बाढीले झापामा हुलाकी सडक बगायो, करिब २ सय घर डुबानमा

प्रभावित बस्तीहरूमा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

आश्विन १९, २०८२

कान्तिपुर संवाददाता

Floods washed away Hulaki road in Jhapa, inundating around 200 houses

झापा — अविरल वर्षापछि आएको बढीले झापा गाउँपालिका–२ स्थित हुलाकी सडक बगाएपछि यातायात आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार लगातारको वर्षाका कारण माइ खोला र आसपासका साना खोलानालाहरूमा पानीको सतह बढेपछि हुलाकी सडक आसपासका करिब २ सय घरधुरी डुबानमा परेका छन् ।

प्रभावित बस्तीहरूमा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । ‘बाढीले धेरै स्थानमा घर र सडक दुवै क्षेत्रमा क्षति पुर्‍याएको छ, उद्धार र राहतका काम तीव्र रूपमा भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय झापाका एक प्रहरी अधिकारीले बताए ।

प्रहरीका अनुसार मेची, काली, पालिया, निन्दा, रतुवा, टिमाई, अन्धुवा, माई, कमललगायतका नदीहरूमा आएको बाढीका कारण अत्यधिक क्षति भएको छ । क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको र क्षतिग्रस्त क्षेत्रको तथ्यांक संकलनको काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।

स्थानीय प्रशासनले प्रभावितलाई सुरक्षित स्थानमा सार्ने र अस्थायी राहत शिविर सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।

सम्बन्धित समाचार 

वर्षाको विपद् : देशभर कहाँ कस्तो प्रभाव ? [लाइभ अपडेट]

कान्तिपुर

Link copied successfully