांग्रेस, नेपाली कम्युनिष्ट पार्टीको बलियो संगठन छ । एमालेबाट जिल्ला समन्वय समितिका पूर्वप्रमुख सूर्यबहादुर थापा उम्मेदवार छन् । कांग्रेसबाट विजय स्वाँर, नेपाली कम्युनिष्ट पार्टीबाट प्रदेश सभाका पूर्वसदस्य नन्दबहादुर साउँद उम्मेदवार छन् । संगठनका दृष्टिले मजबुत रहेका तीन प्रमुख दलका उम्मेदवारहरुलाई कान्छा उम्मेदवारका रुपमा रहेका राष्ट्रि स्वतन्त्र पार्टी (रास्वपा)का केपी खनालले टक्कर दिइरहेका छन् । 

अर्कोतिर थारु समुदायको बाहुल्यता रहेको यो क्षेत्रमा रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका उम्मेदवार पतिराम चौधरी पनि मैदानमा छन् । अन्य उम्मेदावरलाई थारु समुदायको मत तान्ने चुनौती छ भने रास्वपाका खनाल पुराना दलका उम्मेदवार बीचको प्रतिस्पर्धामाझ आफूले उछिनेर अघि बढ्नेमा ढुक्क देखिन्छन् । यस क्षेत्रमा ०७९ को प्रतिनिधिसभामा साविक नाउपाका अरुण चौधरी निर्वाचित भएका थिए ।

एमाले उम्मेदवार सूर्यबहादुर थापा डुडेझारीमा औद्योगिक क्षेत्र स्थापनाको प्रयास आफुले नै गरेको दावी गर्छन् । ‘विगतमा थुप्रै प्रक्रिया चरणवद्ध रुपमा पूरा गरेर पनि अन्तिममा अड्याइएको छ,’ थापाले भने ‘म निर्वाचित भए त्यो एजेण्डा प्रमुखताका साथ उठाएर कार्यान्वयनमा लाग्छु ।’ उनी पर्यटन विकासका अन्य कार्यक्रमसमेत आफ्नो प्राथमिकतामा रहेको बताउँछन् । ‘कृषि र पर्यटन क्षेत्रमा पाँच हजार जनशक्तिलाई रोजगारी सिर्जना गर्ने बाचा गरेको छु,’ उनले भने ‘पर्यटन र कृषिको नेटवर्क चेनमा एक घर एक युवालाई रोजगारीमा जोड्न गाह्रै छैन।’ कर्णाली नदीमा जल पर्यटनको व्यवसायिक विकास गर्ने उनको भनाई छ । 

कांग्रेस उम्मेदवार विजय स्वाँर आफुले कृषि क्षेत्रको आधुनिकीरणमा लैजानु प्रमुख आवश्यकता देखेको बताउँछन् । ‘लम्की कृषिको व्यवसायिक क्षेत्र हो । यस क्षेत्रको समग्र विकासका लागि कृषिमा आधुनिकीकरण र त्यसमा रहेका तमाम समस्या समाधान हुन जरुरी छ,’ स्वाँरले भने ‘शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, औद्योगिक विकास पनि उत्तिकै प्राथमिकताका सवाल हुन् ।’

रास्वपाका उम्मेदवार केपी खनाल आफ्नो पार्टीले केन्द्रबाट नै घोषणा पत्र सार्वजनिक गर्ने बताउँछन् । ‘मेरो तहबाट भ्रष्टाचार नियन्त्रण, सुशासन कायम गर्नु र युवा स्वरोजगारीको सवाललाई मुख्य उद्देश्य बनाएको छु,’ खनालले भने ‘यस क्षेत्रमा पूर्वाधार विकास, शिक्षा र स्वास्थ्यमा पनि ब्यापक सुधारका कामहरु गर्नु छ ।’

०७४ को निर्वाचनमा प्रदेशसभा सदस्य भइसकेका नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार नन्दबहादुर साउँद सेती लोकमार्गलाई राष्ट्रिय गौरवको आयोजनामा राखेर काम गर्न पहल गर्ने बताउँछन् । डुडेझारीमा औधोगिक क्षेत्र स्थापना, चिसापानी–कुईने हुँदै अछाम जोड्ने सडक निर्माण कार्य द्रुत गतिमा अगाडि बढाउने उनको प्रतिवद्धता छ । ‘पूर्वाधार विकास अन्तर्गत बौनिया–खिमडी सडक खण्ड स्तरोन्नति, चिसापानीदेखि महेन्द्रनगरसम्म चार लेन सडक निर्माण, थारु सांस्कृतिक संग्रहालय स्थापना गर्नेछौं,’ उनले भने ‘शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको विकासमा दत्तचित्त भएर काम गर्ने प्रतिवद्धता जनाएको छु ।’  

नाउपा नेपालका उम्मेदवार पतिराम चौधरी युवा लक्षित स्वरोजगार कार्यक्रमहरु लागु गर्नु, कृषि क्षेत्रको विकासका लागि मल बीउको उचित प्रबन्ध गर्नुका साथै हिमाल, पहाड तराई कोही छैन पराई भन्ने भावनका साथ अघि बढ्ने आफ्नो उद्देश्य रहेको बताउँछन् ।

यो क्षेत्रमा ०७९ को निर्वाचनमा समानुपातिकतर्फ साविक नागरिक उन्मुक्ति पार्टीले १९ हजार ५९७, एमाले १२ हजार ८१८, कांग्रेस १० हजार १७९, माओवादी केन्द्र ७ हजार १६९, रास्वपा ४ हजार ५४, राप्रपा २ हजार ५९६ मत थियो भने एकीकृत समाजवादीले ६८९ मत ल्याएको थियो । 

यो क्षेत्रमा १६ वटा राजनीतिक दलबाट उम्मेदवार छन् । महोन्याल गाउँपालिका, लम्कीचुहा नगरपालिका, बर्दगोरिया गाउँपालिका र जानकी गाउँपालिका यस निर्वाचन क्षेत्रमा पर्दछन् । यहाँ १ लाख ७ हजार ७५५ जना मतदाता छन् । 

अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।

Link copied successfully