सरकारी तत्परता र नागरिक सतर्कताको उदाहरण

विपद्का बेलामा नागरिकले भोग्ने अप्ठ्यारो जनधनको नोक्सानीसँग मात्रै सम्बन्धित हुँदैन । यस्तो समयमा नागरिक ठगीमा पनि पर्छन् । वस्तुको कृत्रिम अभाव र जथाभावी मूल्य कायम गरिन्छ । अहिले बजारमा हरिया तरकारीलगायतका दैनिक उपभोग्य वस्तुको मूल्य अचाक्ली छ ।

आश्विन २०, २०८२

सम्पादकीय

An example of government readiness and citizen vigilance

What you should know

शुक्रबार दिउँसोदेखि सुरु भएको हल्कादेखि भारी वर्षाका कारण देशका अधिकांश भूभागका बासिन्दा प्रभावित भएका छन् । आइतबार बेलुकासम्मको विवरणअनुसार ४७ जनाको मृत्यु नै भएको छ । घर तथा बालीनाली डुबानमा पर्ने, पहिरोले घर बगाउने, राजमार्गमा पहिरो खस्दा अवरोध हुने, बाढीले पुल बगाउने वा क्षति पुर्‍याउनेजस्ता असर तराईदेखि पहाडसम्मै देखिएका छन् ।

 दसैं मनाउन विभिन्न ठाउँमा पुगेकाहरू यथास्थानमा फर्किने समय भएकाले पनि हैरानी खेप्नेको संख्या तुलनात्मक रूपमा बढी छ । मौसममा पूर्ण सुधार भइसकेको छैन र जोखिमका सम्भावना बाँकी नै छन् । त्यसैले सुरक्षाका सम्पूर्ण उपाय अपनाउन व्यक्तिगत, सामुदायिक तथा सरकारी पहलकदमी आवश्यक छ ।

मौसममा हुने उथलपुथलबाट सिर्जना हुन सक्ने दुष्परिणाम कसैको नियन्त्रणमा हुँदैन । दीर्घकालीन रणनीति र विवेकसम्मत निर्णयले सम्भावित क्षतिलाई न्यूनीकरण गर्न भने सकिन्छ । साथसाथै, अप्ठ्यारो समयमा सरकारले नागरिकप्रति देखाउने अभिभावकत्वको पनि विशिष्ट अर्थ रहन्छ ।

अविरल पानी पर्न थालेपछि शनिबार राष्ट्रका नाममा भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री सुशीला कार्कीले अप्ठ्यारोमा परेको अवस्थामा तत्काल उद्धार गर्न सरकार तयारी अवस्थामा रहेको बताउँदै आवश्यक सहयोग लिन अप्ठ्यारो नमान्न आग्रह गरिन् । उनले राज्यका सम्पूर्ण स्रोत नागरिकसँगै रहेको प्रस्ट पारिन् ।

त्यस्तै, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, प्रशासन, स्वास्थ्यकर्मी, अन्य सेवादायी निकायहरूलाई यथासम्भव तत्काल सहयोग प्रदान गर्न परिचालन गरिएको थियो । काठमाडौंका नदीमा बहाव बढ्नासाथ किनाराका बस्तीबाट मानिस र अत्यावश्यक सामग्री अन्यत्र सार्नका लागि प्रहरीले माइकिङ र सहयोग गरेको थियो ।

काठमाडौं उपत्यकाबाहिरका धेरै ठाउँमा त्यसैगरी सुरक्षित स्थानान्तरणका लागि प्रयत्न भएको थियो । नदी किनाराको सडकमा यात्रा गर्न रोक लगाइएको थियो । पहिरोमा परेकालाई उद्धार गरिएको थियो । सरकारले आइतबार र सोमबार सार्वजनिक बिदा दिएको थियो ।

त्यस्तै, शनिबारदेखि सोमबारसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने/बाहिरिने सवारीसाधन आवतजावत बन्द गरिएको थियो । यद्यपि जनधनको क्षति भएको छ तर सरकारी प्रयत्नले भने प्रशंसा नै पाएको छ । यस पटक सरकारले गरेका पूर्वतयारीका कामहरू आगामी दिनका लागि पनि पाठका रूपमा लिन सकिनेछ ।

धेरैले एक वर्षअघिको यस्तै वर्षा, बाढी र पहिरोमा सरकारको गतिविधिलाई सम्झिए । त्यतिबेला पनि उद्धार नै नभएको होइन तर कर्मकाण्डी मात्रै भएको बुझे । विपत्तिका बीच प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकामा थिए । उनले तत्कालै फर्किन आवश्यक ठानेनन् ।

फर्किएपछि पनि त्रिभुवन विमानस्थलबाट उनले ‘बाढी आउने कुरालाई त रोक्न सकिँदैन, पहिरो जाने कुरा पनि पूर्वसूचना गरेर आउने होइन, उद्धार गर्ने कुरा हो, राहत बाँड्ने कुरा हो, सरकारले गरिरहेको छ’ भन्ने अभिव्यक्ति दिएका थिए ।

नख्खु खोलामा आएको बाढीबीच टहराको छतमा बसेर उद्धारको पर्खाइमा बसेकाहरू बगेका थिए । उनीहरूको समयमै उद्धार हुन नसक्नुमा गृहमन्त्री रमेश लेखकले हेलिकोप्टर पुग्न ‘भिजिबिलिटी’ नपुगेको बताएका थिए । जबकि ठीक त्यही समयमा काठमाडौंको भिजिबिलिटी २ हजार मिटरभन्दा बढी रहेको तथ्य जल तथा मौसम विभागद्वारा जारी गरिएको बुलेटिनले पुष्टि गरेको थियो । उद्धार कार्यमा हुने हेलिकोप्टरको विशेष उडानका लागि १ हजार मिटर भिजिबिलिटी पर्याप्त हुन्छ । त्यसैले तत्कालीन गृहमन्त्री लेखकको चर्को आलोचना भएको थियो ।

त्यतिबेला जल तथा मौसम विज्ञान विभागले भारी वर्षाको सम्भावना देखाउँदा देखाउँदै पनि सरकारले प्रशस्त पूर्वतयारी गर्न नसक्दा र आवश्यक रणनीति अपनाउन नसक्दा राजमार्गमै कतिले ज्यान गुमाउनुपरेको थियो । जस्तो कि, राजमार्गमा सवारीसाधन आवतजावतलाई नियन्त्रण नगरिँदा कैयौं सवारीसाधन पहिरोमा परे ।

नागढुंगा चेकपोस्टबाट २.७ किलोमिटर मात्रैको दूरीमा रहेको झ्याप्ले खोलामा पहिरो खस्दा कैयौं गाडी पुरिँदा ३५ जनाको ज्यान गएको थियो । अति भारी वर्षाका बीच सुरक्षित हुने आशामा गाडीभित्रै रहेका यात्रु पनि पुरिएका थिए ।

त्यतिबेला सवारीसाधन आवतजावतमा रोक लगाइएको भए पनि क्षति कम हुन सक्ने विश्लेषण गरिएको थियो । अघिल्लो वर्षको कमजोरीबाट यस पटक सरकारले पाठ सिकेको देखियो । अलपत्र यात्रुलाई सुरक्षित स्थानमा राख्न, बसोबास, खानपिनमा सहयोग गर्न नागरिक पनि तत्पर देखिएका छन् ।

मौसममा सुधार हुँदै गए पनि पहिरोको जोखिम भने कायमै छ । व्यक्तिगत घर, बस्ती, सडकमा खस्ने पहिरोले क्षति पुर्‍याउँछ । त्यसैले पहाडी भूभागका बासिन्दाले अझै केही दिन सचेत हुन आवश्यक छ । सरकारले सडकमा खसेका पहिरो केही दिनमै पन्छाउन सक्छ र सवारी आवतजावत जसोतसो खुल्न सक्छ । आइतबारदेखि नै कतिपय सडक खण्डमा सवारीसाधन चल्न थालिसकेका छन् । तर जोखिम टरिसकेको ठान्नु हुँदैन । यात्रामा निस्किनुअघि यात्रुले सडकको अवस्थाबारे पूर्वजानकारी लिन आवश्यक छ ।

विपद्का बेलामा नागरिकले भोग्ने अप्ठ्यारो जनधनको नोक्सानीसँग मात्रै सम्बन्धित हुँदैन । यस्तो समयमा नागरिक ठगीमा पनि पर्छन् । वस्तुको कृत्रिम अभाव र जथाभावी मूल्य कायम गरिन्छ । अहिले बजारमा हरिया तरकारीलगायतका दैनिक उपभोग्य वस्तुको मूल्य अचाक्ली छ ।

बाह्य उत्पादनसँग निर्भर बजारमा आयात प्रणालीमा अवरोध आउँदा मूल्यमा सामान्य गडबडी आउनु स्वाभाविक नै मान्न सकिने भए पनि अस्वाभाविक मूल्यले भने निरीह नागरिकमाथि हुने ठगीलाई नै चित्रित गर्छ । खासगरी अतिरिक्त लागत नपरेको र पहिल्यै आपूर्ति भइसकेका वस्तुको मूल्य जथाभावी कायम गरिनु न्यायोचित हुनै सक्दैन । त्यस्तै, दसैंको बिदापछि ह्वात्तै बढ्ने आवतजावत तीन दिन रोकिँदा त्यसपछिका केही दिन यात्रु चाप बढ्ने निश्चित छ ।

यस्तो बेलामा जथाभावी भाडा असुल्ने गरिन्छ । दसैंको आसपास भाडादर मनपरी हुने प्रवृत्ति विगतदेखि नै स्थापित छ । सरकारका सूचना र निगरानी प्रभावकारी हुन सकेका छैनन् । अबका केही दिन मनपरी भाडा असुल्ने काम झनै बढ्ने सम्भावना भएकाले सरकारले प्रतिफल दिने खालको कार्यक्रम सञ्चालन गर्न आवश्यक छ । विपद् टरिसकेको छैन, सचेत बनौं, क्षति कम गरौं, सहयोग गरौं ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully