करिब तीन दिनको हात्तीको उक्त छावालाई स्थानीयले उद्धार गरी नेपाली र भारतीय पक्षको सहकार्यमा भारततर्फ फर्काइएको हो ।
झापा — मेची नदीको बाढीले बगाएर नेपालतर्फ ल्याएको हात्तीको एउटा छावालाई उद्धार गरी आइतबार भारतीय वन कार्यालयको जिम्मा लगाइएको छ । करिब तीन दिनको हात्तीको उक्त छावालाई स्थानीयले उद्धार गरी नेपाली र भारतीय पक्षको सहकार्यमा भारततर्फ फर्काइएको हो ।
मेचीनगर–४ का वडाध्यक्ष अर्जुन कार्की, वन कार्यालय झापाका प्रतिनिधि, वन्यजन्तु संरक्षणकर्मी शंकर लुइटेल र देवेन खरेल, साथै नेपाली सुरक्षाकर्मीको टोलीले मेची पुलबाट उक्त छावा भारतीय वन अधिकारीलाई हस्तान्तरण गरेको हो ।
र्यापिड रेस्पोन्स टोलीका संयोजक न्युटल कार्कीका अनुसार शनिबार रातिको भीषण बाढीले तीन वटा हात्तीका छावा बगाएका थिए । ‘तीनमध्ये दुई भारततिरै पुगेका छन् र एउटा मात्र नेपालतर्फ आएको थियो, जसलाई स्थानीयले उद्धार गरेर भारत पठाइयो,’ वडाध्यक्ष कार्कीले भने,‘छावाको माउ भारततिर रहेकाले उतै पठाइएको हो ।’
