दुई दिनदेखिको वर्षाका कारण अवरुद्ध रहेका सडकहरूमा मौसम सामान्य बन्दै गएकाले प्रशासनले एकतर्फीरुपमा यातायात सञ्चालन गर्न खुला गरेको हो।
काठमाडौँ — जिल्ला प्रशासन कार्यालय काठमाडौँले पृथ्वी राजमार्ग, नुवाकोट र हेटौँडा जाने सडक एकतर्फीरुपमा खुला गरेको छ। दुई दिनदेखिको वर्षाका कारण अवरुद्ध रहेका सडकहरूमा पहिरो लगायत अवरोध हटाएर प्रशासनले एकतर्फीरुपमा यातायात सञ्चालन गर्न खुला गरेको हो।
'हाल मौसममा क्रमिक सुधार हुँदै गएकोले धादिङ, नुवाकोट र काठमाडौं दक्षिणकाली सडक खण्डका पहिरोहरु पन्छाएर सडक सूचारु गर्ने कार्य द्रुतगतिमा भईरहेको छ,' वरिष्ठ प्रशासकीय अधिकृति सुजनकुमारी वर्देवाले विज्ञप्तिमार्फत् भनेकी छन्, 'अहिले विभिन्न ठाँउहरुमा पहिरो पन्छाई एकतर्फीरुपमा सवारी संचालनको लागि आवश्यक तयारीको कार्य भइरहेको भन्ने सूचना धादिङ, चितवन, मकवानपुर र नुवाकोट समेतका जिल्ला प्रशासन कार्यालयहरुबाट प्राप्त हुन आएकोले सडकमा यात्रुहरुको चापलाई समेत मध्यनजर गरी आवागमन एकतर्फी रुपमा खुला गरिएको छ।'
सवारी चलाउँदा सडकमा खटिएका सुरक्षाकर्मीको निर्देशन एवं ट्राफिक ईसारा, संकेत र सूचनालाई गम्भीरतापूर्वक लिई सावधानीका साथ सवारी चलाउन प्रशासनले आग्रह गरेको छ।
सम्बन्धित अपडेट : वर्षाको विपद् : देशभर कहाँ कस्तो प्रभाव ? [लाइभ अपडेट]
