राजमार्गको बोक्सेकुना, घुमाउने, चौकीडाँडा, डालाबेंसी, पिप्ले, माम्ती, चरङ्गेफेदीमा अस्थायी रूपमा बनाइएका डाइभर्सन शनिबारको अविरल वर्षाले बगाएको छ ।
What you should know
काभ्रे — शनिबारदेखि परेको वर्षाको कारण बीपी राजमार्गका विभिन्न स्थानमा रोशी खोलाले सडकको डाइभर्सन बगाउँदा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।
प्रजिअ ढकालका अनुसार गत वर्ष असोजको दोस्रो सातामा आएको बाढीले राजमार्गको करिब ८ किलोमिटर पूर्ण रूपमा क्षति पुर्याएको थियो । त्यसलाई अस्थायी रूपमा मर्मत गरेर सञ्चालनमा ल्याइएको थियो । तर यस वर्ष असोज १७ र १८ गतेको वर्षाले सो अस्थायी संरचना पुनः भत्काउँदै राजमार्गलाई पूर्ण रूपमा क्षति पुर्याएको उनले बताए ।
राजमार्गको बोक्सेकुना, घुमाउने, चौकीडाँडा, डालाबेंसी, पिप्ले, माम्ती, चरङ्गेफेदीमा अस्थायी रूपमा बनाइएका डाइभर्सन शनिबारको अविरल वर्षाले फेरि बगाएको छ ।
गत वर्ष पूर्ण रूपमा क्षतिग्रस्त बनेको राजमार्गलाई करिब १० करोडको लागतमा अस्थायी मर्मत गरेर सञ्चालनमा ल्याइएको थियो । तर अहिले पुनः क्षति भएको रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिए । उनका अनुसार, राजमार्गका विभिन्न स्थानमा डाइभर्सन रोशी खोलाले बगाएको छ । यसको मर्मत गरेर राजमार्ग सञ्चालनमा ल्याउन करिब १० दिन लाग्ने उनले बताए ।
उनका अनुसार बीपी राजमार्गको करिब ९ किलोमिटर क्षेत्रमा पूर्ण रूपमा क्षति पुगेको छ । यसको वैकल्पिक मार्गका रूपमा सिन्धुलीको सित्खा हुँदै तेमाल–भकुण्डे सडक खण्ड भएर काठमाडौं प्रवेश गर्न सकिने बताए । तर हाल उक्त सडक खण्ड पनि अवरुद्ध रहेको र दुई–चार दिनभित्र मर्मत गरेर सञ्चालनमा ल्याइने जानकारी उनले दिए ।
अरनिको राजमार्गअन्तर्गत ५४ किलो र खावा सडक खण्ड लेदोसहितको पहिरोले अवरुद्ध भएको थियो । तर अहिले पहिरो पन्छ्याएर राजमार्गमा यातायात सञ्चालन गरिएको प्रजिअ ढकालले जानकारी दिए । उनका अनुसार, काभ्रे–भक्तपुर सीमा क्षेत्रमा रहेको साँगामा पनि पहिरो पन्छ्याएर यातायात सञ्चालनमा ल्याइएको छ ।
![BP Highway [Update] : Roshi Khola cuts road, temporary repairs and operation will take 10 days](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/natural-disaster/bp-highway-katan-05102025093451-1000x0.jpg&w=1001&h=0)