बल्खुकै खोला किनारका वस्तीका कतिपय मानिसहरू भने जनविकास माध्यमिक विद्यालयमा सरेका थिए ।
What you should know
काठमाडौँ — आइतबार बिहान घरको भुइँतलामा कोठाभरि भरिएको पानी बाल्टीले उभाएर दुर्गा नेपालीले निकैबेर बाहिर फ्याँके । काठमाडौं महानगरपालिका-११मा रहेको सुकुम्बासी बस्तीमा दुर्गाले झैं अरु स्थानीयले पनि भित्रबाट पानी र लेदो फ्याँकिरहेका थिए ।
शुक्रबार रातिदेखि परेको अविरल वर्षाले उनीहरूको सामान र लत्ता कपडामा क्षति पुगेको थियो । तर पनि अघिल्लो वर्षको जस्तो अत्यासचाहिं उनीहरूलाई लागेन । दुर्गा यसपाली प्रहरीहरूले माइकिङ गर्दागर्दै पनि बेलैमा सरसामान निकाल्न नपाएकोमा पछुतो मान्दै थिए ।
'खाट र दराज बिग्रियो । चामल पनि निकाल्न पाइनं,' उनी दुखेसो पोख्दै थिए । उनी शनिबार पनि ज्यामी कामका लागि निस्केका रहेछन् । साँझ पाँच बजे घर फर्किँदा प्रहरीहरूले सामान र मानिसहरू बाहिर निकालेर सुरक्षित स्थानमा रहेको स्कुल बाल निकेतन माविमा लैजाँदै रहेछन् ।
'हामी पनि स्कुलमा गएर बस्यौं । बिहान पानी रहेपछि मात्र फर्किएको,' उनी भन्छन् । उनीजस्तै अरू पनि स्कुलबाट बिहानै फर्किसकेका छन् । अघिल्लो वर्ष असोज ११ र १२ गते परेको पानीभन्दा यसवर्ष निकै कम क्षति भएको उनको आंकलन छ ।
'पोहोर त माथिल्लो तलासम्म पनि पानी भरिएर गएको थियो । त्यतिबेला हामी छाना निकालेर छानै छानाबाट भागेका थियौं । हामीलाई पछि डुंगामार्फत उद्धार गरिएको थियो,' दुर्गा भन्छन् ।
दुर्गाकै छिमेकी विष्णु गजमेर भने डर हुँदाहुँदै पनि घरको माथिल्लो तलामा बसे । अघिल्लो साल बल्लतल्ल ज्यान जोगाएको सम्झना भए पनि उनलाई आफ्नो घर छाड्नै मन लागेन । 'घरै बगाएर लैजाला भन्ने डर थियो । घरको मायाले पनि कतै जान दिएन,' उनी भन्छन्, 'तर पोहोर जस्तो डरमर्दोचाहिं थिएन । यसपालि पनि जोगियौं ।'
सोही वडाको सुकुम्बासी बस्तीमै एक महिला घरभित्र पसेको लेदो सोहोरेर सफा गर्दै थिइन् । उनले भने आफ्नो नाम बताइनन् । 'आफन्तहरूले थाहा पाए भने कमजोर भयो भनेर हेप्छन्,' उनले कारण खुलाइन् । यसपाली पनि नदीमा पानीको सतह बढ्दै जाँदा उनलाई बिछट्टै डर लागेको थियो । अघिल्लो दिनदेखि नै सूचना पाएका कारण उनको परिवार सतर्क नै थियो । 'हामी माथि होटलमा गएर बस्यौं । सामानहरू पनि अघिल्लो वर्षजस्तो क्षति हुन पाएन,' उनले भनिन् ।
बल्खुस्थित सुकुम्बासी बस्तीकी शान्ति माया लामा शनिबार रातभरि अनिँदो बसिन् । वरन्डामाथिबाट आफ्नो भुइँतलाको कोठामा पानी पसेको हेरिरहिन् । डर हुँदाहुँदै पनि उनलाई घर छाड्ने मन थिएन । 'तर २ बजेदेखि पानी रोकियो । त्यसपछि बल्ल डर हरायो,' पानी पसेको कोठाबाट हिलो निकाल्ने क्रममा उनले भनिन् । सामानमा भने उति क्षति हुन पाएन । शान्तिले सबै सामान माथि सुरक्षित स्थानमा सारिसकेकी थिइन् ।
बल्खुकै खोला किनारका वस्तीका कतिपय मानिसहरू भने जनविकास माध्यमिक विद्यालयमा सरेका थिए । 'घरभित्र पानी परिरहेको थियो । प्रहरीहरू आएर हामीलाई त्यहाँबाट निकाल्नुभयो । अनि यहाँ ल्याउनुभयो,' स्कुलको सहरभित्र रात कटाएकी सितारा महतले भनिन् ।
सम्बन्धित अन्य समाचार : वर्षाको विपद् : देशभर कहाँ कस्तो प्रभाव ? [लाइभ अपडेट]
