सरकारले मौसम पूर्वानुमान महाशाखामार्फत बाढी र पहिरोको पूर्वसूचना दिनुका साथै आवश्यक कामहरू गरेर सम्भावित दुर्घटना हुन नदिन गरेको पहलको प्रशंसा भएको छ ।
What you should know
काठमाडौँ — सिंहदरबारबाट ७ किमि दूरीमा रहेको ललितपुर–२५, सुगम बस्तीमा फसेका २ जनालाई उद्धार गर्न नसक्दा एक वर्षअघि सरकार आलोचित भएको थियो । तत्कालीन गृहमन्त्री रमेश लेखकले ‘भिजिबिलिटी’ का कारण हेलिकोप्टर अवतरण गर्न नसक्दा २ जनाको उद्धार गर्न नसकेको बताएका थिए ।
तर, लेखकले भनेका तिनै २ जनालाई स्थानीय ३३ वर्षीय चणिकलाल तामाङले उद्धार गरेपछि मौसमी नभई ‘सरकारको भिजिबिलिटी’ चाहिँ कमजोर भएको व्यंग्य सार्वजनिक रूपमा भएको थियो ।
अहिले देशभर बाढी र पहिरोको विपद् हुँदा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार हटेर जेन–जीबाट प्रस्तावित सुशीला कार्कीको नेतृत्वमा नागरिक सरकार छ । यसपल्ट भने सरकारले मौसम पूर्वानुमान महाशाखामार्फत बाढी र पहिरोको पूर्वसूचना दिनुका साथै आवश्यक कामहरू गरेर सम्भावित दुर्घटना हुन नदिन गरेको पहलको प्रशंसा भएको छ ।
पाटन क्याम्पसमा वातावरण विज्ञानका उपप्राध्यापक रहेका डा. अमृत शर्मा पूर्वानुमानअनुसार सतर्कता देखाएर जनताप्रति जवाफदेही रहेको सन्देश सरकारले दिएको बताउँछन् । ‘यो समस्याको दीर्घकालीन समाधान गर्नलाई सबै सरोकारवाला निकायको समन्वय आवश्यक पर्छ,’ चीनको चिङ्ह्वा विश्वविद्यालयबाट बाढीमा विद्यावारिधि गरेका उनी भन्छन्, ‘तर, तत्काललाई पूर्वसूचनाअनुसार सवारीसाधनको आगमन रोक्नेदेखि मानवीय क्षति हुन नदिने कुरामा गरेको प्रयास प्रशंसनीय छ ।’
गत वर्ष गृह प्रशासनको लापरबाहीका कारण राजधानी छिर्ने नाका नागढुंगाको चेकपोस्टबाट २.७ किमि दूरीमा रहेको धादिङको झ्याप्ले खोलामा ३५ जनाको ज्यान गएको थियो ।
बाढी र पहिरोको पूर्वसूचना हुँदाहुँदै जिल्ला प्रशासन कार्यालय, धादिङले सवारीसाधन नरोक्दा बिहान करिब ३ देखि ४ बजेको अवधिमा यात्रुवाहक गाडी पहिरोमा पुरिएका थिए ।
कति गाडी पहिरोमा पुरिए भन्ने थाहा पाउनसमेत गृह प्रशासनलाई २४ घण्टाभन्दा बढी समय लागेको थियो । ‘यसपालि सरकारले राम्रो तयारी गरेको देखियो, केही दिन अगाडिबाटै गाडी नरोकिएको भए थप मानवीय क्षति हुन सक्थ्यो,’ सशस्त्र प्रहरी बलका पूर्व एआईजी सुबोध अधिकारी भन्छन्, ‘समयमै यातायात रोक्ने निर्णयले गर्दा कम क्षति भयो ।’
गृह मन्त्रालयले शनिबार, आइतबार र सोमबार उपत्यका भित्रिने लामो तथा छोटो दूरीका सवारीसाधनको आवतजावत बन्द गराउने निर्णय गरेको थियो । त्यसको अनुगमन र निगरानी गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरिएको थियो । एक प्रमुख जिल्ला अधिकारीका अनुसार, गृहमन्त्री ओमप्रकाश अर्यालले ‘भर्चुअल’ बैठकमा आवश्यकताअनुसार जिल्ला प्रशासनलाई सडकमार्ग बन्द गर्नसमेत निर्देशन दिएका थिए ।
त्यसअनुसार इलामको जिल्ला प्रशासन कार्यालयले आइतबार बिहान ६ बजेदेखि सोमबार बिहान ७ बजेसम्म अत्यावश्यकबाहेक सवारी सञ्चालनमा रोक लगाएको थियो । काठमाडौंमा समेत थानकोट–पानीघाट हुँदै चित्लाङ, मातातीर्थ–थाखेल हुँदै हेटौंडा र चन्द्रागिरिबाट मसिने हुँदै खानीखोला निस्किने सडक बन्द गराइएको थियो । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, पहिरोको जोखिम रहेकाले मानवीय क्षति नहोस् भन्ने हिसाबले पूर्वतयारीअनुसार सवारीसाधन रोकिएको हो ।
जल तथा मौसम विज्ञान विभागले १७ देखि २० असोजसम्म भारी वर्षा हुने पूर्वानुमान गरेको थियो । लगत्तै गृहमन्त्री अर्यालले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन युनिटको निरीक्षण गरेका थिए । विजयादशमीको भोलिपल्ट १७ असोजमा नेपाल प्रहरीको विपद् व्यवस्थापन कार्यालय, सामाखुसीमा पुगेर उनले विपद्को जोखिमबाट हुन सक्ने जनधनको क्षति नियन्त्रण एवं न्यूनीकरणका लागि उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका थिए ।
त्यस क्रममा विपद् व्यवस्थापन कार्यालयका एसएसपी सन्तोष भट्टराईले विपद् पूर्वतयारी र प्रतिकार्य योजना प्रस्तुत गरेका थिए । सशस्त्र प्रहरी बलको समेत इकाइमा पुगेर उनले बाढी, पहिरोलगायत सम्भावित विपद्मा परिचालन, पूर्वतयारी र स्रोतसाधनबारे जानकारी लिएका थिए । अधिकृतहरूका अनुसार, विगतमा गृहमन्त्री सामान्य अवस्थामा निरीक्षणका लागि हेडक्वार्टर पुग्थे, तर यसपालि विपद्कै बेला पुगेर अर्यालले युनिट कमान्डरसँगै तयारीबारे सूचना लिए ।
गृह प्रशासनले शनिबार सबै जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई २४ सै घण्टा कार्यालयमा उपस्थित हुनसमेत निर्देशन दिएको थियो । ‘बाढी, पहिरोका कारण हेलिकोप्टरबाट उद्धार गर्नुपर्ने भएमा मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण महाशाखामा सम्पर्क गर्ने,’ परिपत्रमा भनिएको थियो, ‘उल्लेखित कार्यहरूको प्रगति विवरण विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखामा पठाउने ।’
विगतमा विपद्का बेला हेलिकोप्टर परिचालनमा समेत कठिनाइ हुने गरेको थियो । सेनाको हेलिकोप्टर परिचालनमा प्राविधिक कामहरूका कारण समय लाग्ने गरेको थियो । ‘यस पटकचाहिँ हामीले विपद् हुनुभन्दा पहिल्यै हेलिकोप्टरलाई स्ट्यान्ड बाई राख्ने काम गर्यौं, सेनासँग समन्वयदेखि निजी वायु सेवा सञ्चालकसँग समेत संवाद गर्यौं,’ गृहमन्त्रीका स्वकीय सचिव धीरज जोशी भन्छन्, ‘त्यस कारण आपत्कालीन अवस्थामा प्रयोग गर्न सहज भयो ।’
नेपाली सेनाले सुर्खेत र काठमाडौंको एयरवेससहित पूर्वमा इटहरीमा उद्धारका लागि सैनिक हेलिकोप्टर तैनाथ राखेको थियो । त्यहीअनुसार इलाममा पहिरोमा परी गम्भीर घाइते भएका दुई जनालाई सैनिक हेलिकोप्टमार्फत उद्धार गरिएको सहायक रथी राजाराम बस्नेत बताउँछन् ।
गृह मन्त्रालयले शनिबार नै हेलिकोप्टरलाई तैनाथ अवस्थामा राखिदिन भन्दै वायुसेवा सञ्चालक संघलाई पत्राचार गरेको थियो । उपसचिव निशानराज गौतमले हस्ताक्षर गरेको पत्रमा जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार १८ देखि २० असोजसम्म कोशी प्रदेशदेखि लुम्बिनी प्रदेशसम्म चट्याङसहित वर्षा हुने भन्दै जुनसुकै बेला परिचालन हुने गरी हेलिकोप्टरलाई तैनाथ राखिदिन भनिएको छ ।
सबै पृष्ठभूमि हेर्दा सरकारले विपद्को प्रतिकार्यमा पूर्ण तयारी गरेको देखिएको पूर्वएआईजी अधिकारी बताउँछन् । ‘अर्को पक्ष भनेको अस्ति जेन–जी आन्दोलनमा लखेटिएका सुरक्षाकर्मीसमेत उच्च मनोबलका साथ नागरिकको सेवामा खटिए,’ उनी भन्छन्, ‘यसले विपद् र अप्ठ्यारोका बेला सुरक्षाकर्मी किन चाहिन्छ भन्नेसमेत सबैलाई महसुस गराएको छ ।’
गृहमन्त्री अर्याल राजनीतिक परिस्थिति जटिल रहेका बेला सरकारलाई कुनै कमजोरी गर्ने छुट नभएको बताउँछन् । ‘अहिले व्यापक असन्तुष्टि छ, यस्तोमा कर्मचारी वा हाम्रो कारण कुनै काम सही भएन भने यो सरकार, राज्यप्रति असन्तुष्टिको तह नयाँ चरणमा प्रवेश गर्छ,’ उनले शनिबार भनेका थिए, ‘राष्ट्रिय सुरक्षाका लागि पनि यो विषयलाई एकदमै मनन गरेर कुनै कमीकमजोरी हुन नदिनुहोला भन्ने मेरो स्पष्ट निर्देशन छ ।’
कठिन अवस्थामा आफू रातदिन खटिरहेको भन्दै उनले भनेका छन्, ‘तीन दिनदेखि म आफैं खटिइरहेको छु, अरू संयन्त्रबाट समेत सबै खटिनुभएको छ ।’ विपद् प्रतिकार्यका लागि मन्त्रालयले केही जेन–जी अगुवा र विभिन्न संघसंस्थालाई समेत समन्वयमा प्रयोग गरेको थियो । यस्तोमा विपद् प्रतिकार्यमा सरकारले खेलेको भूमिकाको सभामुख देवराज घिमिरेले समेत प्रशंसा गरेका छन् ।
‘सरकारका तर्फबाट उद्धार र पुनःस्थापनाका लागि सबै सुरक्षा निकाय, स्वास्थ्यकर्मी, प्राविधिक टोली तथा स्वयंसेवकलाई परिचालन गरिएकोमा धन्यवाद व्यक्त गर्दै पीडितको राहतका लागि ध्यानाकर्षण गराउँछु,’ उनले भनेका छन् ।
सम्बन्धित अपडेटका लागी : वर्षाको विपद् : मनसुनी वायु कमजोर हुँदै, राजमार्गको अवस्था के छ ? [लाइभ अपडेट]
