गोल्डस्टार 'मेकर' विदुषी राणा रास्वपाको समानुपातिक सूचीमा 

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा रास्वपाबाट राणा परेकी हुन् ।

पुस १५, २०८२

कान्तिपुर संवाददाता

Goldstar 'Maker' Vidushi Rana on RSP's proportional list

काठमाडौँ — रास्वपाको समानुपातिक उम्मेदवारको सूचीमा किरण सुज म्यानुफ्याक्चर्सकी कार्यकारी निर्देशक विदुषी राणा पनि छिन् । 

किरण सुज म्यानुफ्याक्चर्सले चर्चित ब्रान्ड गोल्डस्टारको जुत्ताचप्पल उत्पादन गर्दै आएको छ । 

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट राणा परेकी हुन् । उनी खस-आर्य महिलातर्फको सूचीमा छिन् । 

राणाले आफूले कहिले सक्रिय राजनीतिमा रुचि नराखेको बताइन् । 'मैले कहिले सक्रिय राजनीतिमा रुचि राखिन्, वर्षौंसम्म प्रणालीभन्दा बाहिर बसेर सामान्य नागरिकझैं देशलाई अघि बढेन, राजनीतिमा सक्षम र राम्रो नेतृत्व चाहिन्छ भन्दै आलोचना गरेर बस्थेँ । बाहिर बसेर आलोचना गर्न सहज  हुन्छ,' उनले भनिन्, 'जब काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आग्रह गर्नुभयो । मलाई लाग्यो राजनीतिमा आउने यो सही समय हो,  शक्ति र पदका लागि नभई राजनीतिलाई नयाँ ढंगले गर्ने प्रयासको हिस्सा बन्ने जिम्मेवारीका लागि हो।'

परिवर्तनको उद्देश्यसहित विभिन्न पृष्ठभूमिका मानिसहरू अघि आइरहेको भन्दै राणाले नीतिगत तहमा आवश्यकताअनुसार आफ्नो अनुभव प्रयोग गर्ने बताइन् । 'यदि मैले अवसर पाएँ भने खुला अर्थतन्त्र, आन्तरिक उत्पादन महिला सशक्तीकरण र रोजगारी सिर्जानाको पक्षमा आवाज उठाउन चाहन्छु ,' उनले भनिन्, 'यो विशेषाधिकार मात्र होइन जिम्मेवारी हो । म यहाँ सेवा गर्न, सुन्न र सार्थक परिवर्तनका लागि इमान्दार प्रयास गर्न आएको हुँ ।'

वि.सं. २०३० को दशकदेखि उत्पादन सुरु गरिएको हात्तीछाप चप्पल विगत ५० वर्षदेखि निरन्तर आफ्नै यात्रामा छ । कम्पनीको सस्तो, बलियो र भरपर्दो युनिक सेलिङ प्वाइन्ट (यूएसपी) अनुसार छोटो समयमै ब्रान्ड बन्न सफल यो उद्योग नुरप्रताप राणाले सुरु गरेका हुन् । 

नुरप्रतापले सुरु गरेको उद्योगलाई पछि छोरा आमिरले अगाडि बढाए । आमिर हाल कम्पनीको अध्यक्ष तथा प्रबन्ध निर्देशक छन्  भने विदुषी कार्यकारी निर्देशक छिन् ।

सम्बन्धित समाचार

कान्तिपुर

Link copied successfully