म जनजाति भएकै कारणले होला । किनकि मेरो नाम टासी पौडेल, थापा, भट्टराई वा घिमिरे भएको भए यस्तो कुरा उठ्दैनथ्यो होला । तर म टासी ल्हान्जोम भएँ । सीमान्तकृत समुदायको भएँ । धेरैजसो नेपालीले नसुनेको ठाउँ लिमी भ्यालीबाट आएँ ।
What you should know
जेन–जीको प्रतिनिधित्व गर्दै मन्त्री बन्ने चर्चासँगै टासी ल्हान्जोम विवादमा तानिएकी छन् ।
विवाद किन र कसरी उठ्यो ? उनको पृष्ठभूमि के हो ? कान्तिपुरले टासीसँग गरेको कुराकानी :
मन्त्री हुने चर्चासँगै तपाईंको नाम र नागरिकता विवादमा परेको छ नि ?
म जनजाति भएकै कारणले होला । किनकि मेरो नाम टासी पौडेल, थापा, भट्टराई वा घिमिरे भएको भए यस्तो कुरा उठ्दैनथ्यो होला । तर म टासी ल्हान्जोम भएँ । सीमान्तकृत समुदायको भएँ । धेरैजसो नेपालीले नसुनेको ठाउँ लिमी भ्यालीबाट आएँ । त्यो कारणले पनि होला । अनुहारले पनि नेपाली जस्तो देखिन्न भनेर प्रश्न उठाउन थाले । मेरो नेपाली बोली पनि खस जस्तो त छैन । किनकि यो मेरो मातृ भाषा हैन । मेरो पहिचानमा शंका गरेर नाता खुलाउनुपर्यो भनिएको छ ।
तपाईंले कोलम्बिया युनिभर्सिटीमा पढेको र उक्त युनिभर्सिटीले तपाईको प्रोफाइलमा टिबेटियन डायस्पोरा भनेर लेखेको रहेछ । अहिले यो विवाद भएपछि तपाईंको प्रोफाइल अचानक हटाइएको छ, यो विषयमा तपाईंको भनाइ के छ ?
कोलम्बिया युनिभर्सिटीमा म एउटा फेलोसिपमा पुगेको थिएँ । त्यो हरित उद्यमशीलतासँग सम्बन्धित थियो । त्यो फेलोसिप तिब्बतियन र इथनिक तिब्बतियनका लागि पनि थियो । हिमालयन रेन्जमा बस्ने तिब्बतियन र इथनिक तिब्बतियन लगायतलाई दिइने फेलोसिपमा म र अर्का एक नेपाली अनि भारतीयसहितका फेलो थियौं । हामी सबैका बीच सांस्कृतिक रूपमा समानता थियो । युनिभर्सिटीले मेरो प्रोफाइल किन हटायो त्यो त मलाई पनि थाहा छैन । मेरो अनुहार हेरेर अनि मेरो पृष्ठभूमि हेरेर म खस नेपाली जस्तो भइनँ भन्ने कुरा छ । किन हटाएको भन्ने त मलाई थाहा छैन । म त्यहाँ हरित उद्यमशीलतासम्बन्धी सीप सिक्न पुगेकी थिएँ ।
तपाईं कति वर्षअघि त्यहाँ पुग्नुभएको थियो ?
गत वर्षको कुरा हो । साढे २ साताको कोर्स थियो । म छनोट प्रक्रिया पूरा गरेर र प्रतिस्पर्धाबाट छानिएर पुगेको हो । हामी युवा मिलेर लिमीमा एउटा सहकारी चलाएका छौं, लिमी युनिटी मल्टिपर्पोज कोअपरेटिभ्स सोसाइटी । म यसको संस्थापकमध्येको एक हो । हामीले त्यसबाट ईको टुरिज्म गरिरहेका छौं । किनभने त्यो हाम्रो गाउँका लागि आम्दानी गर्नेमध्येको सबैभन्दा राम्रो बाटो हो । पर्यटन प्रवर्धन गर्न सकियो भने धेरै राम्रो हुने रहेछ भन्ने सोचेर ।
नेपालमा अहिले मूलतः कुन राजनीतिक, गैरराजनीतिक, सामाजिक कस्तो संस्थामा काम गर्नुहुन्छ ? जेन–जी आन्दोलनमा कसरी जुट्नुभयो ?
जेन–जी आन्दोलनमा मैले हिमालका युवाको नेतृत्व गरेको छु । मैले सक्रिय भएर नेतृत्व गरिनँ भने आगामी दिनमा हाम्रो सहभागिता हुँदैन भन्ने लाग्थ्यो । त्यसैले मैले सुरुमा यसको नेतृत्व गरें । हिमाली क्षेत्रका युवा मात्रै नभएर जनजाति युवालाई नेतृत्व गर्नुपर्छ भनेर मसहितका साथीले इन्डिजिनियस जेन–जी कलेक्टिभ्स सुरु गर्यौं । ८ सेप्टेम्बरमा म दिनभर आन्दोलनमा सहभागी भएँ । भोलिपल्ट बौद्धमा हामीले सहिदको सम्झनामा मैनबत्ती बाल्यौं ।
आन्दोलनपछिका दिनमा सीमान्तकृत ठाउँका युवाको कुरा छुट्छ कि भनेर म वार्ता टोलीमा पनि सहभागी भएँ । मानिसहरूले के बुझिरहेका छैनन् भने जेन–जी भनेको कुनै एकल जाति वा समुदायको कुरा हैन । जेन–जीभित्र पनि विविधता हुन्छ । आदिवासी जेन–जी हुन्छ । हिमाली जेन–जी हुन्छ । मधेशी जेन–जी हुन्छ । दलित र मुस्लिम जेन–जी हुन्छ । सबै जेन–जीले एउटै अनुभव बोकेको पनि हुँदैन । सबै जना सरकारसँग आक्रोशित भएका थिए, पारदर्शिता नभएर । तर यहाँ सीमान्तकृत ठाउँका जेन–जीले भ्रष्टाचार र शक्तिको दुरुपयोगबाट थप दुःख पाएको छ ।
मन्त्रीका रूपमा तपाईंको नाम प्रस्ताव भएको चर्चा भयो । नाम कसरी तय भयो ? कसले प्रस्ताव गर्यो ? तपाईंसँग सल्लाह के भएको थियो ?
यस विषयमा केही पनि सरसल्लाह भएको थिएन । हामी त अरू नै साथीलाई पठाउनुपर्छ भनेर लागिरहेका थियौं । मन्त्रिमण्डलमा आदिवासी जेन–जी छुट्छन् कि भन्ने पनि डर थियो । कति जनाले कुलमान घिसिङ भएर पुगेन पनि भनेका थिए । तर उहाँ त ट्र्याक रेकर्डबाट आउनुभएको हो नि । मैले मेरो नाम कहिल्यै पनि प्रमोट पनि गरेको थिइनँ । म त अरू साथीहरू पठाउन चाहन्थें । त्यतिबेला म भारतमा थिएँ, युनिभर्सिटी अफ अक्सफोर्डको रिजनल वर्कसपमा भाग लिन । मैले तीन महिनाअघि नै यो कार्यक्रमको निम्ता पाएको थिएँ । मैले साथीबाट यो कुरा थाहा पाएँ । मैले त साथी र प्रोफेसरहरू भेट्ने भनेर फर्किने टिकट पनि ढिला गरी काटेको थिएँ ।
अहिले जेन–जीको आवाज पनि विभाजित छ, मन्त्रिपरिषद्मा पठाउने नामको विषयमा पनि विवाद चलिरहेको छ, एक महिनासम्म पनि निष्कर्ष आउन सकेको छैन ? यो विषयमा तपाईंहरूको पहल के छ ?
जेन–जी आन्दोलन एकदमै छरिएको आन्दोलन हो । यस्तो मैले कहिल्यै पनि देखेको थिइनँ । यो हाम्रो शक्ति पनि हो र कमजोरी पनि । यति धेरै छरिएको छ कि सबै जनासँग शक्ति छ । तर त्यसलाई कसरी अगाडि बढाउने भन्ने कुरामा व्यक्तिगत स्वार्थ र राष्ट्रिय स्वार्थबीच धमिलो रेखा मैले देखिरहेको छु ।
