रास्वपाको समानुपातिक बन्दसूचीमा व्यावसायिक पृष्ठभूमिदेखि सेलिब्रेटीसम्मको वर्चस्व

नेपालको संविधानले समानुपातिक निर्वाचन प्रणालीमार्फत उपेक्षित, उत्पीडित वर्ग, समुदाय, महिला तथा सीमान्तकृत समूहको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्य राखेको छ।

पुस १५, २०८२

दया दुदराज

From professional backgrounds to celebrities, the RSVP's proportional closed list is dominated by

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा व्यावसायिक घराना, सेलिब्रेटी तथा स्थापित प्रभावशाली अनुहारहरूको वर्चस्व देखिएको छ।

 ११० जनाको सूचीमा उद्योग–व्यवसायदेखि मनोरञ्जन क्षेत्रका चर्चित नामहरूको बाक्लो उपस्थिति छ।

सूचीमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई समूहका अध्यक्ष चन्द्र ढकालका छोरा सचिन ढकाललाई समेटिएको छ। त्यस्तै, गोल्डस्टार ब्रान्डका जुत्ता–चप्पल उत्पादन गर्ने किरण सुज म्यानुफ्याक्चर्सकी कार्यकारी निर्देशक विदुषी राणा खस–आर्य महिला क्लस्टरबाट बन्दसूचीमा परेकी छन्।

मनोरञ्जन क्षेत्रका अनुहारहरूको उपस्थिति अझ उल्लेख्य देखिन्छ। सन् २०१९ की मिस नेपाल अनुष्का श्रेष्ठ आदिवासी महिला समूहबाट सूचीको चौथो स्थानमा छन्। गायक, अभिनेता तथा टेलिभिजन होस्ट आसिफ शाह मुस्लिम पुरुष क्लस्टरबाट पहिलो स्थानमा सिफारिस भएका छन्। मुस्लिम महिलातर्फ मानव अधिकारकर्मी मोहना अन्सारी सूचीमा परेकी छन्। चर्चित गायिका सत्यकला राई र त्रिशला गुरुङले पनि समानुपातिकतर्फ स्थान बनाएका छन्।

दलितमा पनि चर्चितकै दबदबा

दलित समुदायको प्रतिनिधित्वका लागि बनाइएको क्लस्टरमा पनि स्थापित तथा चर्चित अनुहारहरूको दबदबा देखिन्छ। रास्वपाले बुझाएको १५ जना दलित उम्मेदवारमध्ये पहिलो नम्बरमा सिफारिस भएका रूपक विश्वकर्मा घिमिरे छाला रोग तथा कपाल प्रत्यारोपण विशेषज्ञ चिकित्सक हुन्। दोस्रो स्थानमा चर्चित कलाकार प्रकाश सपुत छन्।

सूचीको तेस्रो नम्बरमा पूर्व विवेकशील साझा पार्टीका उपाध्यक्ष प्रकाशचन्द्र परियार, चौथोमा सामाजिक मुद्दामा सक्रिय चिकित्सक रामजी राम छन्। त्यसपछि क्रमशः साजन विक, किशोर गन्धर्व र इन्जिनियर अरविन्दकुमार राम सूचीमा परेका छन्। दलित महिलातर्फ पहिलो स्थानमा टेलिभिजन कार्यक्रम होस्ट, मोडल तथा अभिनेत्री रीमा विश्वकर्मा सिफारिस भएकी छन्।

नेपालको संविधानले समानुपातिक निर्वाचन प्रणालीमार्फत उपेक्षित, उत्पीडित वर्ग, समुदाय, महिला तथा सीमान्तकृत समूहको प्रतिनिधित्व सुनिश्चित गर्ने उद्देश्य राखेको छ। तर विगतमा दलहरूले यही व्यवस्थालाई श्रीमती, छोरी तथा नातेदार भर्ती गर्ने माध्यम बनाउँदा प्रणाली आलोचनाको केन्द्रमा पर्दै आएको छ।

सम्बन्धित समाचार 

रास्वपा समानुपातिक सूचीमा सहिद रसिककी आमा

रास्वपाको समानुपातिक सूचीमा चितवनबाट मात्रै २१ जना

गण्डकी प्रदेशबाट रास्वपाको समानुपातिक सूचीमा १० जना

 

दया दुदराज दया कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully