अब राजनीतिमा प्रकाश सपुत : 'यो शक्तिले कम्तीमा बिगार्दैन'

राष्ट्रिय स्वतन्त्र पार्टीले सोमबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक सांसदको बन्दसूचीमा चर्चित गायक तथा कलाकार प्रकाश सपुतको नाम पनि समावेश गरिएको छ।

पुस १५, २०८२

कान्तिपुर संवाददाता

Prakash Saput now in politics: 'At least this power won't do any harm'

What you should know

काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको बन्दसूचीमा कलाकार प्रकाश सपुत पनि परेका छन् ।

रास्वपाले सोमबार सपुतसहित रास्वपाले ११० जनाको नाम निर्वाचन आयोगमा पेस गरेको हो ।

तपाईं त समानुपातिक सूचीमा पर्नुभएछ नि ? भन्ने कान्तिपुरको प्रश्नमा प्रकाशले भने, 'सरकार र नेपाली राजनीतिप्रति जहिल्यै गुनासो मात्रै गरिरहे पनि संसदीय प्रकियालाई नजिकबाट बुझ्न र देश विकास गर्न अब म राजनीतिमा होमिएको छु ।'

उनलाई एकपटक नजिकबाट संसदीय प्रक्रिया बुझ्न मन छ । किनकि त्यहाँ पुगेपछि नेताहरु इमानदार हुन सक्दैनन् भन्ने कुराको साक्षी बन्न मन लागेको उनले बताए । 'उमेरको उत्तरार्द्धमा कलाकारको जीवन निराशातर्फ ढल्किरहेको देखिन्छ । त्यो ऊर्जा र सोचलाई देशसँग किन नजोड्ने भनेरै राजनीतिमा आएँ,’ ३५ वर्षका प्रकाश भन्छन् ।

कलाकारितामार्फत पनि प्रकाशले राजनीतिज्ञ र सामाजिक बेथितिमाथि प्रश्न गर्दै आएका थिए । प्रश्न मात्रै गरिरहनुको साटो जवाफ दिने ठाउँमै पुग्ने सोचसहित जिम्मेवारी बोकेर राजनीतिमा आफूले पाइला चालेको प्रकाश सुनाउँछन् ।

‘यो निर्णय महत्त्वाकांक्षा नहोला, जिम्मेवार महसुस गरेर कम्तीमा राजनीति फोहोरी खेल हो भन्ने सोचबाट मानिसलाई मुक्त गराउने विचारले लागेको हुँ,’ प्रकाशले भने । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहको जोश र संसदीय राजनीतितर्फको छलाङसँग आफू प्रभावित भएको उनले बताए ।

एमाले, कांग्रेस र माओवादीलाई विभिन्न कालखण्डमा देशको प्रमुख शक्तिका रुपमा हेर्दै आए पनि बालेन्द्र-रवि समूहको राजनीतिक अभ्यास फरक रहेकाले पनि राजनीतिमा प्रवेश गरेको प्रकाश बताउँछन् । ‘देश बनिहाल्न समय लाग्ला । तर, यो नयाँ शक्तिले देश बिगार्न दिँदैन भन्ने छ । त्यसैले यो शक्तिलाई सहयोग गर्न पनि म राजनीतिमा आएँ । म धन्य छु, मेरो आगमनले समानुपातिकतर्फको एउटा भूमिका पाएँ,’ प्रकाशले भने, ‘यो नयाँ शक्तिले कसैलाई रिझाउनु पर्दैन । उहाँहरुले सिधै व्यवस्था सुधार्न सक्नुहुन्छ । संविधान त्यहीँ छ, व्यवस्था त्यहीँ छ । नीति त्यहीँ छन् । नीतिलाई कार्यान्वयन गर्ने, संविधान लागू गर्ने अनि सुधार मात्रै गर्न अब सकिन्छ होला भन्ने मलाई लाग्यो ।’ 

जब रास्वपाको उदय भयो, त्यो बेलादेखि नै प्रकाश राजनीतिमा आउने/नआउने, औपचारिक/अनौपचारिक छलफलमा सरिक थिए । स्थापित नेतासँग कुराकानी गरिहाले पनि त्यतिबेला मानसिक रुपले तयार थिएनन् । पारिवारिक जिम्मेवारी र कलाकारितालाई प्राथमिकता दिइरहे । तर, जब जेन–जी आन्दोलन भयो, बालेन्द्र राजनीतिमा आउने कुरा भयो तब प्रकाशको ध्यान राजनीतिले तानेको हो । 

‘यतिको मान्छेले कम्तीमा बिग्रन दिँदैनन् । प्रश्न गर्छन्, काम गर्छन्, सुधार्छन् भन्ने भयो । अनि मलाई लाग्यो यो अब हाम्रो समय हो,’ प्रकाशले भने ।

अभिनयमा सक्रिय प्रकाशले अब कलाकारिता र राजनीति दुवैलाई मिलाएर अघि बढ्ने योजना बनाएका छन् । प्रकाश अभिनित ‘मिरमिरे’ माघमा प्रदर्शनमा आउँदै छ । वैशाखमा उनको अभिनयमा ‘परालको आगो’ रिलिज हुनेछ ।

१५ वर्षदेखि संगीत क्षेत्रमा सक्रिय प्रकाशका ‘गलबन्दी’, 'पीर’, ‘सकम्बरी’, ‘दोहोरी ब्याटल’, ‘बोल माया’, ‘दमाई महाराजा’लगायतका चर्चित गीत छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully