झापा-१ का पुर्जाविहीन परिवारको दुखेसोः जितेपछि पुर्जा लिएर आउँछु भन्थे तर कोही फर्केनन्

‘भोट माग्न आउँदा धेरैले जितेर गएपछि पुर्जा घरमै ल्याइदिन्छौँ भन्थे’, हर्कमाया आक्रोश पोख्छिन्, ‘तर जितेपछि कोही फर्किएर आए त मरिजानु ।’

फाल्गुन १८, २०८२

पर्वत पोर्तेल

The sorrow of a family without documents in Jhapa-1: They said they would bring documents after winning, but no one returned

झापा — उबेला काँकडभिट्टा सहर बनेकै थिएन । सानो बजार मात्रै थियो । जब पूर्व–पश्चिम राजमार्गको ट्रयाक खुल्यो तब यो सीमान्त बजारका सुखका दिन पनि खुले । 

काँकडभिट्टा बजार आसपास क्षेत्र जंगलामुलुक थियो । जंगली जनावरहरु दिनदहाडै दगुर्थे । करिब डेढ किलोमिटर दक्षिणको जंगल क्षेत्र फँडानीपछि बन्यो सिरान टोल । यो २०२० सालको कुरा हो । फँडानी गरेर बसोबास सुरु भएपछि जन्मिएकी हर्कमाया भुजेल अहिले ६२ वर्षकी भइन् । हर्कमाया भन्छिन्,‘हामी त्यतिबेलै जंगल फँडानी गरेर बसेका हौँ, तर अहिलेसम्म धनीपुर्जा नपाउँदाचै साह्रै दुःख लागेर आउँछ ।’ 

The sorrow of a family without documents in Jhapa-1: They said they would bring documents after winning, but no one returned

प्रतिनिधिसभा निर्वाचन २०१५ बाहेक प्रत्येक निर्वाचन उनले देखिन् । २०३८ सालको राष्ट्रिय पञ्चायत सदस्य निर्वाचनमा त मतदानै गर्न थालिन् । अहिलेसम्म उनले दर्जन निर्वाचन देखिन् । दर्जनौँ पटक मत दिएर दर्जन नेतालाई सांसद बन्न सघाइन्,  तर अहिलेसम्म कसैले पनि समस्या समाधान गर्न सकेनन् । ‘भोट माग्न आउँदा धेरैले जितेर गएपछि पुर्जा घरमै ल्याइदिन्छौँ भन्थे’, हर्कमाया आक्रोश पोख्छिन्,‘तर जितेपछि कोही फर्किएर आए त मरिजानु ।’ 

मेचीनगर वडा नम्बर ७ को सिरान टोल निर्वाचन क्षेत्र नम्बर १ मा पर्छ । यहाँका करिब ६० घर पूर्जाविहीन छन् । बसोबास गरेको आधा शताव्दी बितिसक्दा पनि उनीहरुको समस्या कुनै नेताले हल गर्न सकेनन् । ‘घर अघिल्तिर कालोपत्रे बाटोचैँ बल्ल बन्यो है,’ शान्ति उराउले भनिन्,‘कालो बाटो बनेर के गर्नु, पुर्जा छैन ।’ 

पुर्जा नहुँदा अनेकखाले सरकारी सुविधाबाट बञ्चित भएका छन् । जुन काममा पनि पुर्जा खोजिन्छ, तर उनीहरुसँग घर छ । जग्गा पनि छ, तर त्यसको आधार नै छैन । ‘घर जग्गा हाम्रो भन्नु मात्रै हो,’ अर्की स्थानीय खड्गमाया भुजेलले भनिन्,‘पुर्जा नभएपछि घर–जग्गा भएर के गर्नु ?’ 

The sorrow of a family without documents in Jhapa-1: They said they would bring documents after winning, but no one returned

यो बस्तीका स्थानीय लामो समय पानी, बत्तीबाट समेत बञ्चित भए । केही वर्षदेखिचाहिँ पानीको धारासम्म घरमै जोडेका छन् । बिजुलीको मिटर पनि कसोकसो गरेर जोडेका छन् । ‘तर बैंकमा घर जग्गा राखेर ऋण खान खोज्दा पुर्जा छैन,’ सुनिता भुजेलले भनिन्,‘पुर्जा नभएपछि कसले दिन्छ ऋण ?’ 

यहाँका बासिन्दा अधिकांश श्रमिक छन् । कोही नजिकैको राज टि-ईस्टेटमा कार्यरत छन् । कोही डकर्मी, सिकर्मी गर्छन् । कोही सिटी रिक्सा चलाएर जिविका चलाउँछन् । दिनभरि बेल्चा चलाएर गुजारा गर्नेहरु पनि धेरै छन् । 

पुर्जाविहीनताको पीडा ६२ वर्षीया हर्कमायाले मात्रै भोगेकी छैनन्, जेन-जी युवा २१ वर्षीय आदित्य भुजेललेसमेत भोगिरहेका छन् । करिब तीन पुस्तादेखि बेहोर्दै आएको यो पीडाबाट उनीहरु मुक्ति खोजिरहेका छन् । तर, मुक्तिदाताचाहिँ अहिलेसम्म भेट्नै सकेका छैनन् । ‘पुराना दल र नेताले धेरै पटक आशा देखाए,’ जोसिला युवा भुजेल भन्छन्,‘यसपटक नयाँलाई हेरौँ भन्ने लागेको छ ।’ 

पर्वत पोर्तेल पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully