प्रधानमन्त्रीका स्वकीय सचिवले भने – कसैको नाम सिफारिस भएको छैन
What you should know
काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले चार जनालाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका चर्चा चलेपछि जेन–जी अगुवाबीच खैलाबैला मच्चिएको छ । सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठ, युवा अभियन्ता बब्लु गुप्ता, डाक्टर रामजी राम र जलवायु परिवर्तन अभियन्ता टासी ल्हान्जोमलाई मन्त्री बनाउने चर्चा हुन थालेपछि हल्लीखल्ली भएको हो ।
नाम सार्वजनिक भएका स्वयंले चाहिँ आफूहरुलाई यसबारे जानकारी नभएको बताएका छन् भने कतिपयले सार्वजनिक नाममा विरोध जनाएका छन् ।
चर्चा भएकामध्ये गुप्ताले मन्त्री बन्नेबारे आफूलाई कसैले प्रस्ताव नगरेको बताए । उनले सामाजिक सञ्जाल फेसबुकमा समेत लेखेका छन्, ‘मलाई मन्त्रिपरिषद्बारे कुनै पनि कुरा थाहा नभएकाले कृपया भ्रमका पछाडि नलाग्न सबैमा अनुरोध गर्दछु,’ उनले भनेका छन् ।
रामजी रामले समेत आफूसँग कसैले छलफल नगरेको भन्दै भने, ‘मेरो नाम आएकोमा खुशी त लाग्यो, तर यसबारे मलाई कसैले भनेको छैन । म अहिले चन्द्रनिगाहपुर ड्यूटीमा छु, काठमाडौंमा आउने योजना छैन ।’
सम्पदा अभियन्ता श्रेष्ठलाई समेत यसबारे कसैले औपचारिक जानकारी दिएको छैन । सार्वजनिक भएको नाममध्ये टासी ल्हान्जोमको नाममा चाहिँ विवादसमेत भएको छ । हुन त उनको नाम केही पहिले समेत चर्चामा आएको थियो । तर, उनको पृष्ठभूमिलाई लिएर जेन–जी नेताहरूले नै असन्तुष्टि राखेका थिए ।
अहिले जेन–जी कर्णाली संयोजक सुप्रिया शाहीको नाममा जारी विज्ञप्तिमा समेत उनको नागरिकता विवाद रहेकाले त्यससम्बन्धी विषयमा छानबिन गर्न माग गरेकी छन् ।
‘टासी ल्हान्जोमको फ्री तिब्बत अभियानसम्बन्धी कुनै गतिविधि वा राजनीतिक अभियानमा संलग्नताका अपुष्ट समाचार प्राप्त भएको हुँदा कुनै अन्तर्राष्ट्रिय प्रभाव वा संलग्नता भए स्पष्ट पारियोस्,’ विज्ञप्तिमा भनिएको छ, ‘जेन–जी आन्दोलनमा टासी ल्हान्जोमको सहभागिता तथा योगदान र कर्णाली प्रदशेका स्थानीय मुद्दा र विकासका क्षेत्रमा उनको योगदानबारे पारदर्शी जानकारी सार्वजनिक गरियोस् ।’
यो विज्ञप्ति आएपछि इन्डिजिनियस जेनजेड कलेक्टिभ र जेनजेड मुभमेन्ट एलाइन्सको नाममा अर्को विज्ञप्ति जारी भएको छ, ल्हान्जोममाथि बदनियतपूर्वक ढंगले आक्रमण भएको जिकिर गरिएको छ । विज्ञप्तिमा उनको नागरिकताको प्रतिलिपिसमेत सार्वजनिक गरिएको छ ।
हुम्लाको लिमी वडा नं. ६ को कार्यालयले उनी २९ कात्तिक २०५६ मा उक्त वडामा जन्मिएको भन्दै दिएको सिफारिस समेत उल्लेख गरिएको छ ।
सिफारिसबारे जेन-जी नेता नै अनविज्ञ
सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको छलफलमा समेत यसबारे जेन–जी अगुवाहरूबीच एकआपसमा कुराकानी भएका थिए ।
‘राष्ट्रपति आउनुभएन, त्यसपछि प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरूसँग केही समय छलफल गरेका थियौं,’ बैठकमा सहभागी एक जेन–जी नेताले भने, ‘त्यसबेला अनौपचारिक कुराकानीका क्रममा हाम्रै साथीहरूसँग समेत मन्त्रिपरिषद् विस्तारबारे सोधखोज गरेका थियौं ।’ त्यसक्रममा कुनै पनि समूहले त्यस्तो नाम सिफारिस गरेको थाहा नपाएको बताए ।
प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श श्रेष्ठले पनि अहिलेसम्म मन्त्रिपरिषद् विस्तार गर्नलाई कसैले नाम सिफारिस नभएको बताए । ‘हिजोदेखि धेरैले सोधी रहनु भएको छ, तर त्यस्तो सिफारिस भएको छैन,’ उनले कान्तिपुरसँग भने, ‘प्रधानमन्त्रीज्यूबाट पनि कसैको नाम प्रस्ताव भएको छैन ।’
एक जेन–जी नेताले चाहिँ हामी नेपालका सुदन गुरुङले केही साता पहिल्यै तीन जनाको नाम प्रस्ताव गर्न खोजेको तर, विवाद भएपछि रोकिएको सुनाए । ‘खासमा यी नामहरू पहिल्यै आएका थिए, तर विभिन्न कारणले रोकिए,’ उनले भने, ‘अहिले फेरि त्यो विषय उठेपछि विवाद भएको जस्तो देखिएको हो ।’
जेन-जी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा सरकार बनेपछि दुईपटक मन्त्रिपरिषद् विस्तार भएको छ । तर, दुवै पटक जेन–जीको प्रतिनिधित्व भएको छैन ।
सरकारमा जेन–जीको पनि प्रतिनिधित्व हुनुपर्ने माग अगुवाहरूले राख्दै आएका छन् । यद्यपि, कार्की प्रधानमन्त्री बनेपछि भएको छलफलमा उनीहरूले आफ्नो आवश्यकताअनुसार मन्त्री छान्न भनेका थिए ।
