टासीले आफ्नो गाउँमा स्थानीय युवासँग मिलेर ‘लिमी युनिटी मल्टिपर्पोज कोअपरेटिभ्स सोसाइटी’ सञ्चालन गर्दै आएकी छन्। उक्त सहकारीमार्फत उनले इको–टुरिज्ममा काम गरिरहेकी छन्।
What you should know
काठमाडौँ — जेन–जी प्रतिनिधिका रूपमा मन्त्रीमा सिफारिस परेलगत्तै विवादमा तानिएकी र मन्त्री बन्नबाट रोकिएकी टासी ल्हान्जोम रास्वपा पार्टीको समानुपातिक उम्मेदवारको सूचीमा परेकी छन्।
हुम्लाको लिमीमा जन्मेकी टासीले आफ्नो नाम समानुपातिक सूचीमा पर्नुलाई औपचारिक राजनीतिक यात्राको सुरुवात भएको बताइन्। उनले सूचीमा पर्नुअघि रास्वपा तथा पछिल्लो समझदारीपछि रास्वपामा आएका सबै समूहसँग विभिन्न स्वरूपमा छलफल भएको जानकारी दिइन्। समानुपातिक सूचीमा नाम पर्नुलाई आफूले ठूलो जिम्मेवारीका रूपमा हेरेको उनको भनाइ छ।
जलवायु परिवर्तन अभियन्ता टासीले आफ्नो नाम सूचीमा समेटिनुको अर्थ हुम्ला, कर्णाली र पछाडि पारिएका क्षेत्रहरूलाई परिवर्तन गर्ने जिम्मेवारीका रूपमा बुझेको बताइन्। उनले जेन–जी आन्दोलनको मर्म कायम राख्दै काम गर्ने प्रतिबद्धता जनाउँदै भनिन्, 'यो यात्रा सुरु भएसँगै अब मैले आफूलाई राजनीतिक रूपमा पनि प्रमाणित गर्नुपर्छ। अब ‘सिक्दैछु’ भन्ने छुट मलाई छैन।' आफू जन्मेको लिमी गाउँका लागि आफ्नो नाम सूचीमा पर्नु मात्रै पनि ठूलो उपलब्धि भएको उल्लेख गर्दै उनले बृहत्तर राजनीतिक हितमा काम गर्ने बताइन्।
टासीले आफ्नो गाउँमा स्थानीय युवासँग मिलेर ‘लिमी युनिटी मल्टिपर्पोज कोअपरेटिभ्स सोसाइटी’ सञ्चालन गर्दै आएकी छन्। उक्त सहकारीमार्फत उनले इको–टुरिज्ममा काम गरिरहेकी छन्। केही समयअघि कान्तिपुरसँगको कुराकानीमा उनले आफ्नो गाउँका लागि आम्दानी गर्ने सबैभन्दा राम्रो माध्यम यही भएको र यसबाट पर्यटन प्रवर्द्धन गर्न सकिएमा धेरै राम्रो हुने बताएकी थिइन्। यही कामका क्रममा उनले कोलम्बिया विश्वविद्यालयबाट हरित उद्यमशीलतासँग सम्बन्धित विषयमा फेलोसिपसमेत प्राप्त गरेकी थिइन्।
