झापामा बाढीबाट करिब २५ हजार विस्थापित

सबैभन्दा बढी झापा गाउँपालिकाका ५ हजार १ सय ८९ घरधुरीका करिब २४ हजार सर्वसाधारण विस्थापित भएका छन् ।

आश्विन १९, २०८२

पर्वत पोर्तेल

About 25,000 displaced by floods in Jhapa

What you should know

झापा — झापामा बाढीले विस्थापित बनाएका परिवारको संख्या २५ हजार नाघेको छ ।

असोज १९ गतेदेखि परेको अविरल वर्षापछि जिल्लाका विभिन्न स्थानीय तहका बस्ती डुबानमा परेका छन् । प्रहरी कार्यालय झापाका अनुसार अहिलेसम्म ५, ४८१ घर धुरीका २५,२३१ जना बाढीका कारण विस्थापित भएका छन् ।

सबैभन्दा बढी झापा गाउँपालिकाका ५ हजार १ सय ८९ घरधुरीका करिब २४ हजार सर्वसाधारण विस्थापित भएका छन् । 

विशेष गरी झापा गाउँपालिका १, २, ३, ६ र ७ का स्थानीय अत्यधिक प्रभावित भएका छन् । यी वडामा माइ खोलाको बाढी पसेको छ । प्रभावितहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । 

त्यस्तै शिवसताक्षी नगरपालिकाका ४७ घरधुरीका १ सय ८२, गौरीगन्ज गाउँपालिकाका ४१ घरधुरीका २ सय ४६ सदस्य  विस्थापित भएका छन् । 

त्यस्तै गौरादहका ३१ घरधुरीका १ सय ४४ जना, भद्रपुरका २७ घरधुरीका ९० जना विस्थापित भएका छन् । 

सबै विस्थापितहरु आफन्त, स्थानीय विद्यालय, सामुदायिक भवन र मन्दिरहरूमा अस्थायी शिविर बनाइ बसेका छन् ।

अर्जुनधारा, मेचीनगर, गौरादह, बुद्धशान्ति गाउँपालिकाका बस्तीहरूमा पनि बाढीले ठूलो क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बाढीले घर, बाख्रा, गाईभैँसी, अन्नबाली र विद्युत्–सडक संरचना समेत क्षतिग्रस्त पारेको छ ।

जिल्ला प्रशासन कार्यालय झापाका अनुसार प्रहरी, सशस्त्र र स्थानीयवासीको सहयोगमा उद्धार कार्य जारी छ । 

जिल्ला विपद् व्यवस्थापन समितिले तत्कालका लागि पीडितलाई खाद्यान्न, पानी र औषधिको आपूर्ति गर्न स्थानीय तहसँग समन्वय गरेको जनाएको छ ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully