विभिन्न ठाउँमा बाटो अवरुद्ध भएर रोकिएका सवारी साधनहरूलाई विभिन्न निकायको सहयोगमा उद्धार गरी गन्तव्यतर्फ पठाइएको छ ।
रामेछाप — शुक्रबारंदेखि सुरु भएको अविरल वर्षाका कारण रामेछाप जिल्लामा यातायात ठप्प जस्तै छ । निरन्तर वर्षाले सडक अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारी साधन सञ्चालन हुन सकेका छैनन् ।
आइतबार बिहान केही समय वर्षा रोकिएपछि केही गाउँबाट सदरमुकाम मन्थलीसम्म सवारी आएका भए पनि नियमित यातायात सञ्चालन हुन नसकेको पूर्व अरनिको यातायात सेवा प्रालि का जिल्ला इन्चार्ज सुवास फुयालले जानकारी दिए ।
उनले भने, 'निरन्तर पानी परिरहेको छ, आज बिहान केही समय रोकिए पनि अहिले फेरि वर्षा सुरु भएको छ । यस्तो अवस्थामा लामो दूरी त परै जाओस्, छोटो दूरीका गाडी पनि चल्न सक्ने अवस्था छैन ।' उनका अनुसार रामेछापबाट सिन्धुली, बर्दिबास , काँकडभिट्टा र काठमाडौं जाने सवारी साधन पूर्ण रूपमा बन्द छन् । सदरमुकाम मन्थली नजिकका स्थानहरूमा समेत सवारी सञ्चालन हुन सकेको छैन ।
यसैबीच, विभिन्न ठाउँमा बाटो अवरुद्ध भएर रोकिएका सवारी साधनहरूलाई विभिन्न निकायको सहयोगमा उद्धार गरी गन्तव्यतर्फ पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेका अनुसार मन्थली–चरिकोट र मन्थली–खुर्कोट सडक खण्डमा रोकिएका ४० भन्दा बढी सवारीलाई आज बिहान वर्षा रोकिएको समयमा मार्ग खुलाएर गन्तव्यतर्फ पठाइएको हो ।
प्रहरी निरीक्षक न्यौपानेले भने, 'हालसम्म रामेछापमा कुनै अप्रिय घटना भएको छैन, तर निरन्तर वर्षा भइरहेकाले प्रहरीको सतर्कता र सक्रियता बढाइएको छ ।'
