जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, जिल्लाभर १ हजार ६ सय १९ परिवार बाढीबाट विस्थापित भइ सुरक्षित स्थानमा बसिरहेका छन् ।
What you should know
सर्लाही — अविरल वर्षापछि आएको बाढी तथा पानी निकास नहुँदा डुबान तथा कटानबाट सर्लाहीमा एक हजार ६१९ परिवार विस्थापित भएका छन् । १९ जनालाई भने सुरक्षाकर्मीले उद्धार गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, जिल्लाभर एक हजार ६१९ परिवार बाढीबाट विस्थापित भइ सुरक्षित स्थानमा बसिरहेका छन् । तीमध्ये चक्रघट्टा गाउँपालिका–१, पडरियामा लखन्देही नदिको पानी पस्दा २० वटा कच्ची घरमा पूर्ण क्षति पुगेको प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।
जिल्लामा सबैभन्दा बढी लखन्देही खोलाले क्षति गरेको छ । मनुष्मारा, झिम, सोती, बागमतीलगायत खोलाले पनि ठाउँठाउँमा कटान तथा डुबानको समस्या निम्त्याएको प्रहरीले जनाएको छ ।
अविरल वर्षापछि बलरा नगरपालिका–२, का ७०० घरमा पानी पसेको छ । वर्षाको पानी सहित लखन्देही खोलामा आएको बाढी पस्दा मलंगवा नगरपालिका–५, भाडसरमा करिब २०० घर डुबानमा परेका छन् । कौडेना गाउँपालिका–७, शिवनगरमा लखन्देही खोलाले बाँध कटान गरेर बस्तीमा पसेपछि आइतबार बिहानैदेखि करिव ४०० घरधुरी घर फर्कन सकेका छैनन् ।
बाढी र वर्षाको पानी पस्दा हरिवन, कबिलासी, बरहथवा नगरपालिका तथा चक्रघट्टा, कौडेना, बसबरिया गाउँपालिकामा दर्जनौँ घर डुबानमा परेका छन् । अविरल वर्षापछि सदरमुकाम मलंगवास्थित जिल्ला भन्सार कार्यालय, प्रहरी चौकी गोरखकालीसहित मलंगवा–सोनवर्षा मुख्य नाका पनि डुबानमा परेको छ । नागरिक समाजका महासचिव शिवचन्द्र चौधरीले सीमा नजिक भारतले सुरक्षा गस्तीका लागि सडक बनाउँदा पानीको निकास हुन नसकी मलंगवा डुबानमा परेको जानकारी दिए ।
सर्लाहीका विभिन्न स्थानमा बाढी तथा डुबानमा परेका १९ जनालाई नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरि सुरक्षित स्थानमा सारिएको छ । प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले सुरक्षाकर्मी र जनप्रतिनिधिको सहयोगमा बाढी प्रभावित क्षेत्रा उद्धारको काम जारी रहेको जानकारी दिए ।
