बुबा कृष्णबहादुर र आमा सरिता तीन सन्तान शनिबार साँझदेखि खोल्साले बगाएर बेपत्ता भएको खबर सुनेदेखि अर्धचेत अवस्थामा छन् ।
What you should know
भक्तपुर — दसैंको टीकाको दिन शुक्रबार लामटाङ घुम्न गएका तीन सन्तानलाई गोसाइँकुण्ड गाउँपालिका–४ स्थित बेरिङ खोल्साले बगाएपछि बुबा कृष्णबहादुर श्रेष्ठ र आमा सरिता श्रेष्ठ गहिरो शोकमा छन् । शनिबार साँझबाट बेपत्ता उनीहरूको आइतबार साढे २ बजेसम्म कुनै अत्तोपत्तो छैन ।
बुबा कृष्णबहादुर र आमा सरिता तीन सन्तान शनिबार साँझदेखि खोल्साले बगाएर बेपत्ता भएको खबर सुनेदेखि अर्धचेत अवस्थामा छन् ।
शुक्रबार बिहान १६ जना लामटाङ घुम्न गएका थिए । उनीहरू शुक्रबार साँझ गोसाइँकुण्डस्थित ब्याम्बो होटलमा बास बसेर शनिबार बिहानै लामटाङतर्फ अघि बढेका थिए । सोही क्रममा बाटोमा पर्ने बेरिङ खोल्सा तर्ने क्रममा चार जनालाई भेलले बगाएको थियो । बेपत्ता हुनेमा सूर्यविनायक नगरपालिका–४ हर्षचोक बस्ने २६ वर्षीया सनिता श्रेष्ठ, २४ वर्षीया संस्कृति श्रेष्ठ, २० वर्षीय किसन श्रेष्ठ र भक्तपुर नगरपालिका–१० बस्ने २३ वर्षीय रवि श्रेष्ठ रहेका छन् ।
चार वर्षदेखि दुबईमा काम गर्दै आएकी सनिता ९ दिनअघि मात्रै नेपाल फर्किएकी थिइन् । उनी आफ्नो भाइ र बहिनीसँगै लामटाङ घुम्न गएकी थिइन् । अहिले हर्षचोक गाउँ पूरै शोकमा डुबेको छ । शुक्रबार बिहान करिब पाँच बजे नै पाँचदिने यात्रामा लामटाङ घुम्न गएका थिए । उनीहरू बेपत्ता भएसँगै यात्रामा रहेका १६ जनाको टोलीमध्ये १२ जना रसुवामै विक्षिप्त अवस्थामा छन् ।
यात्रामै रहेको टोलीमध्येका एक जनासँग बेपत्ता रहेका तीन दिदीभाइका काका केशव श्रेष्ठले घटनाका विषयमा जानकारी लिएका थिए । खोल्सा तर्ने क्रममा अचानक माथिबाट आएको बाढीले पहिला सनितालाई बगाएको र उनलाई बचाउन खोज्दा बहिनी संस्कृतिलाई पनि बगाएको थियो ।
दुई दिदीलाई बाढीले बगाएपछि भाइ किसन पनि बचाउने कोसिस गर्न खोल्सामा हेलिएका थिए । उनलाई पनि बाढीले लगेपछि साथी रविले पनि बचाउने प्रयास गर्दा उनलाई पनि बाढीले लगेको रसुवामा रहेका साथीहरूले जानकारी दिएको काका केशवले बताए ।
शनिबार दिउँसो ४ बजे आमा सरिताले छोरीसँग अन्तिम पटक कुराकानी गरेकी थिइन् । छोरीले मोबाइलको ब्यालेन्स सकिन लागेकाले रिचार्ज गरिदिन भनेकी थिइन् । त्यसपछि शनिबार राति एक्कासि उनीहरू बेपत्ता भएको खबर आएको थियो । त्यसपछि उनीहरूको परिवार रसुवा प्रहरीको सम्पर्कमा रहेको केशवले बताए । बेपत्ता भएकाहरूको तत्काल खोजी गरिदिन उनले आग्रह गरे ।
यता भक्तपुर नगरपालिका–१० क्वाठन्डौका बेपत्ता रविका बुबा राजु श्रेष्ठले शनिबार दिउँसो ३ बजेसम्म छोरो फोन सम्पर्कमै रहेको जानकारी दिए ।
तीन बजेसम्म उनीहरू होटलमा पुगेको जानकारी गराएको राजुले बताए ।
तर राति करिब ८ बजे एक्कासि सामाजिक सञ्जालमा बेपत्ता भएको खबर आएपछि रसुवा प्रहरीसँग सम्पर्क गरेर उनले जानकारी लिएका थिए । रविका हजुरबुबा, हजुरआमा, आमा बुद्धलक्ष्मी, बहिनी रविना र बुबा राजु गहिरो चिन्तामा छन् । छोराको छिटो खोजी गरिदिन रविका बुबा राजुले सरकारलाई आग्रह गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद अधिकारीका अनुसार बेपत्ताहरूको खोजीका लागि तीनवटै सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थल पुगेर बेपत्ताहरूको खोजी कार्य जारी राखेको जानकारी दिएका छन् ।
