पुष्पलाल मार्ग हुँदै ७ सय सवारीसाधन काठमाडौंतर्फ, निर्माणाधीन एसियन हाइवेको दुई डाइभर्सन बाढीले बगायो, बाढीपहिरोको जोखिम मोलेर काठमाडौं भित्रिँदै सर्वसाधारण
काभ्रे, दोलखा, चितवन, रामेछाप, झापा — शनिबारदेखिको वर्षाका कारण काभ्रेस्थित बीपी राजमार्गको धेरै भागमा क्षति पुगेको छ । बीपी राजमार्गअन्तर्गत भकुन्डे–नेपालथोक सडक खण्डको करिब ९ किलोमिटरमा रोशी खोलाले क्षति पुर्याएको छ ।
उक्त सडक खण्डको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सीमा क्षेत्र चौकीडाँडादेखि बोक्सेकुना, घुमाउने, डालाबेंसी, पिप्ले, माम्तीमा अस्थायी रूपमा बनाइएको डाइभर्सनमा शनिबारको निरन्तर वर्षाले पुनः क्षति पुर्याएको रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिए ।
गत वर्ष पूर्ण रूपमा क्षतिग्रस्त राजमार्ग करिब १० करोडको लगानीमा सञ्चालनमा ल्याइएको थियो । अध्यक्ष लामाका अनुसार राजमार्गका विभिन्न स्थानका डाइभर्सन रोशी खोलाले बगाएको छ । मर्मत गरेर राजमार्ग सञ्चालनमा ल्याउन करिब १० दिन लाग्ने उनले बताए ।
उनका अनुसार बीपी राजमार्गको करिब ९ किलोमिटरमा पूर्ण रूपमा क्षति पुगेको छ । यसको वैकल्पिक मार्गका रूपमा सिन्धुलीको सित्खा हुँदै तेमाल–भकुन्डे सडक खण्डमार्फत काठमाडौं प्रवेश गर्न सकिने उनले बताए । अहिले उक्त सडक अवरुद्ध भएको र दुई–चार दिनमा मर्मत गरेर सञ्चालनमा ल्याउन सकिने उनले जानकारी दिए ।
रोशी खोलामा आएको बाढीका कारण रोशी गाउँपालिकाका १२ वटै वडामा विद्युत् सेवा पूर्ण रूपमा अवरुद्ध भएको गाउँपालिकाका अध्यक्ष लामाले बताए । उनका अनुसार रोशी खोलाले सडक सञ्जालहरू अवरुद्ध भएकाले तत्कालै विद्युत् सेवा सुचारु गर्न सक्ने अवस्था छैन । त्यस्तै, सञ्चार सेवा पनि अवरुद्ध भएको उनले जानकारी दिए ।
नेपाल र चीन जोड्ने अरनिको राजमार्गअन्तर्गत ५४ किलो र खावा सडक खण्ड लेदोसहितको पहिरोले अवरुद्ध भएको थियो । अहिले पहिरो पन्छाएर राजमार्गमा यातायात सुचारु गरिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।
उनका अनुसार काभ्रे र भक्तपुर जिल्लाको सीमा क्षेत्र रहेको साँगामा पनि पहिरो पन्छाएर यातायात सुचारु गरिएको छ । हाल बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध रहेको र अरनिको राजमार्गमा भने कुनै अवरुद्ध नरहेको उनले जानकारी दिए ।
पैदलै गन्तव्यतर्फ
सिन्धुलीको सुनकोशी गाउँपालिकास्थित झाँगाझुलीका ५८ वर्षीय राजकुमार श्रेष्ठ काठमाडौंबाट शनिबार नै घर फर्किएका थिए । बीपी राजमार्ग अवरुद्ध छ भन्दै प्रहरीले उनी चढेको गाडी काभ्रेभन्ज्याङबाटै काठमाडौं फिर्ता पठाइदियो । राजमार्ग खुल्न धेरै समय लाग्ने उनले अनुमान गरिसकेका थिए । त्यस कारण आइतबार बिहान ९ बजे नै काठमाडौंबाट सिन्धुली हिँडे ।
भकुन्डेसम्म उनी बसमा आइपुगे । राजमार्ग अवरुद्ध भएकाले भकुन्डेबाट अगाडिको बाटो उनी पैदल जाने निधो गरे । भकुन्डेदेखि चौकीडाँडासम्मको बाटो त्यति असहज भने थिएन । केही–केही स्थानमा स–सानो पहिरो झरेको भए पनि हिँड्डुल गर्न भने असहज नभएको उनले बताए । तर, चौकीडाँडाबाट भने अगाडिको बाटो पैदल जान पनि सक्ने स्थिति छैन ।
बाढीले क्षति पुर्याएको केचना–कञ्चनजंघा सडक पर्ने बेलासे पुल ।
गत वर्षको असोजमा रोशी खोलामा आएको बाढीले राजमार्गस्थित चौकीडाँडादेखि नेपालथोक सडक खण्डको करिब ९ किलोमिटर पूर्ण रूपमा क्षति गराएको थियो । क्षति पुर्याएको स्थानमा अस्थायी मर्मत गरी सञ्चालनमा ल्याइएको वर्ष दिन नहुँदै फेरि असोज १८ मा रोशी खोलामा आएको बाढीले चौकीडाँडादेखि नेपालथोक सडक खण्डका विभिन्न स्थानमा क्षति पुर्यायो । रोशी खोला आफ्नो धारमा नबहेर अन्यत्र फैलिँदै राजमार्ग कटान गरेपछि अस्थायी रूपमा मर्मत गरिएको सडक बाढीले पुनः बगाएको छ ।
यो दृश्य नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सीमा क्षेत्रमा रहेको चौकीडाँडाबाट प्रस्टै देखिन्थ्यो । केही बेर त्यहाँको अवस्था नियालेपछि राजकुमार सिन्धुलीतर्फ अघि लागे । त्यसपछिको यात्रा भने उनलाई सहज थिएन । आधा घण्टा भीर र उकालो बाटो हुँदै कटुन्जेबेंसी पुगिने उनले बताए । ‘बिहानको ९ बजे हिँडेको ३ बजे चौकीडाँडा आइपुगियो,’ उनले भने, ‘घर आजै त पुगिँदैन, भोलि बिहान ११ बजेतिर पुगिन्छ कि भन्ने लागेको छ, अगाडि बाटो कस्तो छ भन्नेमा पनि भर पर्छ, कति बजे पुगिन्छ भन्नेमा ।’
राजमार्ग खुल्न धेरै दिन लाग्ने भएकाले हिँडेरै भए पनि घर जान लागेको उनले बताए । ‘त्यतिका दिनसम्म काठमाडौंमा कसरी बस्ने, घरको व्यवहार पनि हेर्नैपर्यो,’ राजकुमारले भने, ‘हिँडेरै जाँदा सोमबारसम्म त पुगिन्छ कि भन्ने लागेको छ, आइतबार साँझ मंगलटारमा पुगेर बास बस्ने अनि भोलि त जसोतसो पुगिहालिन्छ नि ।’
रघुचौरबाट भकुन्डेतर्फ हिँडेकी सरिता न्यौपाने चौकीडाँडामा भेटिइन् । उनी शुक्रबार नै माइत रघुचौर पुगेकी थिइन् । शनिबारदेखि परेको पानी रोकिएपछि घर फर्किने उनले सोच बनाएकी थिइन् । तर, पानी आइतबार मात्रै रोकियो । घर फर्किनका लागि यातायातका साधन पनि सञ्चालनमा थिएनन् । कारण, शनिबारको निरन्तरको वर्षाले बीपी राजमार्ग अवरुद्ध भयो । १ घण्टाको बाटो हिँडेरै आउने निधो गरिन् । ‘कहिले उकालो त कहिले ओरालो, कहिले भीरको बाटो हिँडेर यहाँसम्म आइयो,’ उनले भनिन्, ‘बाटो अप्ठ्यारो भए पनि जसोतसो आइयो ।’
विकल्पमा पुष्पलाल मार्ग प्रयोगमा
रोशी खोलाको बाढीको कटान र पहिरोले बीपी राजमार्ग अवरुद्ध भएपछि राजधानी काठमाडौंसम्म जोड्ने वैकल्पिक मार्गका रूपमा पुष्पलाल मार्ग प्रयोगमा आएको छ । रामेछाप, ओखलढुंगा, खोटाङ, उदयपुर, सोलुखुम्बु लगायतका जिल्लाबाट दसैं मानेर फर्कनेहरूले पुष्पलाल मार्ग प्रयोग गरिरहेका छन् ।
शनिबार दिउँसोबाट बीपी राजमार्गको विकल्पमा सवारीसाधनले पुष्पलाल मार्ग प्रयोग गरेर यात्रुलाई राजधानी लैजान थालेका हुन् । लगातारको वर्षामा आएका ३ सयभन्दा बढी सवारीसाधन चरिकोटमा रोकेर आइतबार बिहान गन्तव्यमा जान दिइएको दोलखाका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले बताए ।
आइतबार बिहानबाट अरनिको राजमार्गको अवस्था बुझेर सवारीसाधन छाडिएको उनले जानकारी दिए । ‘बीपी राजमार्ग तत्काल सञ्चालनमा आउन नसक्ने भनेपछि पुष्पलाल मार्ग प्रयोगमा आएको छ,’ उनले भने, ‘सवारी चाप बढेकाले जोखिम क्षेत्र पहिचान गरेर किर्नेटार र खरिढुंगामा समन्वय गर्न प्रहरी खटाइएको छ, सवारीसाधन र यात्रुको सुरक्षाका लागि प्रहरी परिचालन गरेका छौं ।’
शनिबार साँझदेखि आइतबार अपराह्नसम्म ७ सयभन्दा बढी ठूलासाना सवारीसाधनमा झन्डै १० हजार बढी यात्रु यही मार्ग भएर राजधानी गएको महतोले बताए । सवारीसाधनको चाप र जोखिम हेरेर साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक बाहेकका सवारीसाधन चलाउन रोक लगाइएको उनले जानकारी दिए । ‘राति राजमार्ग बन्द गर्ने निर्णय भएको छ,’ उनले भने, ‘जोखिम अझै कायमै भएकाले चालकसहित यातायात व्यवसायीलाई यो समयमा सवारीसाधन नचलाइदिन आग्रह गरेका छौं ।’
गएको वर्ष तामाकोशी गाउँपालिका–५ किर्नेटारमा खिम्ती जलविद्युत् केन्द्रको विद्युत् गृहनजिकै पुष्पलाल मार्गको ४ सय मिटर सडक तामाकोशी नदीले कटान गरेपछि पुनर्निर्माण गरिएको थियो । त्यो क्षेत्रमा जोखिम कायमै रहेको महतोले बताए । रामेछापको मन्थली हुँदै पुष्पलाल मार्गबाट लामोसाँघु–जिरी सडक र अरनिको राजमार्ग जोडिन्छ । बीपी राजमार्ग खुल्नुअघि त्यस भेगका स्थानीय यही सडकबाट यात्रा गर्ने गर्थे ।
बर्दिबासबाट सिन्धुलीको खुर्कोट नजिकैसम्म बीपी राजमार्ग सञ्चालनमा छ । खुर्कोटबाट १८ किलोमिटरको यात्रापछि रामेछापको मन्थली हुँदै ५४ किलोमिटरको पुष्पलाल मार्ग भएर चरिकोट पुगिन्छ । चरिकोटबाट १ सय ३३ किलोमिटर पार गरेपछि काठमाडौं पुग्न सकिन्छ । उक्त सडक कालोपत्र छ । बर्दिबासबाट यो वैकल्पिक मार्ग प्रयोग गरेर राजधानी पुग्न ३ सय १५ किलोमिटर यात्रा गर्नुपर्ने हुन्छ । नागढुंगा–मुग्लिन–नारायणगढ सडक अवरुद्ध हुँदा बीपी राजमार्ग हुँदै पुष्पलाल मार्गबाट लामोसाँघु–जिरी सडकअन्तर्गत चरिकोटबाट अरनिको राजमार्गमा यो सडक जोडिन्छ ।
यस्तै, सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिकाले ठाउँठाउँमा अवरुद्ध भएका कच्ची सडकको अवरोध हटाएपछि शनिबारबाट त्यस भेगका साना सवारीसाधन सल्लेरी–जिरी सडक हुँदै वैकल्पिक रूपमा सञ्चालनमा आएको छ । त्यस क्षेत्रका साना जिपहरू सिधै सल्लेरी–लामोसाँघु–जिरी–चरिकोट हुँदै राजधानी आउजाउ गर्न थालेका छन् ।
लामो दूरीका सवारीसाधन राजधानी पुगेलगत्तै यात्रु लिन फर्कने गरेकाले यातायात व्यवसायीलाई दुई जना चालक राख्न अनुरोध गरिएको दोलखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए । किर्नेटारमा ठूला सवारी आगमन गर्ने सडक तामाकोशी नदीले कटान गरेका कारण केही दिनका लागि खिम्ती जलविद्युत् केन्द्रभित्रको सडकबाट सञ्चालन गर्न दिन आग्रह गरिएको उनले बताए ।
भासिएको पुष्पलाल मार्गअन्तर्गतको कालीदह सडक खण्ड मर्मत गरेर सञ्चालनमा ल्याएकाले कतै पनि राजमार्ग अवरोध नभएको उनले बताए । ‘हामीले आफ्नो क्षेत्रमा रहेको राजमार्गको सबै अवस्था फिल्डमा गएर हेर्यौं, कतै पनि समस्या देखिएन,’ उनले भने, ‘तत्कालका लागि बीपी राजमार्गको विकल्पमा यो मार्गबाट यात्रा गर्न सुरक्षित भएकाले खुला गरेका छौं, यात्रु र सवारीसाधनको सुरक्षाका लागि राजमार्गमा प्रहरी गस्ती परिचालन गरेका छौं ।’
जोखिम कम भए पनि अझै रातको समयमा सवारीसाधन नचलाउन यातायात व्यवसायीलगायतका पक्षलाई आग्रह गरिएको उनले बताए । गएको वर्ष १२ असोजको बाढीले बीपी राजमार्ग बगाएपछि पुष्पलाल मार्ग वैकल्पिक रूपमा प्रयोगमा आएको थियो ।
यातायात व्यवसायीलाई मितव्ययी भाडादर लिन पनि आग्रह गरिएको दाहालले बताए । ‘छोटो दूरीको राजमार्ग अवरुद्ध भएकाले केही समय लामो दूरीको यात्रा हुने भएकाले मितव्ययी भाडादर लिन सार्वजनिक यातायातलाई आग्रह गरेका छौं,’ उनले भने, ‘भाडादर अचाक्ली लिएको भनेर केही गुनासो आएका छन्, यात्रुको सुरक्षा र भाडादर सहज बनाउने गरी छलफल भइरहेको छ ।’ रामेछाप प्रशासनले साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म लामो दूरीका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।
चितवनमा सोमबारसम्म राजमार्गमा सतर्कता
अविरल वर्षा थामिनुका साथै राजमार्ग क्षेत्रको पहिरो हटाए पनि चितवन हुँदै काठमाडौं, पोखरा ओहोरदोहोर हुने राजमार्गमा सोमबारसम्मै सतर्कताका साथ यातायात सञ्चालन गरिने भएको छ । पहिरोका कारण चितवनमा रोकिएका गाडीहरू आइतबार मध्याह्नदेखि गन्तव्यतर्फ लाग्न सुरु भएका थिए ।
काठमाडौं र पोखरालाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्य सडक नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्गको ठाउँठाउँमा पहिरो र ढुंगा खस्दा गाडी चल्न सकेका थिएनन् । नारायणगढ–मुग्लिन सडकको तुइन खोला र काली खोलामा पहिरो र ढुंगा खसेर बाटो बन्द भएको थियो । त्यसैगरी पृथ्वी राजमार्गको चितवन खण्ड फिस्लिङमा पहिरो खसेको थियो । पहिरोका कारण शनिबार र आइतबार मध्याह्नसम्म यी दुई सडक खण्डमा यातायात प्रभावित भएका थिए ।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालले वर्षाको सम्भावना र जोखिम सोमबारसम्मै रहेको पूर्वानुमान सार्वजनिक भएका कारण आइतबार पनि राति गाडी नचल्ने निर्णय भएको बताए ।
आइतबार साँझ ६ बजेभित्र चितवन भएर आउजाउ गर्ने सबै गाडी बाहिरी सक्नुपर्ने उनको भनाइ छ । यो समयपछि चितवन आउने र बाहिरिन बाँकी रहेका गाडीलाई पहिरोग्रस्त क्षेत्रभन्दा बाहिर सुरक्षित स्थान ‘सेफ्टी होल्डिङ स्पेस’ मा राखिने डीएसपी खनालको भनाइ छ । मौसमको अवस्था हेरेर गाडी सञ्चालनका बारेमा थप निर्णय हुने पनि उनले बताए ।
यस्तै, राति ९ बजेपछि धादिङको सडक खण्डमा सवारी सञ्चालनमा रोक लगाइएको छ । बाढीपहिरो तथा विपद्को सम्भावित घटना मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिले रातको ९ बजेदेखि जिल्ला बाहिरबाट सवारीसाधन भित्रन रोक लगाउने निर्णय गरेको हो ।
काठमाडौंबाट बाहिरिने सवारीलाई नागढुंगा, गोलढुंगा लगायतको नाकाबाट पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ हुँदै धादिङ प्रवेश गर्न र अन्य जिल्लाबाट चितवनको मौवा खोला हुँदै भित्रिने सवारीसाधनलाई रोक लगाउने निर्णय गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले बताए । राति एम्बुलेन्स, दमकल, सुरक्षाकर्मी लगायतका अत्यावश्यक सवारीसाधनलाई भने सुरक्षाकर्मीको अनुमतिमा प्रवेश दिइनेछ ।
खुर्कोट–मन्थली–खिम्ती–मिल्ती सडकमा रात्रिकालीन आवागमन निषेध
अविरल वर्षाले सडकमा जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय रामेछापले खुर्कोट–मन्थली–खिम्ती–मिल्ती सडक खण्डमा रात्रिकालीन सवारी आवागमन निषेध गरेको छ । प्रशासनका अनुसार १९ देखि २४ असोजसम्म प्रत्येक साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको हो ।
उक्त अवधिमा एम्बुलेन्स र अत्यावश्यक सेवाका सवारीसाधनबाहेक सबै प्रकारका सार्वजनिक तथा निजी यात्रुवाहक सवारीसाधन चलाउन नपाइने प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले यात्रु वर्गमा पर्न सक्ने असुविधाप्रति क्षमा याचना गर्दै सबैलाई सतर्क रहन र सुरक्षालाई प्राथमिकता दिन आग्रह गरेका छन् ।
एसियन हाइवे अवरुद्ध
बाढीले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन एसियन हाइवे काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड) को मेचीनगर–६ स्थित काली खोला डाइभर्सन र शिवसताक्षी–१० स्थित भालु खोला डाइभर्सन बगाएको छ । जसका कारण राजमार्गमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।
काली खोलाले यसअघि पनि डाइभर्सन बगाएको थियो । पुरानो पक्की पुल भत्काएर नयाँ पुल निर्माण भइरहेको अवस्थामा अस्थायी डाइभर्सनमार्फत यातायात सञ्चालन हुँदै आएको थियो । तर शनिबार रातिको आरीघोप्टे वर्षा पछिको बाढीले क्षति पुर्याएको हो ।
एसियाली विकास बैंकको सहयोगमा करिब १० अर्ब रुपैयाँको लागतमा एसियन हाइवेको पूर्वीखण्ड स्तरोन्नति भइरहेको छ । एभ्रास्कन–कालिका जेभीले ठेक्का लिएर निर्माण गर्दै आएको छ । आयोजना कार्यालयले वर्षातको अवधिमा राजमार्गमा समस्या आएमा ‘र्यापिड रेस्पोन्स टोली’ परिचालन गरेर तत्काल समाधान गर्ने व्यवस्था मिलाइएको जनाएको छ ।
झापाबाट महाकाली जोड्ने दक्षिणी सडक खण्डअन्तर्गत हुलाकी सडकसमेत बगाएको छ । हुलाकी सडक बगाएपछि यातायात आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार लगातारको वर्षाका कारण माई खोला र आसपासका साना खोलानालाहरूमा पानीको सतह बढेपछि हुलाकी सडक आसपासका करिब २ सय घरधुरी डुबानमा परेका छन् ।
