त्रियुगा नदीको बाढी बस्तीमा पस्दा सप्तकोशीका दर्जनौं घर डुबान, ६ परिवारलाई विद्यालयमा सारियो

भीषण वर्षापछि नदीको बाढी ‘ओभरफ्लो’ भएर वडा नम्बर-६ बोचही गाउँ नै जलमग्न भएको छ भने अन्य वडाका पनि ५० वटाभन्दा बढी घर डुबानमा परेका छन् ।

आश्विन १९, २०८२

विद्यानन्द राम

Dozens of houses in Saptakoshi were submerged and 6 families were shifted to school when the flood of Triyuga river entered the settlement

राजविराज — त्रियुगा नदीको बाढी बस्तीमा पस्दा सप्तरीको सप्तकोशी नगरपालिकाका दर्जनौं घर डुबान भएको छ । भीषण वर्षापछि नदीको बाढी ‘ओभरफ्लो’ भएर वडा नम्बर-६ बोचही गाउँ नै जलमग्न भएको छ भने अन्य वडाका पनि ५० वटाभन्दा बढी घर डुबानमा परेका छन् ।

बाढीले बोचही टोलका ६ परिवारको घर भत्किँदा उनीहरूलाई सुरक्षित स्थानमा सारिएको छ । ती परिवारलाई राष्ट्रिय आधारभूत विद्यालय बोचहीमा राखिएको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले बताए । गाउँ नै जलमग्न भएपछि स्थानीयलाई उद्धार गर्नका लागि प्रमुख जिल्ला अधिकारी पोखरेल नेतृत्वमा त्यहाँ सुरक्षाकर्मीको उद्धार टोली खटिएको छ ।

Dozens of houses in Saptakoshi were submerged and 6 families were shifted to school when the flood of Triyuga river entered the settlement‘डुबानमा परेका अन्य परिवारको अवस्था यकिन गर्ने कार्य भइरहेको छ भने घर भत्किएकाहरूलाई सुरक्षित स्थानमा सार्ने पनि भइरहेको छ,’ प्रजिअ पोखरेलले भने । वडा नम्बर २, ३ र ४ मा पनि ५० वटाभन्दा बढी घर डुवान भएको नगर प्रमुख कृष्णप्रसाद ढकालले बताए । ‘अन्य वडाको अवस्था यकिन गर्न हामी स्थलगत पुग्ने क्रममा छौं,’ उनले भने, ‘बाढीबाट पीडित बन्न पुगेका परिवारको उद्धार र स्थानान्तरण पनि सुरक्षाकर्मीको सहयोगमा गरिरहेका छौँ ।’

विद्यानन्द राम विद्यानन्द राम कान्तिपुरका सप्तरी संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully